कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

आत्मघाती गोलको पीडा

सेमिफाइनलमा चुक्यो आर्मी, फाइनलमा सगरमाथा क्लब र चर्च ब्वाइज भिड्ने

सुनसरी — १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब, मोरङ भिड्ने भएका छन् ।

आत्मघाती गोलको पीडा

इटहरी रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा चर्च ब्वाइजले विभागीय टिम त्रिभुवन आर्मीलाई १–० ले हराउँदै सगरमाथासँगको अन्तिम भिडन्त पक्का गरेको हो । चर्च व्बाइजको जितमा आर्मीको आत्मघाती गोल निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा विदेशी खेलाडी बेम्पाले हानेको फ्रिकिकलाई क्लियर गर्ने प्रयासमा दीपक गुरुङको हेडरमा बल आफ्नै पोस्टमा छिरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । त्यसपछिको खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोलमा रूपान्तर गर्न सकेन ।

पहिलो हाफमा आर्मीले तीन अवसर खेर फालेको थियो । २४ औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको क्रसमा सन्तोष केसीको फितलो प्रहार चर्च ब्वाइजका किपर प्रिसोले सहजै नियन्त्रणमा लिए । ४३ औं मिनेटमा सुदिल राईको क्रसलाई प्रिसो लडिसकेको अवस्थामा बिकु राईले क्लियर गर्दै चर्च ब्वाइजको संकट टारेका थिए । लगत्तै दिनेश हेन्जनले प्रहार गरेको कर्नरमा विमल पाण्डेको हेडर सटीक भएन ।

पहिलो हाफको इन्ज्युरी समयमा आर्मीले बराबरीको सुन्दर मौका गुमायो । चर्च व्बाइजका डिफेन्डरको गल्तीमा गोलरक्षक बिट भएपछि दिनेशले खाली पोस्टमा गोल गर्न सकेनन् । दोस्रो हाफमा चर्च ब्वाइजको बलियो डिफेन्सलालाई तोड्न नसकेको आर्मीले इन्ज्युरी समयमा पाएको एकमात्र अवसर पनि सदुपयोग गर्न सकेन । चर्च व्बाइजका डिफेन्डर बेम्पाको गल्तीबाट पाएको अवसरलाई सुशान्त चौधरी चुकेका थिए ।

१–० को अग्रता लिएको चर्च ब्वाइजले पनि जितलाई फराकिलो बनाउने केही मौकालाई उपयोग गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा गगनदीप सिंहको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरियो । ४८ औं मिनेटमा दीपक गुरुङलाई बिट गर्दै ‘वान भर्सेस वान’ को स्थितिमा कप्तान मिलन राई गोल गर्न असफल रहे । उनलाई ५७ र ६२ औं मिनेटमा पाएको अवसरमा आर्मीका गोलरक्षक विकेश कुथुले असफल पारे । शुक्र राईले पनि ८० औं मिनेटमा पाएको अवसरमा गोल गर्न सकेनन् ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अपेक्षाअनुसार बल नियन्त्रणमा राख्न नसक्दा पराजित हुनुपरेको बताए, ‘गोलरक्षक र डिफेन्डरबीचको तालमेल नहुँदा आत्मघाती गोल बेहोर्नु दुर्भाग्यपूर्ण भयो । विपक्षीको सशक्त डिफेन्स लाइनलाई पनि तोड्न सकेनौं । दुई राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा पनि हार्न पुग्यौं ।’ उनले रेफ्रीको निर्णयमा पनि असन्तुष्टि जनाए ।

चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले खेलबाट सन्तुष्ट भएको उल्लेख गर्दै भने, ‘केही खेलाडीलाई विश्राम दिएर नयाँ खेलाडीको प्रयोग सफल भएको छ । खेलाडीबीचको समन्वय सफल हुनु खुसीको कुरा हो ।’ चर्च ब्वाइजका विदेशी खेलाडी फ्रयांकलिन टल्ला म्यान अफ द म्याच घोषित भए ।

चर्च ब्वाइज र सगरमाथाबीच फाइनल शनिबार हुनेछ । यसअघि सगरमाथाले बुधबार भएको पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?