फेरिएको टिमबाट प्रशिक्षकको आस

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै चार महिनाअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई १–० ले पराजित गरेको थियो । दशरथ रंगशालामा सुनील बलको क्रसमा अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई जिताएका थिए ।

फेरिएको टिमबाट प्रशिक्षकको आस

त्यसयता पहिलोपल्ट नेपाली टोली मैदानमा फर्किंदा लाओसलाई प्रतिद्वन्द्वी पाएको छ । तर, केही वर्षयता उत्कृष्ट लयमा रहेका मिडफिल्डर सुनील भने हुने छैनन् ।

पाकिस्तानविरुद्ध दोस्रो हाफमा खेलेका सुनीलमात्र होइनन्, त्यतिबेलाका कार्यबाहक मुख्य प्रशिक्षक प्रवेश कटुवालले पहिलो रोजाइमा राखेका दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ आङदेम्बे र विमल घर्तीमगर यसपालि टिममा छैनन् । राष्ट्रिय टिमका नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले त्रिदेशीय प्रतियोगिता ‘प्रधानमन्त्री कप’ का लागि मंगलबार घोषणा गरेको २३ सदस्यीय टिममा ठूलै परिवर्तन देखिएको छ । नियमित कप्तान किरण चेम्जोङ भारतको आई लिगमा व्यस्त हुँदा पाकिस्तानविरुद्ध गोलपोस्ट सम्हालेका दीप कार्की, ‘आर्मब्यान्ड’ बाँधेका रोहित चन्दसहित अनन्त तामाङ, पुजन उपरकोटी, आयुष घलान र अन्जन विष्ट गरी गत कात्तिक ३० गते पहिलो रोजाइमा खेलेका ६ खेलाडीले मात्रै निरन्तर स्थान बनाएका छन् ।

कटुवालको टिममा रहेका सुनील, डिफेन्डर दिनेश र गौतम श्रेष्ठसँगै मिडफिल्डर तेज उज्ज्वल भविष्यको खोजीमा अस्ट्रेलिया पुगेका छन् । उनीहरूसँगै पाकिस्तानविरुद्ध टिममा खेलेका ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक एनेसले जिम्मेवारी लिँदा पुरानो टिमका १० खेलाडीले मात्रै निरन्तरता पाएका छन् । ६ खेलाडी पहिलोपल्ट राष्ट्रिय टिममा परेका छन् । सातदोबाटो युवा क्लबका गोलकिपर अभिषेक बराल, डिफेन्समा एपीएफका सनिश श्रेष्ठ र खुमलटारका पदम भट्टराई, एपीएफका मिडफिल्डर मणिकुमार लामा, अग्रपंक्तिमा सातदोबाटोका दीपकराज सिंह ठकुरी र मनाङ मर्स्याङ्दीका सुमित श्रेष्ठ नयाँ अनुहार हुन् । उनीहरूले यो सिजन (सहिद स्मारक ‘ए’ डिभिजन लिग) उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसमा स्थापित खेलाडीको अस्ट्रेलिया पलायन, चोट र लिगमा पाइरहेको खेल्ने समयले पनि ‘योगदान’ गरेको छ ।

इटालियन नागरिक एनेसले खेलाडी छनोटबारे भने, ‘ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको आधारमा खेलाडी छनोट गरेको छु । मैले सही खेलाडी र सही मान्छे छनोट गरेको आस छ । केही खेलाडीलाई चोटका कारण छनोट गरिएन । मैले ९० मिनेट खेल्न सक्ने र पूरा फिट खेलाडीमात्रै हेरेको छु । क्लबमा पूरा समय खेलेका र राम्रो प्रदर्शन गरेका खेलाडी छनोट गरेको छु ।’ अनुहारमा चोट बोकेकाले लिगमा पछिल्लो खेल गुमाएका चर्च ब्वाइजका फरवार्ड अञ्जन विष्ट लाओसविरुद्ध खेल्नसक्ने अवस्थामा भएकाले टिममा समावेश गरिएको उल्लेख गर्दै उनले भने, ‘विमल (घर्तीमगर) लाई ह्यामस्ट्रिङका कारण बोलाउन सकिएन ।’

नेपालले पछिल्ला दुई खेलमा चारै गोल अञ्जनले गरेका थिए । उनले गत असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध हात पारेको ३–१ को जितमा ह्याट्रिक गरेका थिए । उनी ११ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा नीराजन रायमाझी र हरि खड्का (समान १३ गोल) नजिक पुगेका छन् । राउन्डग्लास पन्जाबको आई लिग च्याम्पियन हुँदै इन्डियन सुपर लिगमा बढुवा यात्रामा उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान किरण टिममा फर्किएका छन् । उनले यसपालि पनि आई लिगकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । डिफेन्डर आदित्य चौधरी (जावलाखेल), मिडफिल्डर नवीन लामा (एपीएफ), कमल थापा (मनाङ, भरत खवास (आर्मी), आशिष चौधरी (चर्च ब्वाइज) र मनीष डाँगी (संकटा) ले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

‘प्रतियोगिताका लागि छोटो तयारी भए पनि हामीले चुनौती स्वीकार्नुपर्छ र खेल आकर्षक हुन्छ होला,’ कप्तान किरणले भने, ‘खेलाडी सबै फिट छौं । हामीले एकअर्काप्रति विश्वास गर्नुपर्छ । एक भएर परिवारको रूपमा रहेका छौं । खेलको लागि तयार छौं ।’ खेलाडी पलायन र टिममा परिवर्तनबारे उनी बोले, ‘मसँगै खेलेका थुप्रै सिनियर खेलाडी बाहिर गएका छन् । यस्तो चुनौती पनि हामीले स्वीकार्नैपर्छ । ट्रफी र देशका लागि प्रतिस्पर्धा गर्छौं । हामी आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं ।’

राष्ट्रिय टिमका लागि सबैभन्दा बढी खेल खेलेको कीर्तिमानलाई पनि लम्ब्याइरहेका उनले भने, ‘नयाँ प्रशिक्षक, सिनियर–जुनियर खेलाडी जो आए पनि हामीले नेपालका लागि खेल्ने हो । हामी एउटा परिवार भएर बसेका छौं । फुटबलका खेलअघि केही अनुमान गर्न सकिँदैन, अनपेक्षित पनि हुनसक्छ ।’

सन् २०१६ नोभेम्बरमा कुचिङ (मलेसिया) मा एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको थियो, जुन नेपालका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा रहेको छ । त्यसक्रममा नेपालले सेमिफाइनलमा लाओसलाई दुई घन्टाको प्रतिस्पर्धामा २–२ को बराबरीपपछि पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो ।

लाओसविरुद्ध कुचिङपछि खेल्न लागेको अवस्थामा किरणले भने, ‘लाओसविरुद्ध ६–७ वर्षपछि खेल्न लागेका छौं । यसबीच धेरै परिवर्तन भएको छ । लाओसको टिम राम्रो भएको छ । प्रतियोगिताको अर्को टिम भुटान पनि राम्रो छ । छोटो तयारी राम्रो भएको छ र हामी जित्नकै लागि खेल्ने छौं ।’ प्रतियोगितामा फिफा वरीयताको हिसाबले नेपाल सबैभन्दा राम्रो टिम हो । नेपाल १७५ औं स्थानमा छ भने भुटान १८५ र लाओस १८७ औंमा छन् ।

भिन्सेन्जो अल्बर्टो एनेस
मुख्य प्रशिक्षक, नेपाल
तीन दिनको तयारी राम्रो रह्यो । सही खेलाडी छनोट गरेको आशा छ । लिगमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा ९० मिनेट खेल्नसक्ने र फिट खेलाडी छनोट गरेको छु । हामी जित्नका लागि खेल्न चाहन्छौं । लाओसविरुद्ध राम्रो गर्न छौं । लाओसको स्तरबारे हामी जानकार छौं । हाम्रो स्तर पनि थाह छ । वरीयताले फरक पार्दैन । लाओसविरुद्ध जित प्रतियोगिताको लागि महत्त्वपूर्ण छ । साफ तयारीका लागि यो (प्रधानमन्त्री कप) राम्रो अवसर हो ।

पेमा दोर्जी
मुख्य प्रशिक्षक, भुटान
धेरै राम्रो तयारी गरेका छौं । लिग सकिएपछि दुई महिना ट्रेनिङ गरेका छौं । सबै खेलाडी फिट छन् । तीन वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका छौं । धेरै खेलाडी युवा छन् । टिममा नयाँ र परिवर्तन भएको छ । उनीहरूले शतप्रतिशत दिएर खेल्नेछन् । नेपाली टिममा पनि केही परिवर्तन छ, अधिकांश युवा छन् र धेरै खेल खेलेका छन् । तैपनि नेपाल बलियो टिम छ । सबै टिम जित्न चाहन्छन् । मैले पनि त्यस्तै सोचिरहेको छु ।

माइकल वेस
मुख्य प्रशिक्षक, लाओस
राम्रो टिमसँग खेल्ने चुनौती छ । हाम्रो टिम युवा खेलाडीले भरिएको छ । यू–२२ टिमले एएफएफमा राम्रो गरेको थियो । यू–१७ एसियन कपमा पुगेका छौं । त्यसैले अर्को पाँच वर्षमा राम्रो टिम हुने छ । हामी प्रतियोगिताको तयारीमा छौं । नेपाली टिम धेरै आक्रामक र उत्साही हुनेछ । कागजमा भुटान कमजोर देखिन्छ तर हामी सम्मान गर्छौं । खेल प्रदर्शन गर्नुपर्छ । हामी भुटानभन्दा पहिला नेपालविरुद्ध खेल्दैछौं । सकारात्मक पक्ष हेर्नेछौं ।’

प्रकाशित : चैत्र ८, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?