सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल

काठमाडौँ — एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो ।

सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल

समूह ‘ए’ को विजेताको रुपमा रहेको नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने र दोस्रो सेमिफाइनल खेलमा भने ओमान र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबार नै भएको नेपाल र कतारबीचको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो ।

तर जवाफमा आएको कतारलाई पनि सजिलो भएन । नेपालले कतारलाई २५.१ ओभरमै ८९ रनमा अलआउट गर्‍यो । कतारबाट जाहिर इब्राहिम र खुराम सेहजादले समान १५ र अमिर फारुकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चे । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ३ र ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

सबै चार खेल जिती नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यसै समूहबाट ओमान उपविजेता भई अघिल्लो दिन नै सेमिफाइनल पुगेको थियो । ओमानले ४ मध्येको तीन खेल जित्यो । समूह ‘बी’ बाट यसअघि नै यूएई सेमिफाइनल पुगिसकेको छ ।

यसअघि सन्दीप र ललितले अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो । सन्दीपले नेपालबाट सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बल खेली ६ चौका प्रहार गरे । ललित एलबीडब्लू आउट भएपछि नेपाली इनिङ्स सकिएको थियो । ललितले १७ बल खेली १ रन बनाए ।

विश्वकप लिग २ को पछिल्लो ३ महिनामा १२ मध्येको ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको नेपाललाई वरियताविहीन कतारले वास्तविक परीक्षा लिएको थियो ।

समूहचरणको अन्तिम खेल खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । कतारसँगको विजयले नेपाललाई समूह विजेता बनाउथ्यो । कतार अघिल्ला तीन खेल नै हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

कुशल भुर्तेल २ रनमा मिडविकेटमा सिधा क्याच दिन पुगे । भीम सार्की चौथो ओभरमै रिभर्स स्विप गर्ने प्रयासमा ६ रन बनाई विकेटकिपरबाट क्याचआउट भए ।

आसिफ शेख र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ४८ रनको साझेदारी गरे । आसिफले पुल गर्न खोज्दा डिप स्क्वायर लेगमा क्याच दिए । उनले २ चौका प्रहार गर्दै २७ बलमा १९ रन बनाए । रोहित कट बिहाइन्ड दिएको अम्पायरको निर्णयमा खुसी थिएनन् । उनले नेपालबाट सर्वाधिक २७ रन बनाउने क्रममा ३६ बल खेली २ चौका प्रहार गरे ।

कुशल मल्लले ३ रनमात्र बनाउन सके । माथिल्लो क्रममा पठाइएका सोमपालले ११ रन बनाए । दीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनले पनि १२ रनमात्र बनाउन सके । क्रिजमा आउने बित्तिकै छक्का प्रहार गरेका गुलशन झा ७ रनमा आउट भए ।

कतारबाट अमिर फारुकले ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चे । ओबाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ज्ञान मुनाविराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।

प्रकाशित : वैशाख १४, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?