ओलम्पियन जितबहादुर र मनीषा सम्मानित- खेलकुद - कान्तिपुर समाचार

ओलम्पियन जितबहादुर र मनीषा सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व ओलम्पियन जितबहादुर केसी र कराते खेलाडी मनीषा चौधरी सम्मानित भएका छन् । हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १० औं खेलकुद दिवसको अवसरमा पूर्वधावक केसी र १३ औं सागकी कांस्य पदक विजेता मनीषालाई नगद र दोसल्लासहित सम्मानित गरेका हुन् ।

उनीहरूलाई किन्डरगार्डेनकी संस्थापक प्रिन्सिपल कुमद भट्ट र संस्थापक निर्देशक इन्दिरा गौतमले सम्मानित गरे । किन्डरगार्डेनले दुई दिने खेलकुद कार्यक्रमको पहिलो दिन ओलम्पियन केसी र दोस्रो दिन करातेकी मनीषा चौधरीलाई सम्मानित गरेका हुन् । खेलकुद दिवसको पहिलो दिन प्ले ग्रुप र नर्सरीको तथा दोस्रो दिन एलकेजी र युकेजीका विद्यार्थीले दैनिक जीवनमा आधारित रहेर विभिन्न खेलमा प्रतिस्पर्धा गरेको विद्यालयको खेलकुद प्रशिक्षक हरि लामाले जानकारी गराए ।

प्रिन्सिपल भट्टले पुरानो पुस्तादेखि नयाँ पुस्तालाई हरेक वर्ष सम्मानित गर्ने उद्देश्यअनुरुप यस वर्ष ओलम्पियन केसी र करातेकी उदीयमान खेलाडी मनिषालाई सम्मानित गरिएको बताइन् ।

यसअघि हाइड एन्ड सिक किन्डरगार्डेनले १३ औं सागमा स्वर्ण जित्न सफल फुटबलका विकेश कुथु, करातेकी अनु अधिकारी र विप्लवलाल श्रेष्ठसँगै प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको थियो । फुटबलका सन्देश श्रेष्ठ पनि सम्मानित भइसकेका छन् ।

प्रकाशित : चैत्र ३, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालले वर्ल्ड जुनियर टेनिस छनोट खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका तीन खेलाडीले वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वर्ल्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्नेछन् । प्रशिक्षकमा कान्छा खड्गी छन् । टोली शुक्रबार मलेसिया गएको छ ।

टोलीलाई नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव मालिका राणा र सदस्य अजय विष्ट, केटीएम सिटीकी नेहा चित्रकारले बिदाइ गरेका थिए । केटीएम सिटीको सहयोग रहेको नेपाली टिमले मलेसियामा उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कान्छा खड्गीले बताए । उनले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागिता जनाउन पाउने उल्लेख गरे । प्रशिक्षक खड्गेले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास ब्यक्त गरे ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाकसुट, जुत्तालगायत सामग्री प्रायोजन गरेको छ । –१४ गर्ल्स विधाको यस प्रतियोगितामा नेपाल सहित १६ देशका खेलाडीले सहभागिता जनाउनेछन् । नेपाली जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो ।

प्रकाशित : चैत्र ३, २०७९ २१:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×