खेलाडी करण केसीलाई बागलुङमा सम्मान

बागलुङ — आईसीसी विश्वकप लिग-२ क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टिमका फास्ट बलर करण केसीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङ नगरपालिकाले केसीलाई १ लाख रुपैयाँ पुरस्कारसमेत दिएको हो ।

बागलुङ नगरपालिका-८ सिगाना घर भएका केसी बुधबार बागलुङ आएका थिए । उनी आएकै समय पारेर नगरपालिकाले तत्काल निर्णय गरी सम्मान तथा पुरस्कार दिएको हो ।
त्यस्तै, काठेखोला गाउँपालिका-१ पाला घर भएका अर्का खेलाडी सुवास भण्डारीलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।
आईसीसी अन्डर १९ विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेका भण्डारीलाई ५० हजार नगद पुरस्कार पनि दिइयो । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य दिलमाया पौवी, नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का समेतले सम्मान गरे । पौवीले खेलाडीलाई गण्डकी प्रदेशले पनि सम्मान गर्नुपर्ने धारणा राखिन् ।
नगर प्रमुख श्रेष्ठले खेलाडीको सम्मानले राष्ट्रकै गौरव बढ्ने बताए । उनले विश्वकपपछि पनि खेलाडीलाई सम्मान गर्न पाउने आशा व्यक्त गरेका थिए । सम्मानपछि केसीले आफ्नो लक्ष्य विश्वकप भएको बताए । उनले मिसन विश्वकपमा लागेको भन्दै सबैको हौसलाले खेल्ने जाँगर बढाएको बताए ।
प्रकाशित : चैत्र ८, २०७९ १७:४२