सुदूरपश्चिमका २ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही २ लाख पुरस्कार दिने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमका २ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही २ लाख पुरस्कार दिने

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका खेलाडीलाई २ लाख रूपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय टिमका खेलाडीभित्र परेका सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई/दुई लाख पुरस्कार प्रदान गर्ने सरकारका प्रवक्ता नरेशकुमार शाहीले बताए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।

यस्तै, राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका सन्दिप जोरालाई एक लाख र टिमभित्र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउँदलाई ५०/५० हजार पुरस्कार दिइने भएको छ । नेपालले पहिलोपटक विश्वकप क्रिकेट छनोटमा पुगेर ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

साथै, फागुनमा सम्पन्न खेलमा यू–१९ विश्वकपमा नेपाल एसिया विजेता बन्दै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हुन सकेको गौरवमा योगदान गर्ने सुदूरपश्चिमका पाँच जना खेलाडीलाई पनि जनही एक–एक लाख पुरस्कार दिने प्रदेश सरकारको घोषणा छ । पुरस्कार पाउने घोषित खेलाडीमा सुदूरपश्चिमका हेमन्त धामी, आकाश चन्द, दिपक बोहरा (ब्याट्सम्या), दीपक बोहरा (अलराउन्डर) र मिलन बोहरा रहेका छन् । सरकारले उक्त टिममा पाँच जना अफिसियललाई पनि जनही ५० हजार नगर प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टीमले उचाइ प्राप्ति गरेको बताउँदै प्रदेश सरकारले आफ्नो प्रदेशका खेलाडीलाई पुरस्कृत तथा सम्मान गर्ने घोषणाले खेलाडीलाई प्रोत्साहन हुने बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

च्यारिटीका लागि पैदलयात्रा

नवीन पोखरेल

लन्डन — ब्रिटिस गोर्खाहरूले नेपालका अभिभावक र घर नभएका बालबालिकाको सहयोगका लागि ६६ किलोमिटर पैदल यात्रा पूरा गरेका छन् । मन्जुश्री होम नेपाल र टेन क्‍विओजिएलआर लेडिज एसोसिएससनको सहयोगार्थ टेन क्‍विओजिएलआरमा कार्यरत गोर्खाहरुले बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा रहेको प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको सालिकबाट लन्डन ह्वाइट हलस्थित गोर्खा सालिकसम्म पैदल यात्रा गरेका हुन् ।

शुक्रबार दिउँसो एक बजे सुरु भएर शनिबार बिहान ८ बजे सम्पन्न भएको उक्त पैदल यात्राको दूरी ६६.५३ किमी रहेको थियो । १५ केजी सामान बोकेर उक्त यात्रा पूरा गर्न १८ घण्टा ४४ मिनेट लागेको यात्रा संयोजक ब्रिटिस गोर्खा अन्तिम गुरुङले जानकारी दिए ।

च्यारिटी पैदल यात्रामा अन्तिम गुरुङ, मिजास गुरुङ, राजु रेग्मी, अंकित श्रेष्ठ, प्रलान तमाङ, विशाल बाबु र सुमित गुरुङ सहभागी भएका थिए । यात्रा व्यवस्थापनका लागि आस्कृत गुरुङ (टिम मेडिक), नेत्र गुरुङ र अनिल नेपालीसमेत सँगै हिँडेका थिए । विज्ञान वाइबाले भने यात्राअघि प्रशिक्षण दिएका थिए ।

विगत ४ वर्षदेखि टेन क्विओजिएलआरमा कार्यरत अन्तिमले च्यारिटीबाट संकलित रकम नेपाल पठाइने जनाए । 'गो फन्डमी' मार्फत रकम संकलन भइरहेको उनले बताए । 'थकान महसुस भए पनि च्यारिटीका लागि भएकाले खुसी र सन्तुष्टि मिलेको छ,' यात्रा पूरा गरेपछि गुरुङले कान्तिपुरसित भने ।

पैदल यात्रा सुरु गर्नुअघि अल्डरसटमा उनीहरूलाई शुभकामना दिनका लागि औपचारिक कार्यक्रमसमेत गरिएको थियो ।

प्रकाशित : चैत्र ५, २०७९ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×