क्यामरुन टिमलाई कोहलपुर गोल्डकप

नेपालगन्ज — कोहलपुरमा आयोजित प्रथम कोहलपुर गोल्डकप फुटबलको उपाधि विदेशी क्लब क्यामरुनले जितेको छ । कोहलपुरको दशबिगामा भएको फाइनलमा ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० ले पराजित गर्दै क्यामरुनी टिमले उपाधि जितेको हो । क्यामरुनीका रिचर्ड विल्सनले ३४ औ मिनेटमा पहिलो गोल र मोसेस टुइम ४३ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

दशर्कको बाक्लो उपस्थितिले फाइनलको रौनक बढेको थियो । मैदानमा नअटाएपछि रुख र मोटरसाइललमा चढेर दर्शकले खेल हेरे ।
प्लेयर अफ द टुर्नामेन्ट ब्वाइज युनियन क्लबका हरि कठायतले भए । उनले ५७ हजार प्राप्त गरे । बेस्ट गोलकिपर ब्वाइज युनियनका मनोज परियार, बेस्ट डिफेन्स ब्वाइज युनियनकै मनोज श्रेष्ठ, बेस्ट मिडफिल्डर क्यामरुनका जिओ एस्ल्डोले जनही १० हजार प्राप्त गरे ।
विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।गोल्डकपमा सहभागी हुने टिमलाई १ लाख २० हजार दिइएको आयोजक रेसिङ सहारा क्लबका महासचिव नवकिरण शाहले बताए । पहिलो पटक यति ठुलो फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गरिएको क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।
‘दर्शकको आकर्षण र हौसलाले थप उत्साही भएका छौ,’ उद्घाटनदेखि फाइनलसम्म हजारौं दर्शकको सहभागिताले प्रतियोगिता सफल भएको मानेका छौं,’ आयोजक रेसिङका टिम प्रशिक्षक जनक केसीले भने, ‘फुटबलको क्रेज कति छ भन्ने यो प्रतियोगिताले देखाएको छ ।’ चैत ४ देखि सुरु गोल्डकपमा ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित : चैत्र ११, २०७९ २१:४५