नेपालका दुई खेलाडीलाई पदक

कान्तिपुर संवाददाता

पोखरा — एसिया कप ट्रायथलन २०२३ अन्तर्गत दक्षिण एसियाली च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले पदक जितेका छन् । नेपालका श्रेवी महर्जनले रजत र कांस्य तथा वसन्त थारुले कांस्य जितेका छन् । दक्षिण एसियाली ट्रायथलनमा श्रेवीले सिनियरमा कांस्य जित्दा जुनियरमा रजत जितिन् । वसन्तले सिनियरमा कांस्य जिते ।

७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किमि दौड पूरा गर्दा भारतका आदर्श मुरलिधरण नायर सिनिमोलले स्वर्ण जिते । उनले निर्धारित दुरी १ घन्टा ४ मिनेट १६ सेकेन्डमा पूरा गरे । भारतकै विश्वनाथ यादव १ घन्टा ६ मिनेट २५ सेकेन्डबाट दोस्रो र नेपालका वसन्त १ घन्टा ६ मिनेट ५२ सेकेन्ड लगाएर तेस्रो भए ।

महिलातर्फ तेस्रो भएकी श्रेवीले १ घन्टा १८ मिनेट लगाइन् । १ घन्टा १२ मिनेटबाट पूर्वविजेता भारतकी प्रज्ञा मोहनले पहिलो स्थान हात पारिन् । भारतकै मान्सी मोहित १ घन्टा १३ मिनेट ४६ सेकेन्डबाट दोस्रो भइन् । जुनियर ट्रायथलनमा पुरुषतर्फ भारतले शीर्ष तीनस्थानमै कब्जा जमायो । महिलातर्फ भारतकी सन्जना सुनिल १ घन्टा १२ मिनेट २१ सेकेन्डबाट विजेता भइन् । नेपालकी श्रेवी १ घन्टा १८ मिनेटबाट दोस्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनेट ८ सेकेन्डबाट तेस्रो भएका थिए ।

फेवातालमा भएको एसिया ट्रायथलन कपको उपाधि लक्जेम्बर्गका बब हेलर र स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पुरुषतर्फ बबले ७५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किमि दौड दुरी ५५ मिनेट ५५ सेकेन्ड र महिलातर्फ सोही दुरी मारगेटाले १ घन्टा ४ मिनेट ५१ सेकेन्डका साथ उपाधि जितेका हुन् । उज्वेकिस्तानका एलेक्जान्डर कुरिसोभले ५५ मिनेट ५७ सेकेन्डबाट दोस्रो र लक्जेम्बर्गका स्टेफन जाकोसले ५६ मिनेट ०१ सेकेन्डबाट तेस्रो भए । महिलातर्फ जापानका मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोस्रो र तेस्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनेट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनेट ३० सेकेन्डमा दुरी पूरा गरे ।

राष्ट्रिय ट्रायथलनतर्फ पुरुषमा वसन्त थारु, दीपेश चौधरी र मुकेश चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । वसन्तले १ घन्टा ६ मिनेट ५२ सेकेन्ड, दीपेशले १ घन्टा ९ मिनेट १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनेट ४४ सेकेन्ड लगाए । महिलातर्फ श्रेवी महर्जन विजेता र केशरी थापामगर दोस्रो भए । प्रतियोगिताअन्तर्गत दुवाथलन विधाको प्रतिस्पर्धा आइतबार हुने आयोजक नेपाल ट्रायथलन संघले जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

आईपीएलमा पन्जाब किंग्स विजयी

एजेन्सी

पन्जाब — पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा शनिबार वर्षाले प्रभावित खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस नियमअनुसार ७ रनले पराजित गरेको छ । कोलकाताको इनिङ्स १६ ओभरमा पुग्दा खेल वर्षाले बिथोलिएको थियो । खेलको नतिजा पन्जाब डकवर्थ नियमअनुसार छिनोफानो भएको थियो ।

पहिले ब्याटिङ गरेको पन्जाबले ५ विकेटमा १ सय ९१ रन बनाएको थियो । त्यसमा भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए । कप्तान शिखर धवनले २९ बलमा ४० रनको योगदान दिए । जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाई १ सय ४६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । आन्द्रे रसेलले ३५ र वैंकटेश अयरले ३४ रन बनाए ।

त्यसअघि ओपनर शुभमन गिलको ६३ रन मदतमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले एक लाख दर्शकसामु शुक्रबार उद्घाटन खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ७९ रन पछ्याएको गुजरात ४ बल बाँकी छँदा जितसम्म पुग्यो । गिलको आक्रामक प्रदर्शनमा विश्व क्रिकेटकै ठूलो स्टेडियममा यो जित निस्किएको हो ।


प्रकाशित : चैत्र १९, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×