विराटनगर सिटी च्याम्पियन

आयोजक विराटनगर ६ दशकपछि घरेलु मैदानमा उपाधि जित्न सफल
विनोद भण्डारीे

विराटनगर — आयोजक विराटनगर सिटीले सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद मैदानको फ्लडलाइटमा बिहीबार करिब ८ हजार दर्शकको ढुकढुकी शान्त पार्दै विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले पराजित गर्दै घरेलु मैदानमा ६ दशकपछि उपाधि जितेको हो ।

विराटनगर सिटी च्याम्पियन

यसअघि विराटनगरले २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करण यही मैदानमा जितेको थियो । विराटनगरको जितमा विमल घर्तीमगरको प्रदर्शन उत्कृष्ट रह्यो । उनले टिमका लागि एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए । लिग विजेता मछिन्द्र क्लबको सेट मैदान उतारेको विराटनगरले साताअघि चर्च ब्वाइजलाई हराएर इटहरी गोल्डकप उपाधि जितेको थियो ।

खेलको सातौं मिनेटमा अफिज ओलवालेको गोलबाट अग्रता लिएको विराटनगरले पूरै समय विपक्षीलाई दबाबमा राखेर खेलेको थियो । ओलावालेले विमलको सटिक पास पेनाल्टी क्षेत्रमा सदुपयोग गोल गरेर गोलकिपर सनफेरलाई प्रतिक्रियाविहीन बनाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको विराटनगरबाट थप तीन गोल खेलको अन्तिम १२ मिनेटभित्र सम्भव भयो । ७८ औं मिनेटमा विमलले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले युका सुजुकीको पास सदुपयोग गरे । त्यसअघि ७४ औं मिनेटमा केरलाका कप्तान अर्सादले बक्सभित्र ह्यान्ड गर्दा प्राप्त पेनाल्टी अवसर विराटनगरका स्टेफेनले सदुपयोग गर्न सकेनन् । उनको प्रहार भारतका गोलकिपर सनफेरले बचाए ।

खेलको ८९ औं मिनेटमा मुसाकाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाउँदा इन्ज्युरी समयको अन्तिममा अभिषेक गुरुङले विमलको पासमा गोल गरेसँगै रेफ्री प्रज्वल क्षेत्रीले अन्तिम सिठी फुकेका थिए ।

जितसँगै विराटनगरले ट्रफीसहित २० लाख १५ हजार रुपैयाँ पुरस्कार थाप्दा पाहुना टिमले १० लाख १५ हजारमा चित्त बुझाएको छ । केरलाको विदेशी मैदानमा उपाधि जित्ने धोको यसपालि अधुरै रह्यो ।

केरला प्रिमियर लिगको पाँचौं स्थानमा रहेको लुका सकर एफसीको यो पहिलो विदेशी सहभागिता थियो ।

क्वाटर र सेमिफाइनलमा संकटा र एपीएफलाई टाइब्रेकरमा हराउँदै उपाधि यात्रा गरेको केरलाले बिहीबार पनि रक्षात्मक खेल खेल्दै विपक्षी पोस्टमा दुई पटकमात्र आक्रमण बुन्न सक्यो । खेलको ११ औं मिनेटमा मोहमद फिजानले विराटनगरका रक्षापंक्ति बिट भएको स्थितिमा गोलकिपर विशाल श्रेष्ठलाई कटाउन नसक्दा खेलमा फर्कने अवसर गुमाएको हो । टोलीका अजाम ५१ औं मिनेटमा अवसर सदुपयोग गर्न चुकेका थिए । पाउलको पासमा अजामले बक्स भित्रबाट गरेको प्रहार गोलकिपर विशाल बिट भएको अवस्थामा पोस्ट हुँदै बाहिरिएको थियो ।

खेलको २० औं मिनेटमा विराटनगरका मुसाकाले गोलको अवसर चुकाउँदा दोस्रो गोलका लागि टिमले ७४ औं मिनेट पर्खनुपरेको थियो । स्टेफनको पासमा मुसाकाले गोलकिपर विपक्षी क्षेत्रमा भुलिएका वेला गरेको कडा प्रहार पोस्टमाथिबाट वाहिरियो । खेलको ३० औं मिनेटमा विमलको प्रहार पनि फ्रेममा नपर्दा विराटनगर पहिलो हाफमा १–० गोलमा सीमित रहयो । विराटनगरले क्वाटरफाइनलमा पुलिस र सेमिफाइनलमा जावलाखेलको चुनौती पन्छाएको थियो । म्यान अफ द फाइनल विराटनगरका सुरज बिक भए । उनले ११ हजार रुपैयाँ पाए ।

विधागत पुरस्कारमा पनि विराटनगरको वर्चस्व रह्यो । प्लेयर अफ द टुर्नामेन्ट विराटनगरका मेसुके भए । सर्वाधिक गोलकर्ता विराटनगकै अभिषेक गुरूङ भए । उनले २ गोल गरेका थिए । उत्कृष्ट फरवार्ड केरलाका चालिज क्युराको, उत्कृष्ट मिल्डफिल्डर विराटनगरका युका सुजुकी, उत्कृष्ट गोलकिपर विराटनगरका विशाल श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ र उत्कृष्ट प्रशिक्षक विराटनगरकै सन्तोष न्यौपाने भए । सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

महेन्द्र गोल्डकपका नाममा २९ औं पटक आयोजना गरिएको यो प्रतियोगिता २०६८ देखि विराट गोल्डकपका नाममा आयोजना हुन थालेको हो ।

प्रकाशित : चैत्र १६, २०७९ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?