कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खेल मैदान अभावले खेत र सडकमै प्रतियोगिता

हुम्ला — हुम्लाको खार्पुनाथमा गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । तर गाउँपालिकाको केन्द्र याङचु बजारमा सञ्चालन गरिएको प्रतियोगिता उपयुक्त खेल मैदान नहुँदा खेत र सडकमा खेल सञ्चालन गरिएको छ ।

खेल मैदान अभावले खेत र सडकमै प्रतियोगिता

प्रतियोगिताका खेलहरू पालिकामा उपयुक्त मैदान नहुँदा खेत र सडकमा गराउनु पर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बताए ।

पालिकाका ५ वटा माध्यामिक विद्यालय सहभागी भएको प्रतियोगितामा २ वटा इभेन्ट एथलेटिक्स र भलिबलमा छात्रछात्राका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ । ४ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभरिका ५ वटा विद्यालयबाट १ सय ४५ जना खेलाडी सहभागी रहेका छन् ।

खेलाडी उत्पादनको मुख्य आधार विद्यालय रहे पनि पालिकाले खेल क्षेत्रलाई प्राथमिकता तथा खेल पूर्वाधार निर्माणमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो । खेलकुदका गतिविधि सञ्चालनका लागि उपयुक्त खेल मैदान आवश्यक पर्ने भए पनि खेल मैदानबिना नै प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारा दिइए पनि उपयुक्त खेल मैदानबिना खेल सञ्चालन हुँदा खेलाडीले आफूले चाहेको प्रदर्शन गर्न नसक्ने र चोटपटक लाग्ने बढी सम्भावना रहेको खार्पुनाथ–५ का स्थानीयबासी भक्तबहादुर शाहीले बताए ।

पढाइसँगै खेलकुद पनि महत्त्वपूर्ण रहेकाले स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउन जरुरी रहेको स्थानीयको भनाइ छ । खेलकुदका लागि पालिकाले खेल पूर्वाधारका साथै खेल, खेल शिक्षक र प्रशिक्षण पनि थप्न आवश्यक रहेको शंकर माध्यमिक विद्यालय थालीका प्रधानाध्यापक वृष छत्यालले बताए ।

खेलमैदान अभावमा सडकमा दौड प्रतियोगिता र खेतमा भलिबल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता हामीकहाँ रहेको छ । अब निकट भविष्यमै खार्पुनाथ गाउँपालिकामा पालिकास्तरीय खेलमैदान निर्माण गरी खेल खेलाउने गाउँपालिकाको उद्देश्य रहेको कार्यवाहक अध्यक्ष भरतजंग शाहीले बताए ।

प्रकाशित : चैत्र २१, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?