नेपालले भियतनामसँग छनोट खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसिया छनोटको पहिलो चरणमा भियतनामसँग खेल्ने भएको छ । अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो ।

छनोटमा नेपाल समूह 'सी' मा रहेको थियो । नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन् ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । दुवै खेल साँझ ६ बजे सुरु हुनेछ ।

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ ।

छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — चैत १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा फूलहरुको (फ्लोरा) एक्स्पो हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले ३ दिनसम्म एक्स्पो आयोजना गर्न लागेको हो । आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २४ औं फ्लोरा एक्स्पो गर्न लागिएको बताए ।

पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उनको भनाइ छ । उनका अनुसार एक्स्पोमा ६२ व्यवसायिक, ३ ल्याण्डस्केपिङ १० अफिसियल, ३ प्रतियोगिता प्रदर्शनी र २ वटा फूड स्टलसहित ८० स्टल रहनेछ । मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउबिजन लगायत बिक्री कक्षमा राखिने उनले बताए । उनका अनुसार प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुस्कार समेत प्रदान गरिनेछ ।

एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए । प्रदर्शनीमा सरकारको कुनैपनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको उनको भनाइ छ । प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई १ सय र अन्यलाई १५० रुपैयाँ शुल्क तोकिएको छ ।


प्रकाशित : चैत्र १३, २०७९ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×