रोहितको गर्जन

पछिल्लो दुई वर्षजतिको समयमा नेपाली क्रिकेटमा के मात्र भएन ? विवाद, अन्योल र नाना थरीका आरोप मात्रै । ती पक्कै सुखद थिएनन् । केही घटना त तिरस्कार गर्न लायक थिए । यिनै विषम परिस्थितिले सुखका लागि जन्माएका पात्र हुन्, कप्तान रोहित ।
हिमेश

काठमाडौँ — विश्वकप क्रिकेट लिग–टुमा स्कटल्यान्डविरुद्ध विजयी रन बटुलेपछि रोहित पौडेलले मैदानबाटै हुँकार भरे । खेलकुदको चल्तीको भाषामा भन्दा रोहितले आफ्नो ‘मसल्स’ देखाए । अर्थात् ‘सो द मसल्स’ । फागुनतिर स्टकल्यान्डमाथि प्राप्त दुई विकेटको उक्त जितमा उनले ९५ रन बनाए । नटआउट पनि रहे । जितका लागि चार रन चाहिएका बेला रोहितले फाइन–लेगमा चौका नै प्रहार गरे । नामिबिया पनि सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले सबै चारै खेल जितेको थियो ।

यसैक्रममा नेपाल घरेलु मैदानमा लिग–टुममा ‘क्लिन स्विप’ गर्ने पहिलो टिम पनि बन्यो । त्यसै पनि रोहित भलाद्मी पाराकै छन् । त्यस दिन किन त्यसरी जितको खुसियाली मनाए होला ? कौतूहलता हुन सक्छ । सायद परिस्थितिले यस्तै मागेको थियो । त्यो यही शृंखला हो, जहाँबाट नेपालले विश्व क्रिकेटमा अविश्वसनीय यात्रा सुरु गरेको थियो । धेरै उतारचढावपछि नेपाली टिमको प्रशिक्षकका रूपमा मोन्टी देसाई नियुक्त भएका थिए र नेपालले प्रतियोगितामा निकै दुर्लभ पुनरागमन रचेको थियो ।

भनिन्छ, विश्व क्रिकेटको पूरा इतिहासमा यस्तो खेलको नमुना विरलै मात्र पाइन्छ । एक समय वान डे मान्यता खोसिने डरबाट गुज्रिरहेको नेपालले त्यसलाई मात्र जोगाएन, उल्टै लगातार खेल जितेर विश्वकपकै ग्लोबल क्वालिफायरका लागि छनोट भएको थियो । यसबारे त धेरै लेखिसकिएको छ । अब त झन् नेपालले एसीसी प्रिमियर लिग पनि जितेको छ । यससँगै नेपाल एसिया कपका लागि पनि छनोट भएको छ । प्रतियोगिता साँच्चै भयो भने त्यसमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।


अहिले चारैतर्फ यसैबारे लेख्ने क्रम चलेको छ । यसबीच, धेरैभन्दा धेरै लेख्नुपर्ने एक पात्र हुन्, तिनै रोहित । भागवत् गीताको सार छ, ‘जे भयो, राम्रै हुन्छ । जे हुन्छ, राम्रैकै लागि हुन्छ ।’ पछिल्ला दुई वर्षजतिको समयमा नेपाली क्रिकेटमा के मात्र भएन । विवाद, अन्योलता र नानाथरीका आरोप मात्रै । ती पक्कै सुखद थिएनन् । केही घटना त तिरस्कार गर्न लायक थिए । यिनै विषम परिस्थितिले सुखका लागि जन्माएका पात्र हुन्, कप्तान रोहित ।

केही वर्ष अगाडिसम्म पनि रोहित नेपाली क्रिकेटमा कहींकतै थिएनन् । अहिले जताततै छन् । नेपाली टिमले तय गरेको अद्वितीय यात्राबारे कुरा चल्दा प्रायः प्रशिक्षक मोन्टी देसाईको नाम लिने गर्छन् । हुन पनि हो, मोन्टीले नेपाली टिममा जादु नै चलाए । उनी के आए, नेपाली टिममा खुसीको भावना फर्क्यो भन्नेहरू पनि छन् ।

‘ह्याप्पी ड्रेसिङ रुम’ शब्द प्रयोग गरिएको छ । रोहितले पनि बारम्बार यस्तै भनेका छन् । त्यस्तो ‘ड्रेसिङ रुम’ जहाँ सबै खेलाडी समान छन्, बराबर हैसियतका छन् ।

अझ एक प्रकारले भन्दा यसमा खेलाडी खेलाडीबीच गुट, उपगुट पनि छैन । कोही कसैलाई कसैको स्टारडमले थिचिनु पनि परेको छैन । यस संवाददाताले एक प्रसंगमा रोहितलाई प्रश्न गर्दा उनको उत्तर थियो, ‘मोन्टी सरले जे भन्नुभएको छ, त्यसैअनुसार गरिरहेका छौं ।’ बोल्नु अगाडि उनको हल्का हाँस्ने बानी पनि छ । खासमा उनी प्रशिक्षक मोन्टीको प्रशंसा गरेर थाक्दैनन् । मोन्टी आफैं पनि के कम र ? उनी पनि रोहितको प्रशंसा गर्न कन्ज्युस्याइँ गर्दैनन्, उनीबारे राम्रै धारणा राख्छन् ।

खासमा ठ्याक्कैभन्दा नेपाली क्रिकेटले पछिल्लो समय तय गरेको सुखद यात्रा भनेकै प्रशिक्षक मोन्टी र कप्तान रोहितको साझेदारी हो । उनीहरूबीको सुमधुर सम्बन्ध हो । त्यसै पनि क्रिकेटमा साझेदारी नै जितको आधार हुने गर्छ भनिन्छ । हो पनि । अझ मिठो शब्दमा भन्दा मोन्टीका सारथि हुन्, रोहित । प्रशिक्षक मोन्टी रणनीति बनाउन माहिर छन् । एसीसी प्रिमियर लिगको फाइनलमै पनि गुलसन झालाई तेस्रो क्रममा ब्याटिङका लागि उठाउनु उनको अचुक अस्त्र नै थियो ।

मोन्टीले नेपाली टिमको प्रशिक्षक बनेयता यस्ता धेरै सफल रणनीति बनाएका छन् । रणनीति बनाएर मात्र पनि त हुन्न, त्यसलाई मैदानमा लागू त गर्नु नै पर्छ । नेपाली खेलाडीले पछिल्लो समय यस्तै गरेका छन् । यसमा सबैभन्दा अगाडि छन्, कप्तानका रूपमा रोहित । स्वयं मोन्टीले पनि भन्ने गरेका छन्, ‘नेपालले हात पारेको यो लगातार जितको शृंखलाको सबैभन्दा बढी श्रेय त खेलाडी नै हुन् ।’ सायद उनले कोही एक खेलाडीको नाम तोकेरै लिन भने चाहेनन् ।

लिएको भए, फेरि उनले भन्ने थिए, रोहित । पपुवा न्युगिनीविरुद्ध उनले खेलेको १ सय २६ रनको इनिङ्सलाई कसरी बिर्सन सकिन्छ र ? यत्तिको उत्कृष्ट इनिङ्स नेपाली क्रिकेटले अहिलेसम्म देखेको पनि त छैन । उनले ब्याटबारे आफ्नो उपयोगिता धेरै पटक सिद्ध गरिसकेका छन् । कप्तानका रूपमा पनि त उनको प्रदर्शन उम्दा नै छ । रोहितबारे चर्चा गर्दा सन् २०१४ को ट्वान्टी– ट्वान्टी विश्वकपमा फर्किनुपर्छ । बंगलादेशमा भएको त्यस विश्वकप नेपालले पनि खेलेको थियो ।

कप्तान थिए, पारस खड्का । नेपालले त्यो विश्वकपमा राम्रो होइन, धेरै राम्रो खेलेको थियो । यसबारे प्रभावित भएर धेरैले क्रिकेट खेलाडी बन्ने सपना बुने । यसमै एक हुन्, रोहित पनि । त्यसको आठ वर्षपछि उनी नेपालकै ११ औं कप्तान बने । नवलपरासी बर्दघाटका रोहित स्कुले दिनदेखि नै क्रिकेट खेल्थे । त्यसपछि उनी काठमाडौं आए र बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भए । अझ उनी सिक्नकै लागि भनेर भारतको नयाँ दिल्लीसम्म पुगे ।

सुरुमा उनी नेपालको यू–१९ टिममा परे । सुरुआती दिन उनका लागि सहज रहेनन् । टिममा पर्नु र फालिनु नियति जस्तै बनेको थियो । अब त यी इतिहास भइसकेका छन् । रोहित पारसबाट धेरै प्रभावित पनि देखिन्छन् । पारसको व्यक्तित्व नै यस्तो छ । त्यही विश्वकपमा पारसले जसरी आफूलाई मिडियासामु प्रस्तुत गरे, त्यो कुनै टेस्ट खेल्ने देशका कप्तानभन्दा कम थिएन । उनको बोली बजनदार थियो, शब्दहरू नापेर बोलेका थिए ।

रोहितको व्यक्तित्व भने ठ्याक्कै त्यस्तै छैन । उनी भलाद्मी मात्र होइनन्, केही हदसम्म लजालु पनि देखिन्छन् । तर यसले के फरक पर्छ र ? एउटा तथ्य भने निश्चित छ, जसरी पारसले नेपाली क्रिकेटलाई एक फरक युगमा पुर्‍याए, अहिले भिन्न समयमा रोहितले त्यसरी नै नेपाली क्रिकेटलाई अगाडि बढाइरहेका छन् । नेपाली क्रिकेटको एउटा कालखण्डले रोहित जस्तै खेलाडीलाई मागेको थियो, रोहितले त्यसलाई पूरा पनि गरिदिए, खुसीखुसी हाँसेर ।


प्रकाशित : वैशाख २२, २०८० १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘गोलमेसिन’ एमबाप्पे

एमबाप्पे भर्खर २४ वर्षका भए । उनका सामु प्रचुर सम्भावना कायम छन् । यत्तिको उमेरमै उनले विश्वकपको दुई संस्करणका फाइनल खेलिसकेका छन् । रुसमा भएको विश्वकपमा त उनी विजेता नै रहे, कतारमा भने अर्जेन्टिनासँग पछि परे । मेसी र रोनाल्डोको युग सकिएपछि सबैको ध्यान उनमै हुनेछ । 
हिमेश

काठमाडौँ — यसपल्ट फ्रान्सेली लिग–वान पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित्नैमा कुनै शंकै छैन । फ्रान्सको आफ्नै केयलिन एमबाप्पे मात्र होइन, लियोनल मेसी र नेयमर जत्तिको खेलाडी भएको क्लबले लिग नजिते कसले जित्ने ? सबैले भन्ने पनि यस्तै हो ।



तर अहिले तत्काल पीएसजीमा सबथोक राम्रो भइरहेको भने छैन । लिगका आफ्नो पछिल्लो खेलमा पीएसजी लोरिन्टसँग ३–१ ले पराजित भयो । त्यो पनि आफ्नै घरमा ।

पीएसजीका तर्फबाट सम्भव त्यो एक गोल पनि अरू कोही होइन, एमबाप्पेले गरेका थिए । लिग तालिकामा पीएसजी ७५ अंकमा शीर्ष स्थानमा छ, ३३ खेल खेलेर । दोस्रो स्थानमा रहेको मार्सेले पनि समान ३३ खेल खेलेको छ र उसको अंक रहेको छ, ७० । भनेपछि लिगमा पाँच चरणका खेल मात्र बाँकी छँदा पीएसजी र मार्सेबीचको अन्तर भनेको पाँच अंक मात्रै हो । फेरि मार्से पीएसजीको त्यस्तो शत्रु क्लब हो, जसलाई पीएसजीका हरेक असफलतामा खुसी लाग्ने गर्छ ।

पीएसजीलाई उपाधि जित्नबाट रोक्न मार्सेले सबथोक गर्नेछ, आफूले सक्दो । सन् २०२० मा पीएसजी युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । युरोपेली क्लब फुटबलका सबैभन्दा ठूलो प्रतियोगितामा पीएसजीको यो नै अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । फाइनलमा पीएसजी बायर्न म्युनिकको हातबाट १–० ले पराजित भयो । पीएसजी के पराजित भयो, मार्सेका समर्थकले सडक सडकमा आर्लेर मस्त खुसियाली मनाए ।

यस्तो किनभने पीएसजी त्यस फाइनलमा पराजित हुनुको अर्थ हो, मार्से त्यस्तो एक्लो फ्रान्सेली टिम रहनेछ, जसले च्याम्पियन्स लिग जितेको छ । सन् १९९३ मा मार्सेले एसी मिलानलाई हराएर यो उपाधि जितेको थियो । एक से एक खेलाडी किनेर पनि, आफूले सक्दोभन्दा बढी खर्च गरेर पनि पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । कतार स्पोर्ट्स इन्भेस्टमेन्टले क्लब किनेयता यसलाई युरोपको च्याम्पियन बनाउन के मात्र गरेन, तर कहिले पनि सफलता हात परेन ।

सन् २०११ मा कतारीहरूले पीएसजी किनेका थिए र त्यसयता मन खुलेर खर्च गरिरहेका छन् । यस पटकको सिजनमा पनि पीएसजी खालि अन्तिम १६ मै रोकियो । फेरि एकपल्ट उसलाई बायर्नले माथ खुवायो । यस्तै पृष्ठभूमिमा पीएसजीले फेरि एकपल्ट फ्रान्सको माथिल्लो डिभिजन जित्छ भने त्यसमा खासै मज्जा नै के रह्यो र ? जित्न सकेन भनेचाहिँ त्यो प्रलय समान हुनेछ । यी सबै पृष्ठभूमिबीच फेरि एकपल्ट एमबाप्पे चर्चामा छन् ।

उनले अर्को सिजनका लागि के गर्नेछन्, सबैमा त्यसमा चासो छ । लगातारको च्याम्पियन्स लिगको असफलतापछि पीएसजीले पनि आफ्नो नीति परिवर्तन गर्न लागेको छ । त्यो भनेको कतार स्पोर्ट्स इन्भेस्टमेन्ट नै भयो । त्यो नीतिअनुसार आउने सिजनका लागि पीएसजीले एमबाप्पेलाई केन्द्रमा राखेर युवा टिम बनाउँदै छ, जसमा सम्भवतः मेसी र नेयमर हुने छैनन् । कम्तीमा मेसी त हुने छैनन् नै । पीएसजीको अबको नीति हो, फ्रान्सेली युवा खेलाडीको उत्पादन गर्ने र त्यसकै मदतले बलियो टिम बनाउने ।

यसअघि जस्तो नाम चलेका खेलाडी किनेर मात्र टिम बलियो नबनाउने । यसका लागि पीएसजीले एमबाप्पेलाई फकाइरहेको छ । सबैलाई थाहा छ, नेयमर विश्व फुटबलका अबका सबैभन्दा ठूला स्टार हुन् । मेसी र क्रिस्टियानो रोनाल्डोपछि अबका सबैभन्दा ठूलो नाम यी नै त हुन् । एमबाप्पे अहिले भर्खर २४ वर्षका भए । उनका सामु प्रचुर सम्भावना कायम छन् । यत्तिको उमेरमै उनले विश्वकपको दुई संस्करणका फाइनल खेलिसकेका छन् ।

त्यसमध्ये रुसमा भएको विश्वकपमा त उनी विजेता नै रहे, कतारमा मात्र अर्जेन्टिनापछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । मेसी र रोनाल्डोको युग सकिएपछि सबैको ध्यान उनमै हुनेछ । सुरुमा उनी मोनाकोको खेलाडी थिए, सन् २०१७–१८ मा पहिलो पल्ट पीएसजी गए । त्यति बेला उनी ऋणमा त्यता गएका थिए । त्यसको एक वर्षपछि उनले पीएसजीसँग स्थायी अनुबन्ध नै गरे । त्यसयता उनले पीएसजीका लागि १ सय २९ गोल गरिसकेका छन् ।

उनी पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनिसके । उनलाई फ्रान्समा रहेको विविधताबीच एकताको प्रतीकका रूपमा पनि लिने गरिन्छ । उनी आधुनिक फ्रान्सका अनुहार हुन् । फेरि उनी मेसीको फुटबलका प्रशंसक पनि होइनन् उनका लागि अर्जेन्टिनी सहकर्मी विश्वकै उत्कृष्ट खेलाडी होइनन् । उनलाई मेसीभन्दा रोनाल्डो नै मन पर्छ । सानोमा उनी आफ्नो कोठाको भित्ता भरी रोनाल्डोकै तस्बिर राख्थे ।

अनि उनी जिनेदिन जिदानलाई पनि उत्तिकै मन पराउँछन् । जिदानपछि फ्रान्सले पाएको सबैभन्दा राम्रा खेलाडी एमबाप्पे नै हुन् । तर उनले अहिलेसम्म फ्रान्सबाहिर क्लब फुटबल खेलेका छैनन् । फ्रान्समै रहने हो भने उनको हैसियत मेसी र रोनाल्डो जत्तिको नहुने भन्नेहरू पनि छन् । युरोपका तीन लिग त इंग्लिस प्रिमियर लिग, इटालीको सिरी ‘ए’ र स्पेनको ला लिगा नै भए । त्यसपछि बल्ल जर्मनीको बुंडेसलिगा आउँछ । अनि मात्रै फ्रान्सेली लिग–वान ।

फ्रान्सको यो माथिल्लो डिभिजनको लिगलाई खासै उम्दा नभएको आरोप लगाउनको पनि संख्या पनि कम्ती छैन । यही जमातले भन्छ, अबको सिजन एमबाप्पेले अन्यत्र जानैपर्छ । उसलाई सुहाउने क्लब धेरै अर्थमा स्पेनमा छ, विशेषतः रियल म्याड्रिड । अथवा इंग्ल्यान्डका कुनै ठूला क्लब । पोहोर सिजनै एमबाप्पेलाई रियलले लगभग किनिसकेको थियो, तर अन्त्यमा आएर कहाँनिर के भयो, कसैले थाहै पाएनन् । गत सिजननै उनले पीएसजीसँग नयाँ अनुबन्ध पनि गरे र यो सन् २०२५ सम्म कायम रहनेछ ।

एमबाप्पेलाई पीएसजी छाडेर अन्यत्रा जान उक्साइरहेका सबैभन्दा अगाडि छन्, फ्रान्सकै पुराना खेलाडी इमानुल पेटी । उनी भन्छन्, ‘एमबाप्पे १७ वर्षको उमेरदेखि नै स्टार खेलाडी छन् । फ्रान्समा उनले आफूले सक्दो सबै कीर्तिमान आफ्नो नाममा बनाइसके । तर उनले च्याम्पियन्स लिग जित्न सकेका छैनन् । विश्वकै उत्कृष्ट खेलाडी हुन् र बेलन डे’अर उपाधि जित्न एमबाप्पेले च्याम्पियन्स लिग जित्नैपर्छ ।’ सायद पीएसजीले अबका सिजन च्याम्पियन्स लिग जित्नेमा पेटीलाई पनि शंका छ ।

उनी के पनि मान्छन् भने पोहोर सिजन जे जस्तो भए पनि एमबाप्पे आउने भयो भने रियलले आफ्नो ढोका सधैंका लागि खुल्ला राख्ने नै छ । फेरि रियल भनेको च्याम्पियन्स लिगको राजा हो । यो च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन मात्र होइन, यो जत्तिको च्याम्पियन्स लिगमा सफल क्लब अरू कुनै छैन । त्यसैले रियल एमबाप्पेबीच मिलन हुनु नै पर्छ भन्नेहरू धेरै छन् । त्यसैले फुटबलको यो सिजन सकिँदा सबैभन्दा ठूलो प्रश्न हुनेछ, के एमबाप्पेले पीएसजी छाड्ने छन् त ?

प्रकाशित : वैशाख २०, २०८० ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×