सूर्य नेपाल च्यालेन्ज : रवि फेरि शीर्षस्थानमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सूर्य नेपाल च्यालेन्ज गल्फको तेस्रो दिन बिहीबार रवि खड्का पुनः शीर्षस्थानमा फर्केका छन् । उनले १ अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३ अन्डर २ सय १ सहित शीर्षस्थानमा उक्लिएका हुन् । उनी पहिलो दिन पनि अगाडि थिए ।

रविले साबिक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारेका छन् । १ अन्डर ६७ सहित समग्रमा १ अन्डर २०३ को स्कोरसहित भुवन दोस्रो स्थानमा रहे । २ ओभर ७० मा दिनको खेल सकेका भुवनकुमार रोक्का समग्रमा इभन पार २ सय ४ सहित तेस्रो स्थानमा छन् ।

एमेच्योर खेलाडी सदभाव आचार्यले बिहीबार २ ओभर ७० मा खेल टुंग्याए । उनी समग्रमा १ ओभर २ सय ५ को नतिजामा चौंथो स्थानमा रहे । एमरच्योरतर्फ उनी शीर्षस्थानमै छन् ।

सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत छैटौं प्रतियोगितामा दिनेश प्रजापति समग्रमा २ ओभर २ सय ६ सहित पाँचौं स्थानमा छन् । उनले ३ ओभर ७१ मा खेल सके । नेपाल नम्बर एक एमरच्योर गल्फर सुभाष तामाङ खराब प्रदर्शन गर्दै ४ ओभर ७२ मा खेल टुंग्याउँदा समग्रमा ३ ओभर २ सय ७ सहित छैटौं स्थानमा पुगेका छन् । एमरच्योरतर्फ उनी सदभावभन्दा २ स्ट्रोकले पछि रहे ।

समग्रमा ६ ओभर २ सय १० स्कोर जोडेका दीपक मगर र धनबहादुर थापाले संयुक्त सातौं स्थान बाँडे । दीपकले ७ ओभर ७५ र दोस्रो दिनका लिडर धनले ९ ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे । जयराम श्रेष्ठ, सञ्जय लामा, शिवराम पौडेल र एमरच्योर खेलाडी युवराज भुजेल संयुक्तरुपमा नवौं स्थानमा छन् । उनीहरूले समग्रमा ८ ओभर २ सय १२ स्कोर गरे ।

रविले फ्रन्ट नाइन इभन पार ३४ मा सके । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा आठौं र नवौं होलमा बोगी सामना गरे । यसपछि १०, १३ र १७ औं होलमा एक–एक शट बचाए । तर ३ पारको १२ औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १ अन्डर ३३ मा टुंग्याएका थिए ।

भुवनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे । सातौं र नवौं होलमा एक–एक शट खेर फाल्दै फ्रन्ट नाइन इभन पार ३४ मा सकेका थिए । ब्याक नाइन १ अन्डर ३३ मा पुरा गर्ने क्रममा १०, १२ र १४ औं होलमा तीन बर्डी प्रहार गरे । ११ र १७ औं होलमा एक–एक शट प्रहार गरे ।

भुवन कुमार रोक्काले पहिलो होलमा बर्डी प्रहार गर्दा नवौं होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन इभन पार ३४ मा सकाए । यसपछि दसौं र पन्ध्रौं होलमा एक–एक शट खेर फाले भने १२ र १६ औं होलमा बर्डी प्रहार गरे । तर ४ पारको १८ औं होलमा डबल बोगी खेप्दै ब्याक नाइन २ ओभर ३६ मा पूरा गरे ।

सदभावले पहिलो होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक शट खेर फाले र फ्रन्टनाइन इभन पार ३४ मा टुंग्याए । ब्याक नाइन भने नाटकीय बन्यो । ११ औं होलमा एक शट खेर फाल्दा ५ पारको १३ औं होलमा इगलको सफलता पाए । तर ३ पारको १५ औं होलमा ट्रिपल बोगी खेपे । १७ औं होलमा एक शट बचाए पनि १८ औं होलमा बोगी प्रहार गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित : चैत्र १६, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

४.८६ किलोमिटर सडक स्तरोन्नतिका लागि विश्व बैंकको ५९ करोड सहयोग

सन्जु पौडेल

तिलोत्तमा — विश्व बैंकको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तरोन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुरदेखि कान्छी बजार जोड्ने सडकका लागि विश्व बैंकले सघाएको हो । उक्त सडकखण्डको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । 

४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गरेका हुन् । सो कार्यक्रममा बोल्दै विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएकोमध्ये तिलोत्तमा नगरपालिकाले काम सुरु गरेकोप्रति खुसी व्यक्त गरे । उनले कृषि उत्पादन र बजारीकरणका लागि सहजता होस् भन्ने उद्देश्यले ऋण सहयोग गरेको बताए ।

नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने गरी काम भइरहेको बताए । यो सडकले त्यस क्षेत्रका व्यक्तिलाई आर्थिक उपार्जनमा जोड्ने बताए । कृषिलाई आर्थिक विकाससँग जोडेर बाटो बनाउन विश्व बैंकले सहयोग गरेको छ,’ उनले भने, ‘निर्माण सम्पन्न हुनका लागि स्थानीयको समेत सहयोगको आवश्यकता छ । उनले बजारका सहरी सडकजस्तै सडक बन्ने बताउँदै कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सिमानाका पुग्न सहजता र आन्तरिक पर्यटक भित्र्याउनका लागि निकै महत्त्वपूर्ण सावित हुने बताए । खाँणले अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहे पनि अझै १.२ किलोमिटर थप्ने पहल गरेको बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७ देखि ९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताइन् । उनले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरिन् ।

तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गतेदेखि सम्झौता सुरु भएको बताए । उनले अहिलेसम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले साइट क्लियरेन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्नेलगायत काम भइरहेको बताए ।

नेपाल अर्बन गभरमेन्स एन्ड इन्फास्ट्रक्चर प्रोजेक्टअन्तर्गत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ५९ करोड ३ लाख ८ हजार ८ सय ९० रुपैयाँमा शर्मा सगुन जेभी बुटवलले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिए । उनका अनुसार सडकको चौडाई १३ मिटरसम्म हुनेछ । नालीमाथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुनेछन् ।

नेपाल अर्बन गभरमेन्स एन्ड इन्फास्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताउँदै यसको नियमित निरीक्षण र अनुगमन आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित : चैत्र १६, २०७९ १९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×