क्रिकेट विश्वकप लिग-२ : रोहितको अर्धशतक

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार बिहान युएईविरूद्धको खेलमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अहिले ३४ ओभर खेलिरहँदा ४ विकेट गुमाएर १४९ रन बनाएको छ । 

क्रिकेट विश्वकप लिग-२ : रोहितको अर्धशतक

नेपालको तर्फबाट यसअघि ब्याटिङमा आएका कुशल भुर्तेलले १५ बलमा ८ रन बनाएर बाहिरिए भने अर्का ब्याटर कुशल मल्ल पनि १५ बलमा ९ रन बनाएर बाहिरिए ।

त्यस्तै भीम सार्की ३७ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाउन सफल भए । अहिले रोहित पौडेल र आरिफ शेख क्रिजमा रहेका छन् । पौडेलले १०३ बल खेलेर ६९ रन बनाएका छन् भने शेखले ३५ बलमा ३१ रन बनाएर खेलिरहेका छन् ।

आजको खेलमा टिम नेपालबाट दुई खेलाडी परिवर्तन गरिएको छ । करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएपछि ललित राजवंशी र गुल्शन झाले भित्रिएका हुन् । प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् ।

गत बिहीबार आसिफ शेखको शतकमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो । २ सय ९८ रनको लक्ष्य लिएर आएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २ सय ४५ अलआउट गरेको थियो ।उक्त विजयसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ ।

नेपालले बाँकी रहेका तीन खेलमध्ये एकमा विजय हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ । सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ ।

यूएई ३२ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । नेपालले आइतबार यूएई, सोमबार पपुवा न्यु गिनी र यूएईसँग बिहीबार खेल्दै छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?