टासी दोङले जिते गल्फ उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — गल्फर टासी छिरिङ दोङले गोकर्ण गल्फ क्लबमा शनिबार इन्डियन एम्बासडर आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

दुई ह्यान्डिक्यापसँग खेल्दै टासीले ४० स्टेबलफोर्ड अंक बटुलेर उपाधि जिते । टासी छिरिङ ३७ अंकसाथ उपविजेता भए । सद्भाव आचार्यले ३७ ग्रस अंक जोडेर बेस्ट ग्रसको अवार्ड जितेका छन् । लङ्गेस्ट ड्राइभको अवार्ड पनि उनैले जिते ।

महिलातर्फ तारा कार्की चित्रकार ३८ अंकसहित विजेता भइन् । गीता गुरुङ ३३ अंकसहित उपविजेता भइन् । सिनियर (६० वर्षभन्दा माथि) तर्फ मेजर विजय मोक्तान ३५ अंकसहित विजयी भए । सिनियर मोस्ट गल्फरको अवार्ड पूर्वप्रधानसेनापति प्रज्ज्वल शमशेर राणाले पाए ।

उत्कृष्ट फ्रन्टनाइनको अवार्ड पवित्रकुमार कार्की र उत्कृष्ट ब्याकनाइन अवार्ड श्याम तामाङले जिते । विजय श्रेष्ठ इन्हाउसले चार बर्डीसहित सर्वाधिक बर्डीको अवार्ड पाए । लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझीले मोस्ट पार अवार्ड जिते । नोर्बुछिरिङ शेर्पाले क्लोजेस्ट टु द पिन अवार्ड पाए ।

समापनमा हालै सम्पन्न बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक जितेका सुवास तामाङ र सद्भाव आचार्यलाई सम्मान गरिएको थियो । युवा महिला गल्फर कश्मिरा शाह र जुनी गुरुङलाई जनही ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति भारतीय दूतावासद्वारा प्रदान गरिएको छ ।

प्रतियोगितामा १२ महिला गल्फरसहित ९५ गल्फरको सहभागिता थियो । विजेतालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, रक्षा सहचारी कर्णेल अमित शर्मा, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, क्याप्टेन जोसेफ नाथन र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डेले पुरस्कार प्रदान गरेका थिए ।

गैरगल्फर्सबीचको पटिङ प्रतियोगितामा सारिका शर्मा विजयी भइन् भने काउन्टब्याकमा ऋतिका डे दोस्रो र निधि श्रीवास्तव तेस्रो भए ।

प्रकाशित : चैत्र ११, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

भुटानलाई हराएपछि लाओसको फाइनल पुग्‍ने सम्भावना जीवन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — बोनकोङको २ गोलको मद्दतले लाओसले थ्री नेसन्सकपमा शनिबार भुटानलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा प्राप्त यस जितपछि लाओसको फाइनल प्रवेशको सम्भावना कायम रह्यो । लाओसको यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ ।

अब भुटानले मंगलबार हुने खेलमा नेपालको सामना गर्नेछ । त्यसै खेलको नतिजाले उपाधि भिड्ने दुई टिम निश्चित गर्नेछ । लिग चरणको दुई खेल समाप्त हुँदा नेपाल ३ अंकमा शीर्ष स्थानमा छ । त्यसपछि लाओस दोस्रो स्थानमा छ । उसको दुई खेलबाट ३ अंक भएको छ । भुटान भने अंकविहीन रहेको छ ।

नेपालविरुद्धको पहिलो खेल गुमाएको लाओसले यो जितसँगै प्रतियोगितामा पुनरागमन गरेको हो । बोनकोङले खेलको चौथो मिनेटमै गोल गर्दै लाओसलाई अग्रता दिलाए । भुटानका लागि कप्तान छन्चो ग्याल्सेनले ३४ औं मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफको ७१ औं मिनेटमा बोनकोङले दोस्रो गोल गरे र यससँगै लाओसको जित निश्चित भएको थियो ।

प्रकाशित : चैत्र ११, २०७९ १९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×