सुदूरपश्चिम–११ तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश

सन्जु पौडेल

तिलोत्तमा — सुदूरपश्चिम–११ रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै सुदूरपश्चिम–११ ले उपाधि यात्रा तय गरेको हो ।

दुबै टोलीले गोलको धेरै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थ्रीस्टारलाई सुरुदेखि नै दबाबमा राखेको सुदूरपश्चिमले अन्तत दोस्रो हाफमा फागुराम थारुको गोलको मद्दतमा खाता खोल्यो । सुदूरपश्चिमका लागि थारुले दोस्रो हाफको ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बुधबारको खेलमा सुदूरपश्चिमका विष्णु चौधरी म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

सुदूरपश्चिम–११ ले उद्घाटन खेलमा रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । १५ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको साबिक विजेता थ्रीस्टारले गोलको अवसर सदुपयोग गर्न नसक्दा सेमिफाइनलमै रोकिएको हो । खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफूहरु शहीद स्मारक ए डिभिजन लिगमा केन्द्रित भएका कारण बुधबारको खेल गुमाउनु परेको बताए । थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिमले अब उपाधिका लागि बिहीबार हुने सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्त भने आगामी शनिबार हुनेछ ।

प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही–११, थ्रीस्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ, एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल- भारत टेलिफोन महसुल घटाउन मन्त्री शर्माको आग्रह

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् । नयाँ दिल्लीमा बुधबार भएको भारतीय सन्चार राज्यमन्त्री देबुसिन्ह चौहानसितको द्विपक्षीय बैठकमा मन्त्री शर्माले यस्तो आग्रह गरेकी हुन् ।

‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शूल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्,’ उनले भनिन्, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्छु ।’

नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्ने देख्छु ।’

त्यस्तै सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराएकी थिइन् । ‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकाले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्दछु । विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शूल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुन म आग्रह गर्दछु ।’

प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाली चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्ताहरूलाई उत्प्रेरित गरिदिन माननीय मन्त्रीज्यूको सहयोग हुनेछ भन्ने मेरो विश्वास छ । नेपालमा चलचित्र नगरी निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्न सक्छन् भन्ने मलाई लाग्दछ ।’

यस्तै नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गरेकी छन् । यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट अधिकाधिक सहभागिता हुने वातावरण मिलाउन उनले आग्रह गरिन् ।

‘सूचना प्रविधिको विकाससँगै यस क्षेत्रको जोखिम पनि बढ्दै गएको छ । साइबर सुरक्षा प्रमुख चुनौतीको रूपमा देखापर्न थालेको छ,’ बैठकमा मन्त्री शर्माले भनिन्, ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसूस गरेको छु । आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक छ ।’

रेडियो नेपाल र अल इण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्नेलगायतका विषयमा समझदारी गर्ने गरी तयारी भएको उल्लेख गर्दै मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरिन् । यसैगरी नेपाल टेलिभिजन र प्रसार भारतीबीच एक अर्काका विषयवस्तु प्रसारण गर्ने सम्बन्धमा पनि सकारात्मक छलफल अगाडि बढेको उनले जानकारी दिएकी थिइन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उद्घाटन हुनुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने उनले अपेक्षा गरेकी थिइन् ।

‘समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ । यसका लागि धन्यवाद दिँदै सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउनसमेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डविथ प्राप्त गर्न सक्षम हुने गरी सबमरिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गरोस् भन्ने मेरो आग्रह छ,’ मन्त्री शर्माले भनिन् ।

हाल नेपालले भारतका सेवाप्रदायकमार्फत् इन्टरनेट ब्याण्डविथ प्राप्त गर्ने गरेको स्मरण गराउँदै उनले नेपालले प्राप्त गर्ने ब्याण्डविथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा/सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवाप्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डविथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरिन् ।

भारतले मोबाइल सेवामा फाइभ जी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा नेपालका लागि पनि अनुभव लाभदायी हुनसक्ने महसुुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताइन् ।

भारत सरकारले नेपाललाई स्याटेलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिँदै उनले यसको प्राविधिक र सञ्चालन लागतका बारेमा थप अध्ययन गरी निष्कर्षमा पुग्ने जानकारी दिइन् ।

प्रकाशित : चैत्र ८, २०७९ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×