३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कतारसँग नेपाल सस्तैमा अलआउट

विनोद पाण्डे

काठमाडौँ — एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपालले त्यसको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा निराशाजनक ब्याटिङ गरेको छ । कतारले टस जितेपछि ब्याटिङमा आएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो ।

कतारसँग नेपाल सस्तैमा अलआउट

सन्दीप लामिछाने र ललित राजवंशीले अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो । सन्दीपले नेपालबाट सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बल खेली ६ चौका प्रहार गरे । ललित एलबीडब्लू आउट भएपछि नेपाली इनिङ्स सकिएको थियो । ललितले १७ बल खेली १ रन बनाए ।

विश्वकप लिग-२ को पछिल्लो ३ महिनामा १२ मध्येको ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको नेपाललाई वरियताबिहीन कतारले वास्तविक परीक्षा लिएको थियो ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

समूह चरणको अन्तिम खेल खेल्नु यस खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । कतारसँगको विजयले नेपाललाई समूह विजेता बनाउथ्यो । कतार अघिल्ला तीन खेल नै हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्राय: नेपाली ब्याटरले विकेट फाल्न पुगेका थिए । कुशल भुर्तेल २ रनमा मिडविकेटमा सिधा क्याच दिन पुगे । भिम सार्की चौथो ओभरमै रिभर्स स्विप गर्ने प्रयासमा ६ रन बनाई विकेटकिपरबाट क्याच समातिए ।


आसिफ शेख र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ४८ रनको साझेदारी गरे । आसिफले पुल गर्न खोज्दा डिप स्क्वायर लेगमा क्याच दिए । उनले २ चौका प्रहार गदै २७ बलमा १९ रन बनाए । रोहित कट बिहाइन्ड दिएको अम्पायरको निर्णयमा खुसी थिएनन् । उनले नेपालबाट सर्वाधिक २७ रन बनाउने क्रममा ३६ बल खेली २ चौका प्रहार गरे ।

कुशल मल्लले ३ रनमात्र बनाउन सके । माथिल्लो क्रममा पठाइएका सोमपाल कामीले ११ रन बनाए । दीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनले पनि १२ रनमात्र बनाउन सके । क्रिजमा आउने बित्तिकै छक्का प्रहार गरेका गुलशन झा ७ रनमा आउट भए ।

कतारबाट अमिर फारुकले ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चे । ओबाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ज्ञान मुनाविराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।

प्रकाशित : वैशाख १४, २०८० १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?