१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इटहरी गोल्डकप : राष्ट्रिय जागृति रोकियो

सुनसरी — घरेलु टोली राष्ट्रिय जागृति क्लबमाथि २–० को जित निकाल्दै आइतबार चर्च ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

इटहरी गोल्डकप : राष्ट्रिय जागृति रोकियो

इटहरी रंगशालामा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा पहिलो हाफमा १—० को अग्रता बनाएको चर्च ब्वाइजले दोस्रो हाफमा थप एक गोल गर्‍यो । यसक्रममा आशिष चापागाई र मौसम लिम्बूले गोल गरे ।

खेलको सुरुबाटै दबाब बनाएको चर्च ब्वाइजले ४५ औं मिनेटमा अग्रता बनायो । आशिषलाई पेनाल्टी क्षेत्रभित्र राष्ट्रिय जागृतिका गोलरक्षक निरोज चौधरीले लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पायो । पेनाल्टीमा कप्तान मिलन राईको प्रहार सफल भएन र ‘रिबाउन्ड’ मा पाएको अवसरलाई आशिषले गोलमा परिणत गरेका हुन् । मौसममले ६१ औ मिनेटमा अग्रता दोब्बर बनाए । विवेक पौडेलको स्थानमा मैदानमा प्रवेश गरेको २ मिनेट नबित्दै उनले गोल गरेका थिए ।

टिमको मुख्य खेलाडी अञ्जन विष्ट र कप्तान अनन्त तामाङबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले घरेलु टोलीमाथि सुरुदेखी नै दबाब सृजना गरेको थियो । बेम्पाको फ्रि–किकमा ३६ औं मिनेटमा आशिषले गरेको हेडरमा गोलरक्षक चौधरीले बचाउ गरे । मिलनले ५४ औं मिनेटमा प्रहार गरेको बल सटिक भएन । सन्तेष न्यौपानेले ६९ औं मिनेटमा ‘वान भर्सेस वान’ को अवस्थामा पाएको अवसर खेर फाले । गोलकिपर अगाडि बढेको स्थितिमा गगनदीप सिंहले ८० औं मिनेटमा प्रहार गरेको बल आकासिएको थियो । इन्ज्युरी समयमा कमल श्रेष्ठको प्रहारलाई गोलरक्षक चौधरीले मुस्किलले पञ्च गरेर बल बाहिर पठाइदिए ।

इटहरीकै उत्पादन तथा अहिले विभिन्न क्लबमा आबद्ध खेलाडीहरु मिश्रण गरेर टिम बनाएको आयोजक टिमले राम्रो खेल प्रदर्शन गर्न सकेन । कब्बु राईको कप्तानीमा उत्रिएको टोलीमा मनाङ मर्स्याङदीबाट क्लबमा आबद्ध प्रवेश दनुवार, वीरगन्ज युनाइटेडबाट खेल्ने उमेश कार्की, मनिष भण्डारी, सातदोबाटो युवा क्लबका उमेश राई, थ्रीस्टारका संजय श्रेष्ठ, पुलिसका समिर राईजस्ता सुनसरीका अनुभवी खेलाडीहरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।

खेलको २९ औं मिनेटमा कब्बुको क्रसमा पाएको अवसरमा प्रवेशको हेडर फ्रेममा पर्न सकेन । चर्च ब्वाइजका प्रशान्त लक्सम म्यान अफ दि म्याच घोषित भए । चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाईले लिगको निरन्तर खेलका कारण खेलाडीहरु थकित भएकाले पाएको अवसरहरु सदुपयोग हुन नसकेको बताए । उनले खेलमैदानको अनुभव नभएको कारण पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसकेको प्रतिक्रिया दिए ।

राष्ट्रिय जागृतिका अफिसियल सजिवन राईले पहिलो गोल पछि टिम दबाबमा परेको उल्ल्खे गर्दै भने, ‘गोलरक्षकको गल्तीबाट पहिलो गोल बेहोर्नु नै पराजयको मुख्य कारण रह्यो । तर, एक महिनाको तयारीबाट हामीले उत्कृष्ट खेल देखायौं ।’ प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा सोमबार सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : चैत्र ५, २०७९ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?