यू १७ वुमेन्स साफ च्याम्पियनसीपमा रुससँग नेपाल पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल यू–१७ वुमेन्स साफ च्याम्पियनसीपमा आइतबार रुसको हातबाट ३–० ले पराजित भएको छ । नेपालले पहिलो हाफमा रुसलाई गोलरहित बराबरीमा रोके पनि त्यस्तै प्रदर्शन अर्को हाफमा दोहराउन सकेन् ।

बंगलादेशको ढाकास्थित मुस्तफा कमल स्टेडियममा भएको खेलमा रुसका लागि एलिनाले २ तथा पोलिनाले १ गोल गरिन् ।

आइतबारको पहिलो खेलमा भारतले भुटानलाई सजिलै ९–० ले हराएको थियो । त्यसमा सिल्जी साजी एक्लैले ५ गोल गरिन् ।

कुल पाँच टिम सम्मिलित प्रतियोगितामा रुसको यो लगातार तेस्रो हार हो । र उसको ९ अंक भएको छ । यससँगै रुस शीर्ष स्थानमा छ । त्यसपछि भारत र बंगलादेश ६/६ अंकमा छन् । नेपाल भने ३ अंकमा रहेको छ । भुटान सबै खेलमा पराजित भएर बिना कुनै अंक अन्तिम स्थानमा छ ।


प्रकाशित : चैत्र १२, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

फार वेस्टलाई मेलबर्नमा न्याभ कप

विनोद पाण्डे

मेलबर्न — फार वेस्ट हन्टर्सले आइतबार १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाको भिक्टोरिया प्रान्तमा रहेको नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा फार वेस्टले नारे किंग्सलाई ३ विकेटले पराजित गर्‍यो ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजना, म्याक्सिम्याक एजुकेसन एन्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन र ब्राइटन कलेजको सहप्रायोजनमा मेलबर्नको टीडब्लु ब्लेक मैदानमा भएको फाइनलमा नारे किंग्सले छाडेको लक्ष्य फार वेस्टले ५ बलअगाडि नै पूरा गरेको हो । विजेताले ३ हजार र उपविजेताले १ हजार अस्ट्रेलियन डलर पुरस्कार पाए ।

ओपनर आर्यन विष्ट शून्यमा आउट भए पनि अर्का ओपनर मोहन विष्टले २७ बलमा ४५ रन बनाउँदै फार वेस्टलाई विजय नजिक पुर्‍याए । उनले २ चौका र ५ छक्का प्रहार गरे । निशान्त सिंह ३, नवीन भट्ट १, वासु गिरी १० र कप्तान केशव पन्त ५ रनमा आउट भए । दीपेश विष्टले ३० बलमा ३ चौका प्रहार गरी ३४ रन बनाए ।

सरोज क्षेत्रीले १७ बलमा ११ र प्रदीप कुँवरले ८ रन बनाउँदै फार वेस्टलाई विजय दिलाए । नारे किंग्सबाट कप्तान किरण कँडेलले ३ विकेट लिए । उनले ४ ओभरमा १६ रन खर्चे । अविनाश पौडेल, राजन कँडेल र सुसन सापकोटाले १–१ विकेट लिए ।


यसअघि नारे किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २७ रन बनायो । किरण कँडेल शून्य, अविनाश ४ र हरि सापकोटा ६ रनमा आउट भएपछि दबाबमा आएको नारे किंग्सबाट दिपेन रायमाझी र शिशिर सापकोटाले चौथो विकेटमा ८३ रनको साझेदारी गरे । दिपेन ६२ बलमा ७१ रन बनाई अविजित रहे । उनले ६ चौका र २ छक्का प्रहार गरे । रिटायर्ड हर्ट भएका शिशिरले ३५ बलमा १ चौकासहित २० रन बनाए । सन्देश कँडेल ४ बलमा ६ रन बनाई अविजित रहे । फार वेस्टका उदय सापकोटा र विजय गिरीले १–१ विकेट लिए ।

सेमिफाइलनमा नारे किंग्सले माभन क्रिकेट क्लबलाई ५९ रन र फार वेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई २१ रनले पराजित गरेका थिए । १० साता लामो चलेको प्रतियोगितामा १२ नेपाली समुदायको टोली सहभागी थिए ।

माभन क्रिकेट क्लबका संजोग दाहालले व्यक्तिगत विधामा तीन अवार्ड जित्दै ह्याट्रिक गरे । उनले उत्कृष्ट ब्याटर, फिल्डरसहित प्लेयर अफ द सिरिजको उपाधि जिते । माभनकै अभिनव शाहले उत्कृष्ट बलरको उपाधि पाए । एक्सपर्ट सगरमाथाका सुदीप न्यौपाने उत्कृष्ट विकेटकिपर बने । फेयर प्लेको उपाधि ग्रेस गोर्खालीले पायो ।

विजेता खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, न्याभका अध्यक्ष प्रेमराज उप्रेती, खेलकुद संयोजक दीप चन्द, म्याक्सिम्याक्सका निर्देशक शंकर धरेल, भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (भीएनसीए) का अध्यक्ष सुजित बस्नेतलगायतले पुरस्कृत गरे ।

प्रकाशित : चैत्र १२, २०७९ २०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×