टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ — एसीसी प्रिमियर कप अन्तर्गत शनिबार कुवेतविरूद्धको आजको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको छ ।

टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिवि क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल जारी रहेको छ ।

अनुमान गर्न निकै कठिन टोली हो कुवेत । काठमाडौंमा भइरहेको प्रिमियर कपमा कुवेतले जुन प्रदर्शन दिएको छ, त्यसबाट नेपाल ढुक्क हुने अवस्थामा छैन । यूएईसँग पहिलो खेलमा पराजित कुवेतले अर्को खेलमा बहराइनले दिएको २ सय ५६ रनको लक्ष्य पन्छाएको थियो । तेस्रो खेलमा सिंगापुरलाई १ सय १३ रनमा अलआउट गरेको कुवेतले लिग चरणको अन्तिम खेलमा दाबेदार मानिएको हङकङविरुद्ध २ सय ७२ रन बनायो ।

कुवेतको नडराउने ब्याटिङ शैलीले प्रिमियर कपको आकर्षण बढाएको छ । पहिलो खेलमा यूएईले ३ सय ७१ रनको विशाल स्कोर बनाउँदा पनि कुवेतले जवाफमा आक्रामक शैलीबाट खेल्दै २ सय २८ रन बनाएको थियो ।

एडनान इद्रिसले ३ खेलमा १ सय ३९ रन बनाएका छन् । उनको स्ट्राइक रेट १ सय १६ भन्दा माथि छ । इमाल मालिन्दु, सायेद मोनिब, यासिन पटेल, सिराज खान र मित भवसार र उस्माङ्गी इब्राहिमले अर्धशतक बनाउँदै कुवेत कुनै एक खेलाडीमा निर्भर टोली नरहेको देखाएका छन् ।

पछिल्लो तीन महिनामा बलियो प्रदर्शन गर्दै आएको नेपाललाई बिहीबार कतारले असली परीक्षा लिएको थियो । एसिया कप खेल्ने लक्ष्य बनाएको नेपाललाई कतारले १ सय ५७ रनमा अलआउट गरेको थियो । नेपालले खेल ६८ रनले जितेको थियो ।

कतारले परीक्षा लिए पनि नेपाली टोलीमा जुनकुनै स्थितिमा एकअर्काप्रति विश्वास गर्दै आएकाले प्रशिक्षक मोन्टी देसाई त्यसलाई आगामी खेलसँग जोड्न चाहँदैनन् । कतारसँगको खेलले टोलीलाई आगामी खेलप्रति सचेत गराएको भन्दै देसाई सकारात्मक छन् ।

नेपाली टोलीको चिन्ता ब्याटिङको ओपनिङ जोडीलाई लिएर छ । कुशल मल्लले ३ खेलमा ४० र आसिफ शेखले ३ खेलमा २० रनमात्र बनाउन सकेका छन् । एक समय प्रमुख ब्याटर रहेका दीपेन्द्रसिंह ऐरीले पनि ३ खेलमा २४ रनमात्र बनाउन सकेका छन् ।

भीम सार्की, कुशल मल्ल नेपाली ब्याटिङमा नयाँ भरोसाका रूपमा उदाएका छन् । कुशलको शतकमा नेपालले ओमानविरुद्ध ०–२ को स्थितिबाट ३ सय १० रन बनाएको थियो । मलेसियाविरुद्ध कुशलले अविजित ७१ रन बनाउदा भीमले ७० रन जोडेका थिए ।

फेरि पनि कुवेतकै प्रसङ्ग । कुवेतसँगको पछिल्ला दुई खेल नेपालले जितेको छ २००८ र २०१० मा गरी । त्यो धेरै अगाडिको हो । कुवेतसँगको पछिल्लो खेल नेपालले सायदै भुल्नेछ ।

२०१२ को एसीसी ट्रफीमा नेपालले यूएईको अल दाहिदमा ४ विकेट गुमाई २ सय ८० रन बनाएको थियो । पारस खड्काले ७७ बलमै १ सय ६ रन बनाएका थिए । पारसले नेपालबाट बनाएको पाँचमध्ये यो पहिलो शतक थियो ।

जवाफमा कुवेतले पहिलो १० ओभरमै ९० रन जोडेको थियो । कुवेतले खेल पनि ४६.२ ओभरमै जितेर नेपाललाई स्तब्ध पारेको थियो । कुवेतको ब्याटिङको यही शैली प्रिमियर कपमा देखिएको छ । ११ वर्षयता नेपालले धेरै छलाङ मारिसकेको छ । कुवेतको चुनौती पन्छाउँदै एसिया कपको यात्रामा अगाडि बढ्न नेपाली टोली तयार देखिन्छ ।

प्रकाशित : वैशाख १६, २०८० ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?