मछिन्द्रको सहज जित

दोस्रो रोजाइका खेलाडी लिएर इटहरी पुगेको मछिन्द्र सजिलो जित हात पार्दै सेमिफाइनलमा

सुनसरी — ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलमा सोमबार सहज जित पाएको छ । इटहरी रंगशालामा सोमबार पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोलले हराउँदै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

मछिन्द्रको सहज जित

मछिन्द्रको जितमा कप्तान अफिज ओलावालेले ह्याटिकसहित ४ गोल गरे । अर्को एक गोल विजय भुजेलले गरेका थिए । पहिलो गोल ३९ औं मिनेटमा गरेका ओलावालेले ६१, ६६ र ८८ औं मिनेटमा गोल गर्दै व्यक्तिगत गोलसंख्या ४ पुर्‍याए । त्यसअघि विजयले ६४ औं मिनेट गोल गरेका थिए । कञ्चनजंघाका अनिश राईले दुई गोल गरे पनि हार टार्न सकेनन् । खेलको १५ औं मिनेटमा अतिश राईको पासमा अनिशले गोल गरेर अग्रता दिलाएका थिए । सुरुआती अग्रता लिएको कञ्चनजंघाले पहिलो हाफसम्म त्यो अग्रता जोगाउन सकेनन् । ३९ औं मिनेटमा ओलावालेले व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ५ गोल भएको हो । ६२ औं मिनेटमा ओलावालेले प्रशान्त अवस्थीको पासमा काउन्टर एट्याकमा व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । लगत्तै ४ मिनेट बित्न नपाउँदै ओलावालेले ह्याट्रिक पूरा गरे । कञ्चनजंघाका समिल हल्दारले सौरभ लिम्बूलाई बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीको अवसरमा ओलावालेले ह्याट्रिक पूरा गरेका हुन् ।

६४ औं मिनेटमा दीपेश घलेको स्थानमा मैदान छिरेका विजय भुजेलले ८२ औं मिनेटमा गोल गरेपछि मछिन्द्रको अग्रता ४–१ बनाए । भोजपुरका विजयले देब्रे खुट्टाले लामो दुरीबाट गरेको प्रहार सिधै पोस्टमा पुगेको थियो । ओलावालेले ८८ औं मिनेटमा कञ्चनजंगाका गोलकिपर बिट गर्दै व्यक्तिगत गोलसंख्या ४ पुर्‍याए ।

इन्जुरी समयमा अनिशले कञ्चनजंघाका लागि दोश्रो गोल गरे पनि जितका लागि पर्याप्त भएन् । प्रदिप भण्डारीको स्थानमा मछिन्द्रका गोलरक्षक सुरेश साटा मैदान प्रवेश गरेको ३ मिनेट नबित्दै गोल खान पुगेको थियो । खेलमा ४ गोल गरेका मछिन्द्रका कप्तान ओलावाले म्यान अफ दि म्याच घोषित हुँदै १० हजार प्राप्त गरे ।

पहिलो हाफमा निकै दबाब सिर्जना गरेको कञ्चनजंघाले दोस्रो हाफमा फितलो प्रदर्शन गरेको थियो । दुवै टोलीले केही सुन्दर अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । २३ औं मिनेटमा बक्स नजिकैबाट ओलावालेको प्रहार आकासिएको थियो । ६१ औं मिनेटमा दिवाकर चौधरीले गरेको प्रहार कञ्चनजंघाका गोलरक्षक प्रज्वल शर्माले बचाए । ७७ औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा ओलावालेको प्रहार डिफेन्डर दर्पण तामाङले क्लियर गरेर बाहिर पठाए । कञ्चनजंगाको दुई अवसर खेर गयो । ३१ औं मिनेटमा सुब्रतो सोरेनले बक्स नजिकैबाट गरेको प्रहार आकासिएको थियो । इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा निवाङ तामाङको प्रहार फ्रेममा पर्न सकेन ।

त्रिदेशीय फुटबलका कारण राष्ट्रिय टोलीमा रहेका मछिन्द्रका पहिलो रोजाइका अधिकांश खेलाडी इटहरी गोल्डकपमा थिएनन् । कप्तान सुजल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङ, छिरिङ गुरुङ, गोलरक्षक विशाल श्रेष्ठ, रजिन धिमाल, पुजन उपरकोटी राष्ट्रिय टोलीको क्याम्पमा भएका कारण इटहरी गोल्डकपमा आएनन् । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले दोस्रो रोजाइका खेलाडीले समेत उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उनले सुरुमा गोल बेहोर्न पुगे पनि पुनरागमन जित निस्किएको बताए ।कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले आफ्नै गल्तीका कारण गोल बेहोर्न पुगेको बताए । मछिन्द्रले अब साबिक विजेता सगरमाथा क्लबसँग बुधबार खेल्नेछ । मंगलबार आर्मी र रोलिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?