कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लेजेन्डरी डम्बर गुरु

सन् १९८२ मा नयाँदिल्लीमा भएको एसियाली खेलकुद नै त्यो प्रतियोगिता हो, जसमा नेपालको राष्ट्रिय फुटबल टिमले पहिलो औपचारिक सहभागिता जनाएको थियो । त्यही टिमका एक प्रमुख सदस्य थिए, डम्बरसिं गुरुङ । पछि उनी प्रशिक्षकको भूमिकामा पनि रहे ।
हिमेश

काठमाडौँ — ‘जति बेला म साँच्चै मर्नेछु, त्यो मेरो दोस्रो मृत्यु हुनेछ,’ डम्बर गुरु यस्तै भन्थे । के हो त यो ? दुई वर्ष अगाडि आहा रारा गोल्डकपको निहुँमा उनलाई पोखरा रंगशालामा भेट्दा उनी यस्तै सुनाउँथे, ‘यो त मेरो दोस्रो जीवन हो । भाग्यले पो बाँचेको ।’ वर्ष ०७६ मा उनलाई मस्तिष्कघात भएको थियो । आफैं ड्राइभ गरेर घर फर्किरहेका थिए, केही असजिलो महसुस गरे । काठमाडौं पुर्‍याइँदासम्म बेहोस भइसकेका थिए, त्यसपछि के कस्तो भयो, चालै पाएनन् ।

लेजेन्डरी डम्बर गुरु

जति बेला उनलाई होस खुल्यो, चिकित्सकले भन्थे, ‘चमत्कार नै भयो, यसरी बाँच्नु ।’ गत बुधबार पनि उनी ड्राइभ गरिरहेका थिए, त्यसपछि के भयो, अब उनको मुखबाट सुन्न पाइने छैन । संयोग

हेरौं न, डम्बर गुरु अर्थात् डम्बरसिं गुरुङ अब हामीबीच रहेनन् । उनी ७१ वर्षका थिए । गाडी ड्राइभ गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो । पोखरेली फुटबलका सबैभन्दा ठूला हस्ती हुन्, उनी । सहारा क्लब परिवार शुक्रबार पारेर उनको घर पुगेको थियो, समवेदना प्रकट गर्न ।


सहारालाई लागेको छ, यो क्लबलाई सहारा दिने एउटा अभिभावक गुमाउनुपरेको छ । शनिबार उनको अन्त्येष्टि गरिनेछ, यसक्रममा नदिपुरको घरबाट शवयात्रा निस्कनेछ र गाईघाट पुग्नेछ । ‘साँच्चै म मरें भने यो मेरो दोस्रो मृत्य हो भनेर लेख्नु,’ उनले ख्यालख्यालमै भनेको हिजै जस्तो हो । उनको महाप्रस्थानपछि उनले नेपाली फुटबललाई यो खेलको एउटा इतिहास भनेर छाडेर गएका छन्, जसलाई सुन्न र बुझ्न आवश्यक छ, नत्र नेपाली फुटबलकै रोग हो, आफ्नो इतिहास बिर्सने ।


डम्बर गुरु नेपाली फुटबलको एउटा जीवन्त इतिहासका रूपमा सधैं रहनेछन् । धेरै अर्थमा उनी नेपाली फुटबलका ‘लेजेन्ड’ हुन् । डम्बर गुरुको पूरा जीवन नै फुटबल र फुटबलमै मात्र बितेको थियो । सानै उमेरदेखि फुटबल खेले । पछि प्रशिक्षक पनि बने । दुवैमा धेरै अर्थमा उम्दा थिए । उनलाई पछिल्लो पटक काठमाडौंमा देखिएको सहिद स्मारक लिग ‘ए’ डिभिजन ताका हो, जति बेला उनी दुई फरक अवसरमा आर्मी र एपीएफका प्रशिक्षक थिए ।


पोस्ट म्याच कन्फ्रेन्समा उनी नेपाली मिडियासामु दमदार रूपमा प्रस्तुत हुन्थे र आफ्ना फरक धारणा प्रस्तुत गर्थे । फेरि त्यही पोखरा रंगशालाको भेटलाई सम्झने हो भने उनी भन्थे, ‘म फेरि बाँचेको छु, किनभने सायद मलाई फुटबलमा अझै काम गर्नु छ । मैले अब आएर फुटबल वास्तवमै के हो, त्यो बुझेको छु । यही बुझाई अब म अरूलाई सुनाउन चाहन्छु ।’ उनी फेरि एकपल्ट साना साना किशोरकिशोरीलाई फुटबल सिकाउन चाहन्थे । सायद उनले यो इच्छा पूरा गर्न पाएनन् । डम्बर गुरुको खेल जीवनका धेरै फरक फरक अध्याय छन् । जति बेला उनले फुटबल खेल्न सुरु गरे, पोखरा बेग्लै सहर थियो । उनी १४ वर्ष पुगेका थिए, मलेसियातिर लागे, ब्रिटिस आर्मीमा भर्ना हुन । मलेसिया त्यति बेला मलाया थियो । उनले त्यहीं फुटबल खेल्न सिके । यो भयो, सन् १९६६ तिरको कुरा । त्यहाँ नेपाल कपका नाममा फुटबल प्रतियोगिता हुन्थ्यो । एउटा फुटबल खेलाडीका रूपमा उनको वास्तविक जन्म त्यहीं भएको थियो ।


त्यहीं फुटबल खेल्दाखेल्दै उनलाई नेपाली राष्ट्रिय टिमबाट खेल्ने प्रस्ताव आयो । नेपाल आएयता उनले सबैभन्दा पहिले यू–१६ एसियन युथ खेले । पछि उनले नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर भारतको नयाँदिल्लीमा भएको एसियाली खेलकुदमा सहभागिता जनाए । त्यति बेला नेपाली टिमका प्रशिक्षक थिए, तिनै जर्मन रुडी गुटेनडफ । यी प्रशिक्षकले डम्बरलाई प्ले मेकरको भूमिका दिएका थिए । यसरी उनी पहिलो औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने टिमका ऐतिहासिक सदस्य बने ।


उनको जीवनको एउटा अध्याय त्यही सहारा क्लबसँग जोडिन्छ । सहाराले एकेडेमी सुरु गरेयता त्यसको प्रशिक्षकका रूपमा खटेको भनेकै डम्बर गुरु हुन् । उनले ०५८ सालयता कम्तीमा पाँच वर्ष जति एकेडेमी हाँके र एकपछि अर्को पोखरेली खेलाडी उत्पादन गरे । यो अवधिमा उनको छवि थियो, निकै सख्त प्रशिक्षकको । अनुशासन भनेपछि त्यसमा कुनै पनि सर्तमा सम्झौता नगर्ने । तर मैदान बाहिर खेलाडीलाई खुबै माया गर्ने, ती खेलाडीका लागि सक्दो गर्ने ।


पोखरेली फुटबलका सबैभन्दा ठूलो नाममध्ये एक अनिल गुरुङ पनि हुन् । उनी सहारा एकेडेमीकै उत्पादन हुन् । उनलाई हुर्काउने, बढाउने काम पनि त डम्बर गुरुकै थियो । ‘म उहाँलाई आफ्नो खेल जीवनको पहिलो प्रशिक्षक मान्छु,’ अनिलले सम्झन चाहे, ‘उहाँबाट प्रशिक्षण पाएयता नै मेरो वास्तविक खेल जीवन सुरु भएको लाग्छ ।’ सबैलाई थाहा छ, सुरुमा अनिल एकडेमीका लागि छानिएकै थिएनन् । पछि प्रशिक्षणमा बस्नेसम्मको अवसर पाए ।


डम्बर गुरु नै हुन्, जसले अनिलको प्रतिभालाई चिने । सहाराकै पूर्वअध्यक्ष विक्रम थकाली मान्छन्, उनीहरूका लागि डम्बर गुरुसँग जोडिन पाउनु नै आफैंमा ठूलो उपलब्धि थियो । उनले भने, ‘डम्बर गुरु आफैं हामीसँग जोडिन आउनुभएको थियो । हामीले उहाँलाई केही पनि दिनुपरेन, बरु उल्टै उहाँले एकेडेमीका लागि आफूले सक्दो दिन चाहनुभयो । दिनु पनि भयो । हाम्रा लागि त उहाँसँग संगत गर्न पाउनुमा पनि गर्व छ ।’


काठमाडौंका घरेलु फुटबलमा डम्बर गुरुले खेलाडीका रूपमा केही समय बिताए । आरसीटीसँग आवद्ध भएर उनले दुई पल्ट खेले र दुवै अवसर थियो, राष्ट्रिय लिग । नेपाली फुटबलमा दुई फरक अवसरमा राष्ट्रिय लिग भएको छ । पहिलो ०३० सालतिर । दोस्रो ०६० सालपछि । सुरुमा पाँच संस्करणको राष्ट्रिय लिग भएको थियो, त्यसमा आरसीटी चारपल्ट च्याम्पियन भयो भने एनआरटी एकपल्ट । आरसीटीले सुरुआती दुई संस्करण जित्दा एक प्रमुख खेलाडी हुन्, डम्बर गुरु ।


आरसीटीका सचिव राजु शाही भन्छन्, ‘हाम्रो क्लब इतिहासमा जतिले खेले, त्यसमध्ये उम्दा खेलाडीका रूपमा पर्छन्, डम्बरसिंह । उनको सक्रिय योगदानका कारण आरसीटी दुईपल्ट राष्ट्रिय लिग च्याम्पियन भएको थियो ।’ त्यति बेला नेपाली घरेलु फुटबल व्यावसायिक थिएन, खेलाडीलाई तलब दिन चलन सुरु भएकै थिएन । एन्फा कप खेल्न काठमाडौं झरेका उनले यसरी नेपाली घरेलु फुटबलकै सबैभन्दा सफल क्लबबाट दुई उपाधि पनि जिते ।


र, डम्बर गुरुको चर्चा गर्दा छुटाउनै नहुने एक पात्र हुन्, उनकी श्रीमती पूर्णकुमारी । उनीहरूले ५० वर्षभन्दा बढी समय सँगसँगै बिताए । यत्तिको समय डम्बर गुरुलाई आफूखुसी फुटबल खेल्ने अवसर मिलाइदिने नै तिनै पूर्णकुमारी हुन् । कान्छी छोरी रिन्कु गुरुङले भनिन्, ‘हाम्री आमा पनि आफैंमा फुटबलप्रेमी । एकपल्ट दुई साना साना छोरी लिएर पनि फुटबल हेर्न जानुभएको थियो, त्यो पनि आँधीबेहरीको समयमा ।’ त्यसैले पनि उनीहरूको जोडी गज्जबले चलेको थियो ।


श्रद्धाञ्जली हाम्रा तिनै डम्बर गुरुलाई ।




प्रकाशित : चैत्र ११, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?