तेक्वान्दोका ढकालले दुई अन्तर्राष्ट्रिय स्पर्धा खेलाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकालले अस्ट्रिया र स्पेनमा हुने विश्व वरीयताका तेक्वान्दो प्रतियोगिताका लागि निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

अस्ट्रियाको इन्सब्रुकमा शनिबारदेखि अस्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा रहने छन् । त्यसपछि उनी स्पेनको एलिकान्टेमा वैशाख १ देखि ३ सम्म हुने स्पेनिस ओपन विश्व वरीयता तेक्वान्दोका लागि उनी सहभागी हुनेछन् । ढकाल गत वर्ष एलिकान्टेमै भएको विश्व वरीयता जी टु तेक्वान्दो च्याम्पियनसिपमा वेस्ट रेफ्री भएका थिए ।

युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि आफूलाई निर्णायक मण्डलमा छनोट गरेको निर्णायक ढकालले जानकारी गराए । उनले हालै उज्वेकिस्तानको तास्केन्द सहरमा सम्पन्न पेरिस ओलम्पिक २०२४ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय दोस्रो श्रेणीका तेक्वान्दो निर्णायक ढकालले यसअघि बेल्जियम, फ्रान्स, पाकिस्तान, जर्मनी, चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

काभ्रे कुशादेवीका बासिन्दा उनलाई अस्ट्रिया जानुअघि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले बिदाइ गरेको थियो । जिसस प्रमुख दीपककुमार गौतम, समन्वय अधिकारी शान्तिराज प्रसाई, सूचना अधिकारी होमबहादुर राउतलगायतले बिदाइ गरेका थिए ।

प्रकाशित : चैत्र १७, २०७९ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्

बाबु-छोराछोरीको सँगै एसईई

जनकबहादुर शाही

हुम्ला — हुम्ला सदरमुकाम सिमकोटदेखि ३४ कोष टाढा पर्ने कोट माध्यमिक विद्यालय परीक्षा केन्द्र रोडीकोटबाट एकै परिवारका बुबाछोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।

सर्केगाड गाउँपालिका वडा नं ५ का ६० वर्षीय मानबहादुर शाही र उनका १५ वर्षीय छोरा यज्ञबहादुरले सँगै एसईईको परीक्षा दिएका हुन् ।

यसैगरी हिमज्योति माध्यामिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय नन्दलाल बुमी र उनकी १६ वर्षीया छोरी जयलक्ष्मीले पनि एसईईको परीक्षा दिएका छन् ।

शुक्रबार सुरु भएको एसईई परीक्षा अन्तर्गत हुम्लाका ६ वटा परीक्षा केन्द्रमा १ हजार २ सय ३४ जना परिक्षार्थीहरूमध्ये २८ जना अनुपस्थित रहेको परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई उद्धित गर्दै शिक्षा विकास तथा समन्वय ईकाइ हुम्लाका प्रमुख तिलक भट्टराईले बताए ।

जसअन्तर्गत बालमन्दिर माध्यमिक विद्यालय परीक्षा केन्द्र सिमकोटमा २ सय ५६ जना परिक्षार्थीमध्ये १२ जना अनुपस्थित रहे ।

यस्तै मानसरोवर माध्यमिक विद्यालय परीक्षा केन्द्र सिमकोटमा १ सय ८० जना परिक्षार्थीमध्ये ५ जना, हिमज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्र सर्केगाडमा २ सय ५३ जना परिक्षार्थीमध्ये ६ जना अनुपस्थित थिए ।

यस्तै, कोट माध्यमिक विद्यालय रोडीकोट परीक्षा केन्द्रमा १ सय ४८ जना परीक्षार्थीमध्ये ४ जना, सूर्योदय माध्यमिक विद्यालय परीक्षा केन्द्र श्रीनगरमा १ सय ५७ जना परीक्षार्थीहरूमध्ये १ जना र मदानदेव माध्ययमिक विद्यालय परीक्षा केन्द्रमा २ सय ४० परीक्षार्थीमध्ये २ जना गरी जिल्लाभर २८ जना परीक्षार्थीहरू अनुपस्थित रहेका थिए ।

हुम्लाका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण र मर्यादित रूपमा परिक्ष संचालन भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी भीमराज कार्कीले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ २१:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×