चुनौती सामना गर्दै सफल भइन्छ : कप्तान चेम्जोङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा कप्तान किरण तयारी छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन् । भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरू सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया चन्दको थियो । कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भएपनि एक अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए।
यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली निमार्ण गरेको बताए । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उनले बताए । उनले लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निमार्ण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने बताए ।
एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताउँदै सुखद नतिजाका लागि खेल्ने बताए । पहिलो खेलमा नेपालले बुधबार लाओससँग खेल्दैछ । यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीविरुद्ध राम्रो खेल्ने बताए । उनले भविष्यका लागि टीम बनाइरहेको भन्दै हाललाई लिगले गर्दा तयारी अपेक्षाअनुसारको गर्न नसकेको बताए ।
लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुसी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।
त्यस्तै भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताए । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको उनको भनाइ छ । युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसाबले सक्षम भएको र शतप्रतिशत दिएर खेल्ने उनले बताए ।
भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए । पछिल्लो पटक दक्षिण एसियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आफूखुसी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको चेन्चोले बताए ।
सिंगल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले चैत ८ मा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ ।
चैत ११ गते भुटान र लाओस भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनासीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार राखिएको छ । यसअघि नेपालले २०७७ सालमा बंगलादेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
प्रकाशित : चैत्र ७, २०७९ १६:५१