जितपुरसिमरा गोल्डकप : मकवानपुर सेमिफाइनलमा

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा भइरहेको जगदम्बा १३ औं जितपुरसिमरा गोल्डकप अन्तर्गत शनिबार भएको तेस्रो दिनको प्रतियोगतामा ४–३ को जित निकाल्दै मकवानपुर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा मुस्किलले टाईब्रेकरमा उसले जित निकालेको हो ।

जितपुरसिमरा गोल्डकप : मकवानपुर सेमिफाइनलमा

मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । टाईब्रेकरमा खेल धकेलिएपछि निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी गोल गर्दै खेल रोमाञ्चक बनायो ।

मकवानपुरको जितमा टाईब्रेकरमा सञ्जिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । मकवानपुरका अविनाश खड्काको प्रहार भरतपुरका गोल रक्षकले बचाउ गरे । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरे । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरियो । आकाश थापा मगरको प्रहार गोल पोष्टबाट रिबाउन्ड भयो ।

निर्धारित समयको खेलमा मकवानपुरले खेलको १० औं मिनटमै २–० को अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईब्रेकरमा धकेलिएको थियो ।

मकवानपुरले खेलको चौथो मिनटमा सुजन गुरुङको गोलबाट अग्रता बनाएको थियो । भरतपुरका गोल रक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल बिट गर्दै करिब ३० यार्ड परबाट सुजनले गोल गरेका थिए ।


१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको १० औं मिनटमा अग्रता दोब्बर बनायो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले सुइँको पनि पाएनन् । ३३ औं मिनटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काएका थिए । मकवानपुरका सञ्जिव अर्यालले फउल गरेपछि पाएको फ्री–किकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ गर्दै गोलमा परिणत गरेका थिए ।

खेलको ५५ औं मिनटमा सजिन थापा मगरले भरतपुरका लागि बराबरी गोल गरे । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट आकर्षक गोल गरे । दर्शकले खचाखच भरिएको मैदानमा प्रतियोगीहरु रोमाञ्चक खेल खेलेका थिए । निर्धारित ९० मिनटको खेल बराबरी खेलेका दुवै टिमले अतिरिक्त समयको ३० मिनेट जितका लागि संघषपूर्ण खेल खेले ।

अतिरिक्त समयको पाँचौं मिनटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोलबाट ३–० को अग्रता बनाएको थियो । गोल लाइनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जाली चुमेपछि मकवानपुरका समर्थक उत्साहित बनेका थिए ।

मकवानपुरको अग्रतालाई भरतपुरका सुनील श्रेष्ठले अतिरिक्त समयको १५ औं मिनटमा बराबरीमा ल्याएका थिए । सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका सुनिलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशा दिएका थिए ।

सुरुवाती दबाबलाई झेल्दै उत्कृष्ट प्रदर्शन गरेको भरतपुर प्रतियोगिताबाट बाहिरिए पनि घरेलु दर्शकको मन जित्न सफल भयो । प्रि–क्वाटरमा आयोजकलाई पराजित गरेको भरतपुरको समर्थनमा दर्शकहरु हुटिङ गरिरहेका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?