२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कन्ट्रोल इटहरी गोल्डकप : सगरमाथा सेमिफाइनलमा

सुनसरी — डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार उद्घाटन खेलमा पाहुना टोली एभिनियर एफसी क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो ।

कन्ट्रोल इटहरी गोल्डकप : सगरमाथा सेमिफाइनलमा

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल सिधै टाइब्रेकर पुगेको थियो ।. एभिनियरबाट कप्तान यानिक ओवाना, साङ्गु र जियोन गिनीको प्रहार गोलमा परिणत भए पनि जोइ एल्डोको प्रहार सगरमाथाका गोलरक्षक च्याङ थेबले बचाए । साबा अलीको प्रहार बारमा लागेर बाहिरिएको थियो । सगरमाथाका लागि अभिषेक राई, राजीव लोप्चन, अविषेक लिम्बु र मेसुकेले पेनाल्टीमा गोल गरेका थिए ।

नवप्रवेशी ‘ए’ डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडीसहित सगरमाथा मैदान उत्रिएको थियो । जारी सिजनमा बुढासुब्बा गोल्डकप र बर्दिबास गोल्डकप विजेता टोली एभिनियरले निकै दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनुपर्‍यो । खेलको २७ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा यानिकले गोल गर्न चुके । ३६ औं मिनेटमा साबा अलीको क्रसमा यानिकको प्रहार सगरमाथाका अभिषेक राईले क्लियर गरिदिए । दोस्रो हाफको चौथो मिनेटमा एभिनियरका जियोन गिनीले बल नियन्त्रण गर्न नसक्दा पाएको अवसर शक्ति राईले सदुपयोग गर्न सकेनन् ।

इन्ज्युरी समयमा पहिलो रोजाइका गोलरक्षक देव लिम्बू घाइते भएपछि च्याङ मैदान छिरेका थिए । उनले टाइब्रेकरमा महत्त्वपूर्ण प्रहार बचाउँदै टिमलाई सेमिफाइनलमा पुर्‍याए । म्यान अफ द म्याच सगरमाथाका मेसुके भए । उनले १० हजार प्राप्त गरे ।

सगरमाथाका प्रशिक्षक याम गुरुङले मैदानको अनुभव नभएका कारण सन्तोषजनक खेल नभएको बताए । भाग्यले साथ दिएको बताउँदै उनले आगामी खेलमा उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरे । एभिनियरका प्रशिक्षक आशिक थापामगरले पेनाल्टी शुटआउट सम्भावनाको खेल भएकाले हार भोगेको बताए । उनले खेलमा कडा टक्कर दिए पनि पेनाल्टी शुटआउटमा सफल हुन नसकेको बताए ।

आइतबार आयोजक राष्ट्रिय जागृति क्लबले चर्च ब्वाइज क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

एक साता चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख प्रदान गरिनेछ । विधागत उत्कृष्ट हुनेले जनही २० हजार पाउने छन् । सहभागी प्रत्येक टिमलाई प्रतिम्याच २० हजार तयारी खर्चसमेत उपलब्ध गराइने बताइएको छ । खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ । इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा त्रिभुवन आर्मी, चर्ज ब्वाईज, मछिन्द्र, एभिनियर, रोलिङ क्लब झापा, सगरमाथा क्लब, कञ्चनजंगा एफसी भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता छ ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले ११ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतियोगिताका लागि खेलकुद बिकास बोर्ड कोशी प्रदेशले १४ लाख र राष्टिय खेलकुद परिषदले १० लाख रुपैयाँ प्रदान गरेका छन् । प्रतियोगितालाई कन्ट्रोल लुब्रिकेन्टले प्रायोजन गरेको छ ।

प्रकाशित : चैत्र ४, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?