नेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो ।

नेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित

ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् । त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए । त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे ।


खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन् । लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।


त्यस्तै पपुवा न्युगिनीका तर्फबाट असद भालाले सर्वाधिक २० रन बनाए । आजको खेलको प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल‚ आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछाने‚ करण केसी‚ भीम सार्की, आरिफ शेख र कुशल मल्ल रहेका छन् । आइतबार यूएईसँगको खेलमा प्लेइङ ११ मा परेका गुल्शन झाको स्थानमा करण केसी आएका छन् ।


तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।

नेपालले बिहीबार यूएईसँग खेल्दै छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?