१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रधानमन्त्री कप फुटबल : लाओस र भुटान भिड्दै

दशरथ रंशगालामा साँझ ६ बजे सुरु हुने खेल फाइनल प्रवेशको लागि महत्वपूर्ण
राजु घिसिङ

काठमाडौँ — प्रधानमन्त्री त्रिदेशीय कप फुटबल प्रतियोगितामा दुई पाहुना टिम लाओस र भुटानवीचको प्रतिस्पर्धा दशरथ रंगशालामा शनिबार साँझ ६ बजे सुरु हुँदैछ । फाइनलमा स्थान बनाउनको लागि ‘निर्णायक’ मानिएको यो खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कप फुटबल : लाओस र भुटान भिड्दै

‘फिफा मेन्स इन्टरनेसनल म्याच क्यालेन्डर’मा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । त्यसैले जर्मन प्रशिक्षक माइकल वेसको टिम लाओसलाई फाइनलमा स्थान बनाउन पनि भुटानविरुद्ध जित्नैपर्ने वा बराबरी नतिजा आवश्यक छ । पराजित भएको स्थितिमा लाओस प्रतियोगिताको समूह चरणबाटै बाहिरिने छ भने यस्तो नतिजाले एक खेल अगावै नेपाल र भुटानले फाइनलमा स्थान सुरक्षित गर्नेछ । लाओसविरुद्ध भुटानको खेल बराबरीमा टुंगिएमा पनि नेपाल समूहको अन्तिम खेल बाँकी छँदै फाइनलमा पुग्नेछ ।

करिब ४० महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको भुटानको पुरुष सिनियर टिमलाई लाओसविरुद्ध खेल जित्न सजिलो भने हुने छैन । फिफा वरीयतामा दुई स्थान तल रहको टिम भए पनि लाओसले पहिलो खेलमा घरेलु टिम नेपाललाई राम्रै चुनौती दिएको थियो । बल पोजेसनमा पनि लाओस बलियो थियो । त्यसैले हुनसक्छ, उसका प्रशिक्षक वेसले नेपालविरुद्धको हारपछि भनेका थिए, ‘हारे पनि चिन्ता छैन किनभने राम्रो प्रदर्शन गरेका छौं । अब भुटानविरुद्ध राम्रो गर्ने योजनामा केन्द्रित हुने छौं ।’

उनका समकक्षी पेमा दोर्जीले भनेका छन्, ‘धेरै राम्रो तयारी गरेका छौं । लिग सकिएपछि दुई महिना ट्रेनिङ गरेका छौं । सबै खेलाडी फिट छन् । तीन वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका छौं । धेरै खेलाडी युवा छन् । टिम नयाँ र परिवर्तन भएको छ । उनीहरूले शतप्रतिशत दिएर खेल्ने छन् । सबै टिम जित्न चाहन्छन् । मैले पनि त्यस्तै सोचिरहेको छु ।’

सन् २०१९ डिसेम्बरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा चेन्चो ग्याल्सेन कप्तानीको भुटानी टिमले रजतपदक जितेको थियो, फाइनलमा घरेलु टिम नेपालविरुद्ध दशरथ रंगशालामा २–१ ले हारे पनि भुटानको लागि दक्षिण अन्तर्राष्ट्रिय फुटबलमा हात पारेको सबभन्दा ठूलो उपलब्धि त्यही बन्यो । त्यही यू २३ टिमका अधिकांश खेलाडीले अहिलेको राष्ट्रिय टिम बनेको छ । त्यसैले १३ औं सागपछि प्रतिस्पर्धामा फर्किंदा भुटानी टिम उत्साहित छ र यसपल्ट आएको टिमको कप्तानी पनि उनै चेन्चोले गरेका छन् ।

लाओसविरुद्ध दशरथ रंगशालामा उत्रिँदा भुटानी टिमलाई नेपाली फुटबलप्रेमीको समर्थन रहने चेन्चोको विश्वास छ । उनी नेपाली टिमका कप्तान एवम् गोलकिपर किरण चेम्जोङसँगै भारतको आई लिग च्याम्पियन भएर राउन्डग्लास पन्जावबाट राष्ट्रिय टिमको खेलमा फर्किएका हुन् । अन्तर्राष्ट्रिय फुटबलमा भुटान र लाओस पहिलोपल्ट भिड्न लागेका हुन् । फिफा वरीयतामा भुटान १८५ र दक्षिण पूर्वी एसियाली देश लाओस १८७ औं स्थानमा छन् ।

प्रकाशित : चैत्र ११, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?