रोलिङलाई रोक्दै आर्मीको यात्रा

सुनसरी — विभागीय टोली त्रिभुवन आर्मी क्लब सुनसरीमा भइरहेको १३ औ संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को पराकिलो जित दर्ता गरेको हो ।

रोलिङलाई रोक्दै आर्मीको यात्रा

आर्मीका लागि दीपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदील राई र पदम तामाङले गोल गरेका थिए । रोलिङका लागि विदेशी खेलाडी डेडी वाम्बाले एक गोल फर्काए । खेलको सुरुआतबाटै दबाब बनाएको आर्मीले तेस्रो मिनेटमा अग्रता लियो । दीपकले बक्सनजिकबाट हानेको फ्रिकिक प्रहार सिधै जालीको सम्पर्कमा पुगेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा कप्तान जिलेस्पीले युद्ध शाहीको पास सदुपयोग गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्न सफल रहयो । ६२ औं मिनेटमा सुदीलले अग्रता ३–० को स्थितिमा पुर्‍याए । दिनेश हेन्जनको पासलाई सुदीलले गोलमा परिणत गरे । खेलको ६४ औ मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टीबाट गोल गरेर अन्तर छोट्याए । बक्सभित्र विमल पाण्डेले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई वाम्बाले खेर फालेनन् । इन्ज्युरी समयमा पदमले गोल गरेपछि आर्मी ४–१ को स्पष्ट जितसहित अन्तिम चारको यात्रा पक्का गर्न सफल भयो । म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजंग भए । उनले १० हजार रुपैयाँ पाए ।

खेलमा दुवै टोलीले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । आर्मीका सन्तोष केसीको पास दिनेश हेन्जनले २० औं मिनेटमा सदुपयोग गर्न सकेनन् । ५७ औं मिनेटमा आर्मीका कप्तान जिलेस्पीको प्रहार रोलिङका गोलरक्षक मनोज प्रधानले क्लियर गरिदिए । वान भर्सेस वानको अवस्थामा जिलेस्पीको प्रहार गोलरक्षक मनोजले अघि बढेर बचाउँदा खेल ७३ औं मिनेटमा पुगेको थियो । उता रोलिङका विदेशी खेलाडी स्टिभ पनि २३ औं मिनेटमा गोल गर्न चुकेका थिए । अनुज क्षेत्रीले ६८ औं मिनेटमा वान भर्सेस वानको अवस्था गुमाएका थिए । उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानले लिगमा लगातार खेलेका कारण अपेक्षाअनुरुप प्रदर्शन गर्न नसकेको बताए । उनले खेलाडीहरूको थकानका कारण २५ प्रतिशतमात्र खेल देखाउन सकेको सुनाए । उनले भने, ‘सुरुआतमा स्कोर निस्किएपछि पनि पाएका धेरै अवसर सदुपयोग हुन सकेन । खेलाडीको थकानका कारण आस गरिएका खेलाडीबाट अपेक्षाकृत प्रदर्शन भएन । पहिलो रोजाइका केही खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा भएकाले जुनियर खेलाडी खेलाइरहेका छौं । उनीहरूले राम्रो प्रदशन गरिरहेका छन् ।’

रोलिङका प्रशिक्षक मुकुम लिम्बुले ए डिभिजन लिगका कारण राम्रा खेलाडी नपाएकाले प्रतिस्पर्धात्मक टोली तयार गर्न नसकिएको प्रतिक्रिया दिए । अफ्रिकी खेलाडीहरू भए पनि अपेक्षाअनुरुप प्रदर्शन गर्न चुकेको उनले प्रस्ट्याए । उनले भने, ‘मोफसलका टोलीले वर्षभर खेलाडी पाल्न सक्ने क्षमता छैन । त्यसले गर्दा विभागीय टोलीविरुद्धको प्रदर्शन गतिलो दिन सकिँदैन ।’

यो खेलसँगै इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले बिहीबार चर्च ब्वाइज युनाइटेडसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइज यसअघि आयोजक राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ । पहिलो सेमिफाइनल बुधबार साबिक विजेता सगरमाथा क्लब मोरङ र मछिन्द्र क्लबबीच हुनेछ । मछिन्द्रले कञ्चनजंघा फुटबल क्लब भारत र सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई हराएका थिए । शनिबार हुने फाइनल विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।

प्रकाशित : चैत्र ७, २०७९ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?