गण्डकी चार क्रिकेटर सम्मानित

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारले प्रदेशका चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नै कार्यकक्षमा नगदसहित सम्मान गरेको हो । मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पुर्‍याउने चार खेलाडीलाई प्रतिव्यक्ति ५० हजार प्रदान गरेको हो ।

सम्मानित हुनेमा राष्ट्रिय टोलीका करण केसी र यू–१९ का दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाल छन् । एकदिवसीय विश्वकपको ‘क्वालिफाइड’ पुग्न सफल राष्ट्रिय टोलीका करण र यू–१९ विश्वकपमा पुर्‍याउन सफल भएवापत दीपक, सुवास र अर्जुनलाई सम्मानित गरिएको सामाजिक विकासमन्त्री पञ्चराम गुरुङले बताए । करण बाग्लुङ नगरपालिका–८ सिंगानाका हुन् । उनी भारतमा क्रिकेट सिकेर नेपालमा खेल्न आएका थिए । ‘नेपालमा क्रिकेट खेलिन्छ भन्ने थाहा थिएन,’ करण सम्झन्छन, ‘सानैदेखि भारत हुर्किएको म, नेपालबाट विदेश जान सजिलो हुन्छ भनेर नेपाल आएको थिएँ । नेपाल आएपछि एक वर्ष क्रिकेट सिकें र प्रतियोगिताहरूमा सहभागी भएँ ।’

स्याङ्जाको वालिङ घर भएका दीपक डुम्रे हाल पूर्वी नवलपुरको बर्दघाट बस्छन् । यस्तै, सुवास पनि बाग्लुङ काठेखोला हुन् । अर्जुन भने पोखरा–६ बैदाम बस्छन् । पुख्यौली घर गुल्मी भए पनि उनको परिवार पोखरा नै बस्दै आएको र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतियोगिताहरूमा सहभागी हुने गरेको मन्त्रालयका खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले बताए । तीनै जना खेलाडी प्रत्येक वर्षमा आयोजना गरिने प्रधानमन्त्री कप खेल्दै राष्ट्रिय टोलीमा पुगेका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी सम्मान गर्दै उनीहरूको हौसलाका लागि सम्मानले महत्वपूर्ण हुने बताए । ‘सम्मानस्वरुप हामीले सुधामाको कनिका पस्किएका हौं,’ उनले भने, ‘खेलाडी हाम्रो गहनामात्र होइन सम्पत्ति पनि हो । उमेरले पनि साना तपाईहरूले सारा नेपालीको मन जित्नुभएको छ । आगामी दिनमा नेपालको शिर सगरमाथाजस्तै उँचो राख्नुस ।’ सामाजिक विकास मन्त्री गुरुङले पोखरालाई पर्यटनसँगै खेलकुद हव बनाउन सरकार लागिपरेको बताए । उनले आगाभी दिनमा क्रिकेट खेलकै नेतृत्व गण्डकी प्रदेशले लिने गरी अघि बढ्न शुभेच्छा व्यक्त गरे । उनले खेलाडीको माग अनुसार पूर्वाधार निर्माण गर्दै सरकारले खेलमैदान बनाउने प्रयास गरेको बताए । सम्मानित क्रिकेट खेलाडीले वैकल्पिक क्रिकेट मैदान निर्माणको लागि सरकारसमक्ष माग गरेका छन् । ‘खेलाडी उत्पादन गर्न सरकारी तवरबाटै सहयोग आवश्यक छ,’ करण भन्छन् ।

पूर्व खेलाडीसमेत रहेका क्रिकेट संघका देवेन प्रजुले पोखरामा भइरहेको क्रिकेट मैदानमा अभ्यास गर्न नमिल्ने बताउँदै खेलाडीलाई अभ्यासको लागि वैकल्पिक खेलमैदान चाहिने बताए । उनले भने, ‘पर्यटनमा मात्र होइन, हाम्रो गण्डकी खेलाडी उत्पादनमा पनि अगाडि छ,’ उनले भने, ‘खेलाडीको संरक्षण गर्न पनि पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’

प्रकाशित : चैत्र १४, २०७९ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्

सूर्य नेपाल च्यालेन्ज : रविको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — सूर्य नेपाल च्यालेन्ज गल्फको पहिलो दिन मंगलबार रवि खड्का अग्रता बनाएका छन् । ५ अन्डर ६३ को उत्कृष्ट कार्ड बनाएका रविले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा सुरु भएको हो । ४ अन्डर ६४ सहित दिनेश दोस्रोमा छन् । भुवन नगरकोटी र दीपक थापा मगरले २ अन्डर ६६ मा संयुक्त तेस्रो स्थान ओगटे । उनीहरू लिडर रविभन्दा ३ स्ट्रोकले पछि छन् । १ अन्डर ६७ को स्कोरमा प्रो भुवनकुमार रोक्का तथा एमेच्योरद्वय सुवास तामाङ र सुरेश तामाङ पाँचौं स्थानमा‌ छन् ।

भेट्रान गल्फर रामे मगरले इभन पार ६८ सहित आठौं स्थानमा पहिलो १८ होलको खेल सकेका थिए । १ ओभर ६९ मा प्रो धनबहादुर थापा र शिवराम पौडेल तथा एमरच्योरद्वय युवराज भुजेल र सद्भव आचार्यले संयुक्त नवौं स्थान बाँडे ।

रविले सानदार सुरुआत गर्ने क्रममा पहिलो होलमा बर्डी प्रहार गरे भने ५ पारको चौथो होलमा इगलको सफलता पाए । जसले गर्दा फ्रन्टनाइन ३ अन्डर ३१ मा सकाए । यसपछि १०, १७ र १८ औं होलमा एक–एक शट बचाउँदा १६औं होलको बोगीले ब्याकनाइन २ अन्डर ३२ मा पूरा गरे ।

दिनेशले बोगीरहित कार्ड बनाए । चौथो र पाँचौं होलको बर्डीले फ्रन्टनाइन २ अन्डर ३२ मा पूरा गरे । यसपछि १० र १३ औं होलमा पनि एक–एक शट बचाउँदै ब्याकनाइन पनि २ अन्डर ३२ मा टुंग्याए ।

भुवनले तेस्रो होलको बोगीविरुद्ध चौथो र आठौं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइन १ अन्डर ३३ मा टुंग्याए । यसपछि १० र १३ औं होलमा बर्डीको सफलता पाए । १७ औं होलको बोगीले ब्याकनाइन पनि १ अन्डर ३३ मा पूरा गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी ७२ होलको प्रतियोगितामा ३६ होल समाप्तिमा कट हुनेछ । जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलका लागि स्थान बनाउने छन् । प्रतियोगितामा ८ एमेच्योरसहित ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

कुल ५ लाख ४५ हजार पुरस्कार राशिको प्रतियोगिता विजेताले १ लाख, दोस्रोले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ मा पर्ने व्यावसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌ ।

प्रकाशित : चैत्र १४, २०७९ २१:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×