उपाधिमा एपीएफको ह्याट्रिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनको मद्दतले एपीएफले बिहीबार लगातार तेस्रोपल्ट ललितपुर मेयर्सकप वुमेन्स ट्वा-ट्वान्टीको उपाधि जितेको छ । 

लगातार तेस्रोपल्ट च्याम्पियन हुने क्रममा उसले कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो । कीर्तिपुरको टीयू मैदानमा पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १ विकेटमात्र गुमाएर १ सय ५४ रन बनाएको थियो । त्यसमा सीताले ६८ बलमा ७९ रनको उत्कृष्ट प्रदर्शन गरिन् र नटआउट रहिन् । उनले ६८ बलको सामना गरेर ९ चौका तथा २ छक्का प्रहार गरिन् । उनी नै खेलका ‘प्लयेर अफ द म्याच’ रहिन् । उनलाई इन्दु वर्माले पनि बलियो साथ दिइन् । इन्दुले ४१ बलमा नटआउट रहेर ५१ रन बनाइन् ।

उनको इनिङ्समा ५ चौका र १ छक्का सामेल थियो । उनीहरूले दोस्रो विकेटका लाग १ सय ३६ रनको साझेदारी गरे । आउट हुने एक्ली ब्याटर ज्योति पाण्डेले २ रन बनाइन् । त्यसको जवाफमा कोशीले ६ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुबिना क्षेक्रीले बनाएको ३५ रन नै सर्वाधिक ठूलो व्यत्तिगत स्कोर रह्यो ।

उनले ४१ बलको सामना गरेर ४ चौका प्रहार गरिन् । उनीपछि लकिता राजवंशीले २१ रन बनाइन र नटआउट रहिन् । एपीएफका लागि विनु बुढाले २ तथा रेखा रावल, सोनु खड्का र नेरी थापाले १/१ विकेट लिए ।

प्रकाशित : चैत्र १६, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

थ्री नेसन्सकप : नेपाल र लाओस दुवै उत्साहित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री थ्री नेसन्सकपमा शुक्रबार नेपाल र लाओस भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल औपचारिक मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल भने हुनेछैन । तर‚ दुवै टिम उपाधि जित्नका लागि उत्तिकै उत्साहित छन् । फाइनलको अघिल्ला दिन प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने दाबी गरे ।

तीन टिम सम्मिलित प्रतियोगिताको लिग चरणको समाप्तीमा नेपालले अपराजित रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले लाओसलाई २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २-१ ले पराजित गरेको थियो । ‘फिफा विन्डो’ को समय बाहिर हुन लागेको खेल हुनाले फाइनल अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतिस्पर्धा नभएको हो ।

नेपाली टिमका प्रशिक्षक भिन्सेन्सो अल्बर्टोले भनेका छन्, ‘फाइनलको आफ्नै महत्त्व छ र त्यसको नतिजाको अर्थ हुनेछ । हामी शारीरिक र मानसिक रूपमा यस खेलका लागि तयार छौं । मलाई विश्वास छ, फाइनल निकै रोमाञ्चक हुनेछ । आखिलमा फाइनल भनेको फाइनल नै हो । हामी सबै यसको प्रतीक्षामा छौं ।’

उनको समकक्षी माइकल वाइसको पनि उस्तै प्रतिक्रिया रहेको छ । उनी भन्छन्, ‘यो फाइनल हो, त्यसैले यसको अलग महत्त्व हुनेछ । म धेरै कुरा गर्दै ठूला दाबी गर्ने प्रशिक्षक होइन । मैदानमा जे हुन्छ, त्यसको मात्र अर्थ हुन्छ । त्यसैले हामी मैदानमा आफ्नो खेल देखाउन चाहन्छौं ।’

दोहोरो पहेँलो कार्डका कारण नेपालका लागि पुजन उपरकोटीले फाइनल खेल्न पाउनेछैनन् । यस्तै चोटका कारण अञ्जन विष्टले खेल्न सम्भावना पनि कम रहेको छ । यसअघि लाओसको तीन पल्ट सामना गरेकोमा नेपाल दुईमा विजयी रहेको छ भने एक खेल बराबरीमा टुंगेको छ ।

प्रकाशित : चैत्र १६, २०७९ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×