एपीएफलाई हराउँदै केरलाको लुका सकर विराट गोल्डकपको फाइनलमा

विनोद भण्डारी

विराटनगर — साविक विजेता एपीएफलाई टाईब्रेकरमा हराउँदै भारत केरलाको लुका सकर फुटबल क्लब पहिलो सहभागितामै सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मंगलबार सहिद मैदानको फ्लड लाइटमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित भएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गर्दा लुका सकरको पक्षमा ४–२ गोलको नतिजा निस्कियो ।

केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा रहेको लुका सकरले जितसँगै २० लाख १५ हजार रुपैयाँ पुरस्कार राशिका लागि बिहीबार आयोजक विराटनगर सिटीसँग प्रतिस्पर्धा गर्ने छ । उपविजेताले १० लाख १५ हजार पाउने छ । केरलाले क्वाटरफाइनलमा पनि संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । विराटनगरले जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि यात्रा गरिसकेको छ ।

टाईब्रेकरमा केरलाका लागि पाउल ओपार, अश्विन लालु, मोहमद रफि र कार्लेसको प्रहार गोलमा परिणत हुँदा कियामुव हेफनको प्रहारलाई एपीएफका गोलकिपर राजु नगरकोटीले रोकेका थिए । विशाल स्याङ्तान र गोलकिपर राजु नगरकोटीको प्रहार विफल हुँदा एपीएफ उपाधि रक्षा गर्न असफल रह्यो । दिपेश धिमाल र सविन गुरुङको प्रहारमात्र गोलमा परिणत भएको थियो । नगरकोटीको प्रहार पोष्टको माथिल्लो वारमा लागेर फर्किएको थियो भने टिमका तर्फबाट विशालले गरेको पहिलो प्रहारलाई केरलाका गोलरक्षक सनफेनले उत्कृष्ट रोकेर टिमलाई उपाधि यात्रामा पुर्‍याए । उनी खेलको म्यान अफ द म्याच हुँदै ११ हजार पुरस्कार थापे ।

विपक्षीलाई दबाबमा राखेर खेलेकको एपीएफले निर्धारित र अतिरिक्त समयमा दर्जन बढी बुनेको पोष्ट आक्रमणमा गोल गर्न चुक्दा खेलको निर्णय टाईब्रेकरबाट गर्नु परेको थियो । खेलको ९ औं मिनेटमा एपिएफका हरि कार्कीको कर्नर भलीमा अर्मान्द बेडमले गरेको हेडिङ पोष्ट बाहिरिँदा गोलको अवसर गुमाउँदा उसको दुर्भाग्यको संकेत देखा परेको थियो । त्यसबेला केरलाका गालकिपर मोहमद सनफेर पोष्टको विपक्षी क्षेत्रमा बिट भएका थिए ।

१४ औं मिनेटमा एपीएफका पेपेको क्रसमा बुद्धिमान राईले डिबक्सबाट गरेको सशक्त प्रहारलाई केरलाका गोलकिपर सनफेनले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।

केरलाले खेलको पहिलो हाफमा एक पटकमात्र पोष्ट आक्रमण गरेर डिफेन्स खेलेको थियो । उसकका एकमल सानले ४० औं मिनेटमा गरेको पोष्ट आक्रमण बाहिरिएको थियो ।

खेलको ६० मिनेटमा एपीएफका पोउटको प्रहारलाई केरलाका गोलकिपर सनफेनले क्याच गर्ने क्रममा ड्रप भएको बललाई युवराज खड्काले टच गर्न नसक्दा एपीएफले गोलको उत्कृष्ट अवसर गुमाएको थियो । ७३ औं मिनेटमा सविन थापाको पासमा युवराजले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार पोष्ट माथिवाट बाहिरिँदा निर्धारित समयमा एपीएफले अग्रता लिने अवसर गुमाएको थियो ।

केरला प्रिमियर लिगको पाँचौ स्थानमा रहेको लुका सकरले दोस्रो हाफमा पनि एक पटकमात्र पोष्ट आक्रमण बुन्यो । उसको पाउल ओपारले ६९ औं मिनेटमा पेनाल्टी क्षेत्रमा दिएको क्रसलाई अकम सनको प्रहार पोष्ट बाहिरिँदा गोलको अवसर गुमेको थियो । त्यसलगत्तै छितिजले ३० यार्डबाट गरेका प्रहार पोष्ट बाहिर जाँदा खेल अतिरिक्त समयपछि टाईब्रेकरमा धकेलिएको थियो ।

प्रकाशित : चैत्र १४, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी चार क्रिकेटर सम्मानित

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारले प्रदेशका चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नै कार्यकक्षमा नगदसहित सम्मान गरेको हो । मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पुर्‍याउने चार खेलाडीलाई प्रतिव्यक्ति ५० हजार प्रदान गरेको हो ।

सम्मानित हुनेमा राष्ट्रिय टोलीका करण केसी र यू–१९ का दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाल छन् । एकदिवसीय विश्वकपको ‘क्वालिफाइड’ पुग्न सफल राष्ट्रिय टोलीका करण र यू–१९ विश्वकपमा पुर्‍याउन सफल भएवापत दीपक, सुवास र अर्जुनलाई सम्मानित गरिएको सामाजिक विकासमन्त्री पञ्चराम गुरुङले बताए । करण बाग्लुङ नगरपालिका–८ सिंगानाका हुन् । उनी भारतमा क्रिकेट सिकेर नेपालमा खेल्न आएका थिए । ‘नेपालमा क्रिकेट खेलिन्छ भन्ने थाहा थिएन,’ करण सम्झन्छन, ‘सानैदेखि भारत हुर्किएको म, नेपालबाट विदेश जान सजिलो हुन्छ भनेर नेपाल आएको थिएँ । नेपाल आएपछि एक वर्ष क्रिकेट सिकें र प्रतियोगिताहरूमा सहभागी भएँ ।’

स्याङ्जाको वालिङ घर भएका दीपक डुम्रे हाल पूर्वी नवलपुरको बर्दघाट बस्छन् । यस्तै, सुवास पनि बाग्लुङ काठेखोला हुन् । अर्जुन भने पोखरा–६ बैदाम बस्छन् । पुख्यौली घर गुल्मी भए पनि उनको परिवार पोखरा नै बस्दै आएको र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतियोगिताहरूमा सहभागी हुने गरेको मन्त्रालयका खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले बताए । तीनै जना खेलाडी प्रत्येक वर्षमा आयोजना गरिने प्रधानमन्त्री कप खेल्दै राष्ट्रिय टोलीमा पुगेका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी सम्मान गर्दै उनीहरूको हौसलाका लागि सम्मानले महत्वपूर्ण हुने बताए । ‘सम्मानस्वरुप हामीले सुधामाको कनिका पस्किएका हौं,’ उनले भने, ‘खेलाडी हाम्रो गहनामात्र होइन सम्पत्ति पनि हो । उमेरले पनि साना तपाईहरूले सारा नेपालीको मन जित्नुभएको छ । आगामी दिनमा नेपालको शिर सगरमाथाजस्तै उँचो राख्नुस ।’ सामाजिक विकास मन्त्री गुरुङले पोखरालाई पर्यटनसँगै खेलकुद हव बनाउन सरकार लागिपरेको बताए । उनले आगाभी दिनमा क्रिकेट खेलकै नेतृत्व गण्डकी प्रदेशले लिने गरी अघि बढ्न शुभेच्छा व्यक्त गरे । उनले खेलाडीको माग अनुसार पूर्वाधार निर्माण गर्दै सरकारले खेलमैदान बनाउने प्रयास गरेको बताए । सम्मानित क्रिकेट खेलाडीले वैकल्पिक क्रिकेट मैदान निर्माणको लागि सरकारसमक्ष माग गरेका छन् । ‘खेलाडी उत्पादन गर्न सरकारी तवरबाटै सहयोग आवश्यक छ,’ करण भन्छन् ।

पूर्व खेलाडीसमेत रहेका क्रिकेट संघका देवेन प्रजुले पोखरामा भइरहेको क्रिकेट मैदानमा अभ्यास गर्न नमिल्ने बताउँदै खेलाडीलाई अभ्यासको लागि वैकल्पिक खेलमैदान चाहिने बताए । उनले भने, ‘पर्यटनमा मात्र होइन, हाम्रो गण्डकी खेलाडी उत्पादनमा पनि अगाडि छ,’ उनले भने, ‘खेलाडीको संरक्षण गर्न पनि पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’

प्रकाशित : चैत्र १४, २०७९ २१:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×