मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — मनाङ मर्स्याङ्दी क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा वाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । 

मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे । यता वाग्मतीका लागि सृजन गौतमले एक गोल फर्काए । खेलको ३७औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । वाग्मतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो ।

वाग्मतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्‍यो । मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसाग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३:३० बजे सुरु हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

प्रकाशित : चैत्र १३, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

खिम्ती-लामोसाँघु प्रसारण लाइनमा चट्याङ पर्दा काठमाडौं अन्धकार

कान्तिपुर संवाददाता

काठमाडौँ — खिम्ती-लामोसाँघु प्रसारण लाइनमा चट्याङले क्षति पुर्‍याउँदा काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा बत्ती गएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार केहीबेर अघि चट्याङका कारणले विद्युत् आपूर्ति बन्द भएको हो । 

कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'खिम्ती-लामोसाँघु प्रसारण लाइनमा लाइटनिङका कारण डिस्टर्बेन्स आएको छ । काठमाडौं उपत्यकाका अधिकांश भागमा त्यसका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको छ।'

प्रवक्ता भट्टराईका अनुसार अहिले मर्मत कार्य जारी रहेको छ । कतिबेरमा विद्युत् आपूर्ति सुरु हुन्छ भन्ने यकिनसाथ भन्न नसकिने उनको भनाइ छ ।

खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन राष्ट्रिय प्रसारण लाइन हो । जुन प्रसारण लाइनमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं उपत्यकालगायतका स्थानमा आपूर्ति हुन्छ ।

प्रकाशित : चैत्र १३, २०७९ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×