२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पुलिस क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी — धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विदेशी टोली जर्जियन क्लबलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पुलिस क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी रंगशालामा प्रतियोगिताको तेस्रो दिनको खेलमा पुलिस क्लबले भारत दार्जिलिङको जर्जियन फुटबल क्लबलाई टाइ ब्रेकरको पेनाल्टी सुटआउटमा ३ - ० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीले गोल गरेका हुन् । पेनाल्टीमा जर्जियनका लागि प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल हुन पुग्दा पुलिस क्वार्टरफाइनलमा प्रवेश गर्‍यो ।

शनिबारको खेलको निर्धारित समयमा दुबै टिम १-१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । खेलको आर्ठौ मिनेटमै पुलिसका मनोज राईको आत्मघाती गोलमा जर्जियनले अग्रता लिएको हो । खेलको ४२ औं मिनेटमा पुलिसका भोला सिलवालले गोल गर्दै खेल बराबरीमा ल्याएपछि बाँकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटसम्म पुगेको हो ।

आइतबार फ्रेण्ड्स क्लब र थ्री स्टारबीच क्वार्टरफाइनल खेलको प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशिको छैठौ संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकसहित प्रतियोगितामा ए डिभिजनका ६, विदेशी टोली २ र मोफसलको १ गरी १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अनुसार चैत ९ गते सुरु भएको प्रतियोगिता चैत १८ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : चैत्र ११, २०७९ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?