कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
विश्वकप लिग २

नेपालको ह्याट्रिक जित

सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा २७ खेलमा २४ अंकसहित छैटौं स्थानमा नेपाल, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न बाँकी ९ मध्ये ६ खेलमा जित आवश्यक
विनोद पाण्डे

काठमाडौँ — नेपालले विश्वकप लिग २ मा जितको ह्याट्रिक गरेको छ । नामिबियामाथि शनिबार ३ विकेटको विजय हात पार्दै नेपालले लगातार तेस्रो खेल जितेको हो । जितसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने आशा बढेको छ ।

नेपालको ह्याट्रिक जित

विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले लगातार तीन खेल जितेको यो पहिलो पटक हो । यसअघि लिग २ का आधा दर्जन शृंखलामा नेपालले २ खेलभन्दा बढी जित्न सकेको थिएन । नेपालले यस शृंखलाका तीनै खेल २ सय ७० रनभन्दा माथिको चुनौतीमा जितेको छ ।

नामिबियाविरुद्ध पहिलो खेलमा २ सय ८६ रन बनाएर जित हात पारेको नेपालले शुक्रबार लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दा २ सय ७५ रनको लक्ष्य पार गरेको थियो । तेस्रो खेलमा शनिबार नामिबियाविरुद्ध नेपालले २ सय ७५ रनको लक्ष्य १५ बलअघि २ सय ७८ रन बनाएर पूरा गर्‍यो ।

नेपाली ब्याटर आसिफ शेखले ९८ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेर ८१ रन बनाए । उनले दोस्रो विकेटमा ज्ञानेन्द्र मल्लसँग कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो हो ।

‘टिमको वातावरण निकै राम्रो छ, त्यसले पनि ठूलो लक्ष्य पूरा गरिरहेका छौं । फरक खेलमा फरक खेलाडीले प्रदर्शन दिइरहेको छ, हाम्रो आत्मविश्वास पनि बढाएको छ,’ प्लेयर अफ द म्याच आसिफले भने ।

कुशल भुर्तेल र रोहित पौडेलले मंगलबार नामिबियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रको यो सातौं र आसिफको छैटौं अर्धशतक हो । ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् । शनिबारको खेलमा कुशल भुर्तेल १ रनमै आउट भएपछि आसिफ र ज्ञानेन्द्र जमेका हुन् । ज्ञानेन्द्र ६५ रनमा आउट भए । उनले ७४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

कुशल मल्ल नेपाली इनिङ्समा अर्धशतक बनाउने तेस्रो खेलाडी थिए । उनको लगातार दोस्रो अर्धशतक बनाए । कुशलले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरेर ६२ रन बनाए । कुशलले कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ९२ रन जोडे । रोहित ४३ बलमा ५ चौका प्रहार गर्दै ३९ रन बनाए । दीपेन्द्रसिंह ऐरी १ र सन्दीप जोरा ३ रनमै आउट भए । विजयी चौका प्रहार गरेका सोमपाल कामी ८ रनमा अविजित रहे । नामिबियाबाट रुबेन ट्रम्पलमेनले ३ र बर्नान्ड स्कोल्ट्जले २ विकेट लिए ।

यसअघि नेपालले लगातार तेस्रोपल्ट टस जितेपछि ब्याटिङ निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७४ रन बनाएको थियो । जेन ग्रिनले अविजित अर्धशतक बनाएपछि नामिबियाले प्रतिस्पर्धात्मक स्कोर बनाएको हो । उनले कुल ६३ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरेर अविजित ७५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो उच्च स्कोर हो । उनले पिकी या फ्रान्ससँग छैटौ विकेटमा ९४ रनको साझेदारी गरे । फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

रुबेन ट्रम्पलमेन ७ बलमा २४ रन बनाई अविजित रहे । उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा करण केसीलाई ४ चौका र १ छक्कासहित २५ रन बनाए । त्यसमा ३ अतिरिक्त रन थियो ।

ओपनर लो हन्ड्रे लवरेन्सले ४१ रन बनाए । उनले ५४ बल खेल्दै ८ चौका प्रहार गरे । कार्ल बिर्केनस्टोकले २० र माइकल भान लिङ्गेनले २२ रन बनाए । कप्तान गेहराड इरास्मस र जान निकोल इटेन समान १५ रनमा आउट भए । नेपालबाट सन्दीप लामिछानेले ३ र करण केसीले १ विकेट लिए ।

सात राष्ट्र सम्मिलित लिग २ को अंकतालिकामा नेपाल २७ खेलमा २४ अंकसहित छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपालले बाँकी ९ मध्ये ६ खेल जित्नुपर्नेछ । लगातार तेस्रो खेलमा पराजित नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ । लिग २ को शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ टोलीले एकदिवसीय मान्यता कायम राख्नेछन् । नेपालले मंगलबार स्कटल्यान्डसँग शृंखलाको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?