३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सातौँ विराट गोल्डकपको तयारी पूरा

विजेताले २० लाख पाउने 

विराटनगर — चैत ९ देखि सहिद मैदानमा सुरु हुने रात्रिकालीन सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सातौँ विराट गोल्डकपको तयारी पूरा

आयोजक विराट गोल्डकप ट्रस्टले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी चैत १६ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ ।

प्रतियोगिताका संयोजक सुवाशीष कोइरालाका अनुसार विजेता टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको छैटौं संस्करण विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएका थिए ।

प्रतियोगितामा प्रदेश सरकार, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । प्रतियोगितामा तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरीसहित संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी तथा विदेशी टिममा भारत केरलाको लुका सकर क्लब र भुटानको ड्रुक फुटबल क्लबको सहभागिता रहने कोइरालाले बताए । उनका अनुसार भारतको दिल्ली एफसी क्लबले अन्तिम समयमा नआउने जनाएपछि भुटानलाई सहभागी गराइएको हो ।

कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर सिटी र नेपाल प्रहरीबीच हुने खेल तालिका छ ।

प्रकाशित : चैत्र ६, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?