इतिहास रच्दै सद्भावले जिते सूर्य च्यालेन्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा गल्फर सद्भाव आचार्यले नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल गल्फ टुरको प्रो उपाधि जितेका छन् । उनले यस सिजन टुरको छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल च्यालेन्ज जितेका हुन् ।

१६ वर्षे सद्भावले अन्तिम दिन शुक्रबार ४ अन्डर ६४ को उत्कृष्ट स्कोर बनाए । जसले गर्दा समग्रमा ३ अन्डर २ सय ६९ सहित उनी उपाधि जित्न सफल भए । उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले पछाडि पारेका थिए ।

सद्भाव सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो उपाधि जित्ने पहिलो गल्फर बनेका छन् । १६ वर्ष १० महिनाका सद्भावले नेपाल नम्बर एक एमच्योर गल्फर सुभाष तामाङको रेकर्ड तोडे । सुभाषले १६ वर्ष ११ महिनाको उमेरमा प्रो उपाधि जितेका थिए । उनले सन् २०१९ मा भुवनलाई नै हराएर सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम १८ होलको सुरु गर्दा तेस्रो दिनका लिडर रविभन्दा चार स्ट्रोकले पछि परेका सद्भावले परिपक्व खेल खेले । फ्रन्टनाइन २ अन्डर ३२ मा टुंग्याएका थिए । दोस्रो, चौथो र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे । ३ पारको तेस्रो होलमा एक शट खेर फाले । यसपछि दसौं होलमा बोगी खेपे । उनलाई डिफेन्डिङ च्याम्पियन भुवनले कडा चुनौती दिइरहे । तर सद्भावले बिना दबाब १३, १६ र १७ औं गोलमा बर्डी प्रहार गर्दा दिनको उत्कृष्ट स्कोर कार्ड बनाएर पहिलो पटक प्रो र एमेच्योर दुवैतर्फ उपाधि जित्न सफल भए । उपाधि जितेपछि सद्भावले भारतको तरुण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले सफलता पाएको बताए ।

अनुभवी गल्फर भुवन इभन पार ६८ सहित समग्रमा १ अन्डर २ सय ६१ बनाएर दोस्रो भए । समग्रमा दोस्रो हुँदा प्रोतर्फ भने उनी पहिलो भए । उनले एक लाख रुपैयाँ प्राप्त गरे । तेस्रो दिनका अग्रता बनाएका रवि खड्काले ३ ओभर ७१ को खराब प्रदर्शन गरे । समग्रमा इभन पार २ सय ७२ मा खेल सकाए । समग्रमा तेस्रो भएका उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार हात पारे ।

एमच्योरका नम्बर वान सुभाष तामाङले अन्तिम दिन इभन पार ६८ मा खेल टुंग्याए । समग्रमा ३ ओभर २ सय ७५ को स्कोरसहित चौथो भए । उनी एमच्योरतर्फ दोस्रा भए ।

३ ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५ ओभर २ सय ७७ मा खेल टुंग्याए । समग्रमा पाँचौं भएका उनले प्रोतर्फ तेस्रो हुँदै ४६ हजार प्राप्त गरे ।

समग्रमा ८ ओभर २ सय ८० सहित भुवनकुमार रोक्का र धनबहादुर थापाले संयुक्त छैटौ स्थान बाँडे । भुवनले ८ ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनले २ ओभर ७० मा अन्तिम १८ होलको खेल टुंग्याए । प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार हात पारे । भेट्रान गल्फर दीपक मगर र जयराम श्रेष्ठ १० ओभर २ सय ८२ सहित संयुक्त आठौं भए । दीपकले ४ ओभर ७२ र जयरामले २ ओभर ७० मा खेल टुंग्याए । छैटौ भएका दुवैले २८ हजार ५ सय प्राप्त गरे । समग्रमा ११ ओभर २ सय ८३ सहित सञ्जय लामा दसौं भए । उनले ३ ओभर ७१ मा खेल सके । प्रोतर्फ आठौं भएका उनले २४ हजार पाए ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा ७ एमेच्योरसहित ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी, आयोजक एसोसिएनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे ।

प्रकाशित : चैत्र १७, २०७९ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्

तेक्वान्दोका ढकालले दुई अन्तर्राष्ट्रिय स्पर्धा खेलाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकालले अस्ट्रिया र स्पेनमा हुने विश्व वरीयताका तेक्वान्दो प्रतियोगिताका लागि निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

अस्ट्रियाको इन्सब्रुकमा शनिबारदेखि अस्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा रहने छन् । त्यसपछि उनी स्पेनको एलिकान्टेमा वैशाख १ देखि ३ सम्म हुने स्पेनिस ओपन विश्व वरीयता तेक्वान्दोका लागि उनी सहभागी हुनेछन् । ढकाल गत वर्ष एलिकान्टेमै भएको विश्व वरीयता जी टु तेक्वान्दो च्याम्पियनसिपमा वेस्ट रेफ्री भएका थिए ।

युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि आफूलाई निर्णायक मण्डलमा छनोट गरेको निर्णायक ढकालले जानकारी गराए । उनले हालै उज्वेकिस्तानको तास्केन्द सहरमा सम्पन्न पेरिस ओलम्पिक २०२४ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय दोस्रो श्रेणीका तेक्वान्दो निर्णायक ढकालले यसअघि बेल्जियम, फ्रान्स, पाकिस्तान, जर्मनी, चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

काभ्रे कुशादेवीका बासिन्दा उनलाई अस्ट्रिया जानुअघि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले बिदाइ गरेको थियो । जिसस प्रमुख दीपककुमार गौतम, समन्वय अधिकारी शान्तिराज प्रसाई, सूचना अधिकारी होमबहादुर राउतलगायतले बिदाइ गरेका थिए ।

प्रकाशित : चैत्र १७, २०७९ २१:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×