मिल्स गोल्डकपमा ध्रुवतारा च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिल्स गोल्डकपमा ध्रुवतारा च्याम्पियन

विनोद भण्डारी

विराटनगर — झापाको ध्रुवतारा युवा क्लबले साबिक विजेता सिराहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ ले हराउँदै शनिबार तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ध्रुवताराले २ लाख ११ हजार रुपैयाँ पुरस्कार पाउँदा प्रतिभाले १ लाख ११ हजारमा चित्त बुझायो । विराटनगर जुट मिलको मैदानमा सम्पन्न फाइनलमा झापाका लागि गौरव धिमालले दुई र प्रवीण राईले एक गोल गरे । सिराहाबाट बिनु आलेमगर र विधान लामाले १–१ गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा गौरवले गोल गर्दै झापालाई अग्रता दिलाए । बादल तामाङले निकालेको पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औं मिनेटमा झापाका प्रवीण राईले गोल थप्दै अग्रता दोब्बर बनाए । विक्रम राईको सटिक पासलाई प्रवीणले दर्शनीय गोलमा परिणत गरे । पहिलो हाफमा दुई गोलले पछि परेको सिराहाले दोस्रो हाफमा सुधारिएको खेल पस्कँदै ५० औं मिनेटमा बिनुको गोलबाट खेल २–१ मा ल्यायो । त्यसको ५ मिनेट नबित्दै झापाका गौरवले सिराहाका चार डिफेन्सलाई कटाउँदै दर्शनीय गोल गरेर टिमलाई ३–१ को स्थितिमा पुर्‍याए । उनकै गोल निर्णायक बन्यो । अन्तिम समयमा सिराहाका अब्दुलाको प्रहार झापाका गोलकिपर आयुष लिम्बूले पञ्च गरेर बाहिर फाल्दै संकट टारेका थिए । इन्ज्युरी समयको अन्त्यमा सिराहाका विधान लामाले गोल गर्दै अग्रता छोट्याएका थिए ।

म्यान अफ द फाइनल झापाका गौरव धिमाल भए । गोलरक्षकमा झापाका आयुष लिम्बू, मिडफिल्डरमा सिराहाका सुजन पुलामी, डिफेन्समा गोलबजारका मुकेश माझी, फरवार्डमा झापाका प्रवीण राई, प्रशिक्षकमा झापाका सन्दीप मगर उत्कृष्ट घोषित भए । सर्वोत्कृष्ट खेलाडी झापाका प्रवीण राई भए । समापनका अवसरमा फुटबलमा योगदान पुर्‍याउने कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरिएको थियो । उनीहरूलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र ट्रस्टका अध्यक्ष किशोर शाहीले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रकाशित : चैत्र ४, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गमा सेना

ऐतिहासिक दुई गढीलाई जोड्न सेनाको बर्दबहादुर गणले गर्‍यो छ दिन लामो पदयात्रा
राजकुमार कार्की

सिन्धुली — समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोडेर पर्यटकीय पदमार्ग बनाउन थालेको तीन वर्ष बित्यो । अभियानले स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत ४० लाखले १५ किलोमिटर पदमार्ग तयार गरेको थियो । पदमार्गको सुरुवात स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाएर खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको थियो ।

रकम अभावमा ७२ किलोमिटर लामो हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग त्यसपछि अगाडि बढ्न सकेन । त्यसपछि सेनाको बर्दबहादुर गणले पदमार्ग सफा गरेर जोड्ने काम गरेको थियो । अभियानका संयोजक लीलानाथ घिमिरेका अनुसार पर्वतीय शृंखलाको मनोरम दृश्य र महाभारत क्षेत्रको वनस्पति अध्ययनका लागि समेत लाभदायक हुने पदमार्गमा अक्करेभीरमा झोलुङ्गे पुल र होमस्टे सञ्चालन भएमात्र पदमार्गको आकर्षण बढ्ने छ । यतिखेर यो पदमार्गमा यात्राका लागि भने सेनाकै भर छ । तीन वर्षअघि अभियानका संयोजक घिमिरेको नेतृत्वको टोलीले पदयात्रा गरेको थियो । त्यसपछि बाहिरी निकाय र व्यक्तिबाट पदयात्रा भएको छैन ।

तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले स्थापना गरेको घण्टे महादेव रहेको स्थानबाट पदमार्ग सुरु गरिएको थियो । सेनाले भने हरिहरपुरगढीबाट पदयात्रा थालनी गर्दछ । मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी दुई घण्टा पैदल दूरीमा छ । घण्टेबाट हरिहरपुरगढी, जितपुर भीमगढ, सेपाहा, मरिण गाउँपालिकाको खलंगा, मधुवनी, घ्याङलेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोशी गाउँपालिकाको बन्दीपुर, मतानवास, नागी हुँदै सिन्धुलीगढीसम्मको पदमार्ग हो ।

सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट २० किलोमिटर दूरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ । चौधौं शताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न पदमार्ग जरुरी रहेको घिमिरेको ठहर छ । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले १३८१ सालमा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालिएको इतिहासमा पाइन्छ । झन्डै ७ सय वर्षअघि बनेको यो किल्ला पुरानै स्वरूपमा जस्ताको तस्तै छ ।


सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेज फौजलाई १८२४ सालमा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ । इतिहासलाई जगेर्ना गर्ने हेतुले यहाँको ऐतिहासिक दुई गढीलाई जोड्न नेपाली सेनाको बर्दबहादुर गणले हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्मको पदयात्रा गरेको छ । यो सेनाको तेस्रो वर्षका पदयात्रा हो । पदयात्रा ६ दिन लगाएर पूरा गरेका गणको टोलीलाई ऐतिहासिक सिन्धुलीगढीमा स्वागत गरिएको छ । खादा, माला, अबिर लगाएर पदयात्राका टोलीलाई लागि सिन्धुलीगढी परिसरमा सम्मान गरिएको छ । बर्दबहादुर गणका उपसेनानी भगवान् थापामगरको कमान्डमा बन्दोबस्तीका सामानसहित ३४ जनाको पदयात्रा टोलीले सेपाहा, भदौरे, मधुवन, कोलटार, टुनीभन्ज्याङ, छरछरेगाउँ, बन्दीपुर, नागी हुँदै ६ दिन लगाएर सिन्धुलीगढी आइपुगेको गणका गणपति रमेश थापाले जानकारी दिए । तीन वर्षअघि एकीकरण पदमार्ग निर्माण गरेको सेनाले ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण, पर्यटन प्रवर्द्धन, पुर्खाको सम्मानका खातिर पदयात्रा सुरु गरेको गणपति थापाको भनाइ छ । एकीकरण पदमार्ग दुई साता लगाएर बर्दबहादुर गणका सेनाले निर्माण गरेको थियो । त्यसअघि समृद्ध सिन्धुली अभियानले पदमार्गको खोजी गरी निर्माण गरेको थियो ।

यो पदयात्राले दुवै गढीलाई जोडेर इतिहासको जगेर्ना गर्न मद्दत पुग्ने अन्वेषणकर्ता सागर ढकालको विश्वास छ । नेपाल एकीकरणको समयमा गोर्खाली फौज र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको लडाँइमा पराजित भएपछि बाँचेका कम्पनी सेनाहरु हरिहरपु गढीबाट तत्कालीन कान्तिपुर राज्य पस्ने दाउमा यही पैदल मार्ग हुँदै हरिहरपुरगढीसम्म पुगेको इतिहास रहेको ढकालको भनाइ छ । तर त्यो सफल भएन । उनी भन्छन्, ‘यो कठिन बाटोलाई सैनिक इतिहासमा एकीकरण पदमार्ग भनिएको छ । सेनाले हरेक वर्ष यो पर्वतीय बाटोमा पदयात्रा तय गरेर इतिहासको जगेर्ना गरेको छ ।’

नेपाल एकीकरणको समयमा महत्त्वपूर्ण योगदान दिएको हरिहरपुरगढी र अंग्रेज सेनालाई धपाएको सिन्धुलीगढीको महत्त्वलाई उजागर गरी प्रचारप्रसार गर्न सके भावी पुस्तामा समेत वीरविरांगानाहरुको गाथा ताजा रहने अन्वेषणकर्ता ढकालको भनाइ छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले इतिहास बोकेको स्थानको परिचय र ओझेलमा परेका गाउँहरुलाई अगाडि ल्याउन पदयात्रा सहायकसिद्ध हुने विश्वास व्यक्त गरे । नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने र पदयात्राबाट जीवन्त राख्ने सेनाको योजना छ ।

पदयात्राका क्रममा जितपुरको डाँडामा निर्माण गरिएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त शृंखलासमेत देखिन्छ ।


प्रकाशित : चैत्र ४, २०७९ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×