बीएमडब्लु वेस्टर्न क्रिकेट क्लबलाई उपाधि- खेलकुद - कान्तिपुर समाचार

बीएमडब्लु वेस्टर्न क्रिकेट क्लबलाई उपाधि

माधव ढुंगाना

भैरहवा — भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएमडब्लु वेस्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेस्टर्न उपाधि लिन सफल भएको हो ।

उपाधिसँगै वेस्टर्नले १ लाख रुपैयाँको नगद पुरष्कार र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको लुम्बिनी खुकुरीले ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्‍यो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा खेल्दै सबै विकेट गुमाएर ९४ रनको झिनो योगफल बनाएको थियो ।

जसमा, अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देब खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५.३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।

प्रतिउत्तरमा ९५ रनको विजय लक्ष्यलाई लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै सिमीत हुन पुग्यो । खुकुरीका इकलाख वारिस र संदीप रजालीले सर्वाधिक ८/८ रन बनाए । प्रज्वल थापाले ७ रन मात्रै जोडे । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेस्टर्नकन विष्णु पाण्डेले ४.१ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए ।

उनी म्यान अफ द फाइनल भई पुरष्कृत भए । अनिल खरेल र अभिषेक गौतमले समान २–२ तथा देव खनालले १ विकेट लिए ।प्रतियोगितामा वेस्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए ।

प्रकाशित : चैत्र ४, २०७९ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा व्यवस्थित कारागार नहुँदा कैदी बन्दीहरूलाई बेजिल्ला पठाउनु पर्ने बाध्यता देखिएको छ । यहाँ विभिन्न अभियोगमा मुद्दा चलाइने कैदी बन्दीलाई हिरासतमा राख्न चितवन र पश्चिम नवलपरासी कारागार पठाउनुपर्ने बाध्यता छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरीमा दर्ता भएका ७ सय ४७ अभियुक्तलाई चितवन र पश्चिम नवलपरासी कारागारमा पठाइएको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा देखिन्छ । हरेक जिल्लामा कारागार हुनुपर्ने गृह प्रशासनको नियम भए पनि यो जिल्लामा कारागार छैन ।

पहिलेको नवलपरासी जिल्ला दुई जिल्लामा विभाजित भएपछि पूर्वी नवलपरासीमा कारागार छैन । कारागार नएभका कारण सामान्य थुनुवाको चाप बढेसँगै प्रहरीलाई सधै पिरलो हुने गरेको छ । गत आर्थिक वर्ष जिल्लाका विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका ७ सय ४७ जना अभियुक्तलाई परासी र चितवन कारागार पठाइएको प्रहरीको तथ्यांकमा देखिन्छ ।

साउनयता पश्चिम नवलपरासी कारागारमा १८ जना, चितवन कारागारमा ३२ जना कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बालसुधारगृह पोखरा र भैरहवामा पठाउनु पर्ने बाध्यता छ । साउनयता त्यसरी ६ जनालाई ति दुई जिल्लामा पठाइएको छ । पक्राउ परेकामध्ये अधिकांशको मुद्दा लागूऔषधसँग सम्बन्धित रहेको छ । लागूऔषधको मुद्दाका अभियुक्तलाई ३ महिना अनुसन्धान म्याद हुने भएको र संख्या समेत बढ्ने गर्दा बेजिल्लामा लैजान र ल्याउन समस्या भएको प्रहरीले जनाएको छ ।

आफ्नै जिल्लामा कारागार नहुँदा प्रहरीको गाडीमा राखेर सुरक्षाकर्मीको निगरानीमा बेजिल्ला पठाउनु पर्दा ओसारपसार खर्च समेत बढेको प्रहरीको भनाइ छ ।

प्रकाशित : चैत्र ४, २०७९ १९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×