सूर्य नेपाल च्यालेन्ज गल्फ : आरएनजीसीमा उत्कृष्ट प्रदर्शन अपेक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२२–२३ को छैटौं प्रतियोगिताको रूपमा सूर्य नपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ, जहाँ प्रो–एमेच्योर गल्फरबाट उत्कृष्ट प्रदर्शन अपेक्षा गरिएको छ ।

चारदिने ७२ होलको प्रतियोगितामा व्यावसायिक गल्फर (प्रो) ३० र एमेच्योर ८ गरी ३८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले सोमबार जनाएको छ । नम्बर एक प्रो शुक्रबहादुर राई भने प्रोफेसनल गल्फ टुर अफ इन्डिया–पीजीटीआईको प्रतियोगितामा सहभागी हुने क्रममा भारतमै भएकाले सूर्य नेपाल च्यालेन्ज नखेल्ने एनपीजीएका महासचिव दीपक आचार्यले बताए ।

शुक्र कर्णाटक गल्फ संघको बैंगलुरुस्थितमा कोर्समा आइतबार सम्पन्न डन्कन टेलर ब्ल्याक बुल च्यालेन्जमा २ अन्डर २८६ खेल्दै ५७ औं स्थानमा रहेका थिए । युरोपियन टुरकै कार्यक्रम च्यालेन्ज टुर पीजीटीआईअन्तर्गत ३ लाख अमेरिकी डलर पुरस्कारको अर्को प्रतियोगिता ‘द च्यालेन्ज २०२३’ खेल्न पाउने आशामा उनी बैंगलुरुमै छन् ।

अघिल्लो साता गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल सेन्ट्रल ओपनमा २३ अन्डर २६५ को उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी चुम्दा शुक्रले समिम खानको १५ वर्ष पुरानो चार दिने प्रतियोगितामा कीर्तिमान स्कोर बराबरी गरेका थिए । त्यसक्रममा उनले दोस्रो चरणमा ११ अन्डर ६१ खेल्दै नयाँ कीर्तिमान (१८ होलमा सबैभन्दा राम्रो प्रदर्शन) पनि बनाएका थिए ।

उनको अनुपस्थितिमा एमेच्योरद्वय सुभाष तामाङ र सद्भव आचार्यसँगै डिफेन्डिङ च्याम्पियन भुवन (उमेश) नगरकोटी, गत वर्षको उपविजेता जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्कालगायतले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सुभाष र सद्भवले गत साता ढाकामा भएको ३६ औं बंगलादेश ओपन एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम स्पर्धाको स्वर्ण पदक दिलाएका थिए ।

‘नम्बर एक खलाडी नभए पनि अरू ३–४ खेलाडी कुनै पनि बेला राम्रो नसक्ने देखिएको छ,’ पूर्वनम्बर एक प्रोसमेत रहेका आचार्यले भने, ‘टुरमा खारिँदै आएर खेलाडीहरूको प्रदर्शन राम्रो देखएको छ ।’

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, ‘सेन्ट्रल ओपनमा खेलाडीहरूले राम्रो प्रदर्शन गरेका थिए । कीर्तिमान बनाएका थिए । आरएनजीसीको कोर्स अवस्था राम्रो छ र यहाँ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेका छौं ।’

कुल ५ लाख ४५ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा विजेताले १ लाख, उपविजेताले ६५ हजार, तेस्रोले ४६ हजार, चौथोले ३८ हजार र पाँचौं हुनेले ३४ हजार पाउनेछन् । ३६ होलको खेलपछि शीर्ष २१ प्रो र उत्कृष्ट ६ एमेच्योर ‘कट’ बनाएर अन्तिम दुई चरण (३६ होल) का लागि छनोट हुनेछन् । कट बनाउने प्रोले कम्तीमा १० हजार पुरस्कार हात पार्ने छन् ।

प्रकाशित : चैत्र १३, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

जावलाखेललाई हराउँदै आयोजक विराटनगर फाइनलमा

विनोद भण्डारी

विराटनगर — आयोजक विराटनगर सिटी सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद मैदानको फ्लड लाइटमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरले जावलाखेल यूथ क्लबलाई २–१ गोलले निराश गर्दै उपाधिको दावेदारी प्रस्तुत गरेको हो ।

विराटनगरले लुका सकर कोलकाता र एपीएफ बीचको विजेतासँग बिहीबार उपधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार पुरस्कार पाउने छन् ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरका लागि दुबै गोल दोस्रो हाफमा सम्भव भयो । उसका लागि खेलको ६७ औं मिनेटमा स्टेफन र ८७ औं मिनेटमा अविषेक गुरुङले गोल गर्दै टिमलाई उपाधि यात्रा गराए ।

स्टेफनले जाबलाखेलका गोलकिपर अनिल देउलाबाट रिबाउण्ड भएको बललाई पोष्टको दिसा दिएका थिए । विमल धर्तीमगरको प्रहारमा देउलाले पञ्ज गरेर पेनाल्टी क्षेत्रमा फर्काएको बललाई स्टेफनले जाली चुमाएर टिमलाई अग्रता दिलाए । उनी खेलको म्यान अफ द म्याच हुँदै ११ हजार रुपैयाँ हात पार्न सफल भए ।

एक गोलले पछिपरेपछि आक्रामक खेल प्रस्तुत गरेको जावलाखेलले ८६ औं मिनेटमा काउण्टर आक्रामणमा दोस्रो गोल बेहोरेको थियो । जावलाखेलका हिसुव थपलियाको प्रहारलाई विराटनगरका गोलकिपर विशाल श्रेष्ठले पञ्ज गर्दै मैदानमा फर्काएको बललाई विमलले मध्य भागबाट दिएको लामो पासमा अविषेकले ३० यार्डबाट गरेको सशक्त प्रहारमा जावलाखेलका गोलकिपर देउला प्रतिक्रियाविहीन देखिए ।

जावलाखेलका लागि इन्जुरी समयको अन्तिम क्षणमा हिसुव थपलियाले सान्त्वना गोल फर्काएर गोल अन्तर घटाए । उनले फोडेको क्रसलाई सदुपयोग गरेका थिए ।

खेलको २७ औं मिनेटमा विराटनगरका विमलको कर्नर भलीमा जावलाखेलका गोलकिपर देउला बिट भएको स्थितिमा ओलावालको हेडिङ पोष्टमाथिबाट बाहिरिँदा विराटनगरले सुरुवाती अग्रता लिने अवसर गुमाएको थियो । ३३ औं मिनेटमा स्टेफनको पासमा विमलको सटिक प्रहार फ्रेममा नपर्दा अर्को गोलको अवसर खेर गएको थियो ।

खेलको १७ औं मिनेटमा जावलाखेलका सुनिल खड्काले विराटनगरका गोलकिपर विशाललाई बिट गर्न नसक्दा खेलमा अग्रता लिने अवसर गुमाएका थिए । खड्काले वान भर्सेस वानमा गरेको प्रहारलाई विशालले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए । खेलको ५९ औं मिनेटमा विराटनगरका स्टेफनले जावलाखेलका एनकोटोलाई डिबक्स बाहिर फल खेल्दा पाएको फ्रिकिकमा हिसवुको प्राहार पोष्टको माथिल्लो बारमा लागेर मैदानमा फर्कँदा जावलाखेलको र्दूभाग्य देखिएको थियो । त्यसबेला विराटनगरका गोलरक्षक विशाल बिट भएका थिए ।

खेलको ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरिँदा खेलमा फर्कने अवसर गुमेको थियो । लगैत सुनिल खड्काले डिबक्सबाट गरेको सशक्त प्रहार विराटनगरका गोलरक्षक विशालले बचाउ गर्दै टिमको अग्रता कायम राखेका थिए । विराटनगरले २०६८ को विजेता नेपाल पुलिसको र जावलाखेलले आर्मीको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा गरेका थिए । मंगलबार साविक विजेता एपीएफ र भारतको लुका सकर कोलकाताबीच अन्तिम सेमिफइनल खेल हुनेछ ।

प्रकाशित : चैत्र १३, २०७९ २१:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×