१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विराट गोल्डकप : दुवैको इतिहास रच्ने दाउ

आयोजक विराटनगर सिटीलाई ६ दशकपछि घरेलु भूमिमा गोल्डकप जित्ने अवसर, फाइनल चुनौती भारतीय क्लबसँग
विनोद भण्डारी

विराटनगर — सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बिहीबार साँझ फ्लडलाइटमा सहिद मैदानमा उत्रँदा आयोजक विराटनगर सिटी र भारतको लुका सकर केरलाको मुख्य उद्देश्य उद्देश्य उपाधि जित्ने नै हुनेछ ।

विराट गोल्डकप : दुवैको इतिहास रच्ने दाउ

दुवैका लागि विराट गोल्डकप पहिलो हुनेछ । चुनौतीपूर्ण प्रतिस्पर्धालाई आफ्नो पक्षमा पारेर इतिहास रच्ने मौका दुवैलाई छ । त्यो हो आयोजक विराटनगर सिटीको ६ दशकघरेलु मैदानमा उपाधि उचाल्ने र केरलालाई विदेशी भूमिमा पहिलो उपाधि हत्याउने । केरलाको यो सहभागिता विदेशी भूमिमा पहिलो हो ।

महेन्द्र गोल्डकपको नामबाट २०१८ सालदेखि २९ औं पटक सञ्चालन भएको यो प्रतियोगिताले २०६८ देखि विराट गोल्डकपको नाममा सातौं वार्षिक यात्रा गर्दै छ । २०६२/६३ को राजनीतिक परिवर्तनपछि महेन्द्र गोल्डकपको नाम हटाएर विराट गोल्डकप ट्रस्ट स्थापना गरी यो प्रतियोगितालाई निरन्तरता दिइएको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । त्यसयता आयोजकले आफ्नै मैदानमा कुनै संस्करणको फाइनल यात्रासमेत गरेको छैन । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले बुधबार प्रि–म्याच कन्फ्रेन्समा भने बिहीबार आयोजकलाई ६ दशकपछि घरेलु भूमिमा उपाधि दिलाउने टिमको मुख्य लक्ष्य हुने बताए । ‘मैदानसँग घरेलु दर्शकको पनि साथ रहनेछ,’ उनले भने, ‘दशकौंपछि इतिहास बनाउने राम्रो अवसर छ ।’

गत वर्षको लिग विजेता मछिन्द्र क्लबका सेटै मैदानमा उतारेको आयोजकले पूर्वविजेता नेपाल पुलिस क्लबलाई १–० र जावलाखेलको चुनौती २–१ गोलले पन्छाउँदै उपाधिको दाबेदारीमा आफूलाई उभ्याएको हो । कप्तान विशाल श्रेष्ठले टिमले घरेलु दर्शकको मन जितिसकेको उल्लेख गर्दै अब उपाधि जित्नमात्र बाँकी रहेको बताए ।

‘विपक्षी टिम बलियो र विदेशी भूमिमा उत्साही पनि रहेकाले उपाधि जित्न पक्कै सहज छैन,’ उनले भने, ‘उपाधिका लागि टिमले हरेक प्रयत्न गर्नुको विकल्प छैन ।’ आयोजक विराटनगर सिटीबाट अहिले खेलिरहेका अधिकांश खेलाडीले साता अगाडि मोरङको सगरमाथा युथ क्लबाट खेलेर शनिबार इटहरी गोल्डकपको उपाधि जितेका थिए । त्यतिबेलाको प्रतिद्वन्द्वी चर्च ब्वाइज थियो ।

भारत केरला प्रिमियर लिगको पाँचौं स्थानमा रहेको लुका सकरको यो पहिलो विदेश यात्रा हो । लुका सकरले स्वदेशमा अहिलेसम्म गत वर्ष आसामको बुडासा कप र तेजपुर कप जितेको छ । प्रशिक्षक नभास नोकाले भने, ‘हामी विदेशको पहिलो सहभागितामै दर्शकको मनसहित उपाधि जितेर घर फर्कने लक्ष्यमा छौं ।’

उनले टिमका लागि उपाधि जित्नु पक्कै सजिलो नहुने बुझेका छन् । ‘विपक्षी घरेलु टिम चुस्त र बलियो छ, आफ्ना टिमका सामेल स्थानीय एकेडेमीका खेलाडीले राम्रो चुनौती तेर्स्याउनेमा विश्वस्त छु,’ नोकाले भने, ‘केरलाको टिम विराट गोल्डकपजस्तो प्रतिष्ठित उपाधि जित्न आतुर छ, यसअघि यो गोल्डकपको नाममात्र सुनेका थियौं, गोल्डकप नै नामजस्तै विराट रहेछ ।’

उनले यो प्रतियोगितालाई निरन्तरता दिन आयोजकलाई आग्रह पनि गरे । लुका सकरले विराट गोल्डकपको उपाधिको दाबेदारी प्रस्तुत गर्नेक्रममा पूर्वविजेता संकटाको चुनौती टाइब्रेकरमा ८–७ गोलले र साबिक विजेता एपीएफ क्लबलाई पनि टाइब्रेकरमै ४–२ गोलले पछार्दा टिमका खेलाडीको मनोबल उच्च छ ।

‘क्लबले स्वदेशी भूमिमा यति ठूलो र गरिमामय टुर्नामेन्ट अहिलेसम्म खेलेको थिएन,’ टिमका कप्तान मोहमद अर्सादले भने, ‘विदेशी भूमिमा विराटनगरको यो उपाधि जितेर भारतमा आफनो क्लबको प्रतिष्ठा पनि उच्च बनाउने र नेपाली दर्शकको मनमा बस्ने खेलाडी र टिमको लक्ष्य छ ।’

लुका सकरका खेलाडीले संकटा र एपीएफविरुद्धको जितेपछि विराटनगरका दर्शकप्रति दर्शाएको आदर, माया र आत्मीयताले स्थानीय रैथानेको मन जित्न सफल भएको छ । आयोजक, तीन विभागीय टोली र दुई ए डिभिजन क्लबसहित भारतका दुई तथा भुटानको एक टिमले भाग लिएको रात्रिकालीन यो प्रतियोगिताको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने सहसंयोजक सुवाशीष कोइरालाले बताए । करिब अढाइ करोड लागत रहेको प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?