एलडीबीए बास्केटबल आइतबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर जिल्ला बास्केटबल संघ (एलडीबीए) को आयोजनामा एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ ।

प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष शरद विष्टले जनाएका छन् । प्रतिस्पर्धी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । प्रत्येक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

सहभागी टिममा आर्मी र टाइम्सका ३–३ टिम, गोल्डेनगेट, कीर्तिपुर, अक्सब्रिज र नखिपोट युथ क्लबका २–२ टिम, विशाल मिलन केन्द्र (बीएमके), पीवाईसी, केसीएम, फेमिली, अन्डरडग्स, विराटनगर, धरान, शंकरदेव, भनीमण्डल र माम्बा छन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने दुईदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा हुनेछ । प्लाटिनम, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डीएभी, ८८४८ बेसक्याम्प, काठमान्डोग र ब्रान्डहाउसले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

पुलिस क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विदेशी टोली जर्जियन क्लबलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा प्रतियोगिताको तेस्रो दिनको खेलमा पुलिस क्लबले भारत दार्जिलिङको जर्जियन फुटबल क्लबलाई टाइ ब्रेकरको पेनाल्टी सुटआउटमा ३ - ० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीले गोल गरेका हुन् । पेनाल्टीमा जर्जियनका लागि प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल हुन पुग्दा पुलिस क्वार्टरफाइनलमा प्रवेश गर्‍यो ।

शनिबारको खेलको निर्धारित समयमा दुबै टिम १-१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । खेलको आर्ठौ मिनेटमै पुलिसका मनोज राईको आत्मघाती गोलमा जर्जियनले अग्रता लिएको हो । खेलको ४२ औं मिनेटमा पुलिसका भोला सिलवालले गोल गर्दै खेल बराबरीमा ल्याएपछि बाँकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटसम्म पुगेको हो ।

आइतबार फ्रेण्ड्स क्लब र थ्री स्टारबीच क्वार्टरफाइनल खेलको प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशिको छैठौ संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकसहित प्रतियोगितामा ए डिभिजनका ६, विदेशी टोली २ र मोफसलको १ गरी १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अनुसार चैत ९ गते सुरु भएको प्रतियोगिता चैत १८ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : चैत्र ११, २०७९ २१:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×