कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लुम्बिनीका ६ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले एक-एक लाख रुपैयाँ दिने 

यू–१९ टोलीका ५ खेलाडीलाई जनही ५० हजार दिने
घनश्याम गौतम

देउखुरी, दाङ — लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लुम्बिनी प्रदेशका खेलाडीहरुलाई प्रति व्यक्ति एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

लुम्बिनीका ६ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले एक-एक लाख रुपैयाँ दिने 

सोमबार दाङको देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्‍याउन सफल लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं खानेपानी, ग्रामिण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले बताए ।

आईसीसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रूपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी, र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका लुम्बिनी प्रदेशका ५ जना खेलाडीहरुलाई पनि प्रतिखेलाडी पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय सरकारले गरेको छ । हालै यूएईमा सम्पन्न यू–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यू–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश निजामती कर्मचारीसम्बन्धी विधेयक थप परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश सरकारले निजामती कर्मचारी विधेयक तयार गरी प्रदेशसभामा लैजाने तयारी गरेको थियो । तर, प्रदेश लोक सेवा गठन भएर काम गरिरहेकाले प्रदेश सरकारसँग सम्बन्धित कर्मचारीहरुको नियुक्ति, व्यस्थापनलगायतका विषयमा आयोगको परामर्शबाट निर्णय गर्दा सहज हुने देखिएकाले प्रदेश लोक सेवा आयोगमा थप परामर्शका लागि पठाइएको मन्त्री आचार्यले बताए ।

त्यस्तै सरकारले प्रदेशको आन्तरिक स्रोत, बजेट परिचालन र आर्थिक संकटको व्यस्थापनका लागि लुम्बिनी प्रदेश सरकारको २० प्रतिशत बजेट कटौती गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?