आर्सनल आठ अंक अगाडि

एएफपी

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।

आर्सनल आठ अंक अगाडि

यो जितपछि आर्सनलको २८ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक छ । उसले एक खेल कम खेलेको छ । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि बुकायो साकाले दुई गोल गरे । यस्तै ग्याब्रिएल मार्टिनेल र ग्रायन्ट कासाले एक/एक गोल गरे । प्यालेसका तर्फबाट जेफरी स्कपले एक गोल फर्काए ।

त्यस अगाडि एभरटनले शनिबार चेल्सीको स्टामफोर्डब्रिजमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको थियो । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरेका हुन् ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हराए । यस्तै, साउथह्याम्पटन र टोटेनहमले ३–३ को बराबरी खेले । यो नतिजाले शीर्ष चारमा टोटेनहमको चुनौती कमजोर बनेको छ ।

एफए कपमा भने इर्लिङ हालान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिक मदतले म्यानचेस्टर सिटीले शनिबार बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ ।

नर्वेली अग्रपंक्तिका खेलाडी हालान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुड भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई गोलमात्र पछाडि रहेका छन् । उनले यो सिजन सर्वाधिक गोलको इंग्लिस कीर्तिमान राख्न सक्नेछन् ।

सिटीले च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको टिममाथि इतिहादमा प्राप्त यस जितमा जुलियन अल्भारेजले दुई गोल गरे । यस्तै, एक गोल कोल पाल्मरको नाममा रह्यो । आइतबार एफए कपकै अर्को खेलमा सेफिल्ड युनाइटेडले ब्लाकबर्न रोभर्सलाई ३–२ ले हरायो । त्यसमा टोलमी डोयलीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे ।

प्रकाशित : चैत्र ६, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?