जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

जुम्ला — कर्णालीको पर्यटन प्रवर्द्धनका लागि वैशाख ११ मा जुम्ला–रारा अल्ट्रा म्याराथन दौड गरिने भएको छ । सदरमुकाम खलंगाको शून्य प्वाइन्ट चन्दननाथ मन्दिरदेखि रारातालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन हुनेछ ।

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

आयोजक कर्णाली स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरी लोकतन्त्र दिवसको अवसरमा म्याराथन गरिने जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने बताए । उनका अनुसार खलंगादेखि सुरु भएर डाँफेलेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै रारातालको छेउ हुटुमा पुग्नेछ ।

विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुनेलाई २०–२० हजार पाउनेछन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर तथा एभरेस्ट म्याराथन ह्याट्रिककर्ता हरिबहादुर रोकायको संरक्षणमा म्याराथन हुन लागेको हो । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र खेलकुदमहत्वबारे जनचेतना अभिवृद्धि गराएर खेलसंस्कृतिको जगाउन म्याराथन गर्न लागिएको धावक रोकायले बताए । ‘विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकुद प्रतियागिता गर्नेमध्ये जुम्ला पनि उच्च सम्भावना भएको जिल्ला हो,’ उनले भने ।

यसै इभेन्टका अहिलेसम्म तीनवटा संस्करण भइसकेका छन् । हरेक प्रतियोगितामा ३ सयदेखि ४ सयको हाराहारीमा देशभरिका साथै बेलायत, नेदरल्यान्ड्स, भारत, इटाली, अमेरिकालगायत देशका खेलाडी सहभागी भएका थिए । चौथो संस्करणमा झन्डै २ हजार खेलाडी सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७९ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?