लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड- खेलकुद - कान्तिपुर समाचार

लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

एएफपी

लस एन्जलस — लेब्रोन जेम्सले एनबीए इतिहासकै सबैभन्दा बढी अंक बनाएका करिम अब्दुल–जब्बरको ३९ वर्ष पुरानो कीर्तिमान मंगलबार तोडेका छन् । करिमको प्रदर्शनलाई धेरैले कहिल्यै तोड्न नसकिने कीर्तिमानको रूपमा लिएका थिए, जसलाई जेम्सले उछिनेका हुन् ।

लस एन्जल्स लेकर्सका स्टार खेलाडी जेम्सले २० औं सिजनमा रोमाञ्चक खेलमा ओक्लाहोमा सिटी थन्डरविरुद्ध २१ फिटबाट पनि स्कोर गर्दै करिअरमा कुल ३८ हजार ३ सय ८७ अंक बनाएका करिमको एनबीएमा सर्वाधिक स्कोरको कीर्तिमान भंग गरेका हुन् । जेम्सले ३८ हजार ३ सय ८८ अंक छोएपछि एरिनामा ठूलो खुसीयाली मनाएका थिए । कोर्ट नजिकै रहेका करिम जेम्सलाई बधाई दिनेमध्येमा पहिलो रहे । करिमले १९८४ मा उक्त कीर्तिमान रचेका थिए ।

‘करिमजस्तै लिजेन्डको उपस्थिति मेरो लागि धेरै ठूलो हो,’ परिवार, साथी र समर्थकलाई धन्यवाद दिँदै जेम्सले भने, ‘यो २० वर्षको यात्रामा सबैको योगदान उत्तिकै छ । म धन्यवाद मात्रै भन्न चाहन्छु किनभने म सबैको सहयोगविना यहाँ हुने थिइनँ । सबैको धैर्य र त्यागको सहयोगले यो अवस्थामा आइपुगेको हो ।’

उनले खलमा ३८ स्कोर गरेर एनबीए करिअरमा ३८ हजार ३ सय ९० अंक बनाए । अझै उनले कम्तीमा दुई सिजन खेल्ने अपेक्षा गरिएको छ । ‘मलाई थाह छ कि म अझै केही वर्ष खल्ने छु । यो सबै मेरो दिमागको कुरा हो,’ जेम्सले भने, ‘मेरो दिमाग अझै यसमा हुने हो भने म अझै अगाडि बढ्न उत्साहित हुने छु र च्याम्पियनसिपका लागि खेल्ने प्रयास गर्नेछु । मलाई अझै त्यो (च्याम्पियनसिप) गर्न सक्छु भन्ने महसुस हुन्छ ।’

लेकर्स संघर्षरत भए पनि जेम्सले औसतमा प्रतिखेल ३० स्कोर गरिरहेका छन् । उनी करिमको कीतिमान भंग गर्न ३६ अंक चाहिएको स्थितिमा ओक्लाहोमाविरुद्धको खेलमा पुगेका थिए । ३८ वर्षीय उनले सुरुका दुई प्रहार असफल भए पनि पहिलो क्वाटरको मध्यतिर थ्री–प्वाइन्टरमार्फत् लय समातेका थिए । चारपल्टका एनबीए च्याम्पियन जेम्सले पहिलो क्वाटरमै ८ अंक बनाए । दोस्रो क्वाटरमा १२ स्कोर गरेपछि उनलाई परिवर्तन गरियो । तेस्रो क्वाटरमा ८ अंक जोडेपछि उनलाई कीर्तिमान तोड्न अन्तिम क्वाटरमा ८ अंक जोड्नुपर्ने अवस्था बन्यो । अन्ततः लामो प्रयासपछि उनी करिमको ३९ वर्ष पुरानो कीर्तिमान भंग गर्न सफल भए ।

‘मेरो विचारमा खेलकुदमा यो महान् रेकर्ड हो,’ जेम्सले भने, ‘बेसबलको रेकर्डजस्तै उच्च हुन्छ भन्ने सोचेको छु । यो एउटा यस्तो रेकर्ड हो कि जसलाई तोड्नका लागि कहिल्यै हेर्न वा सोच्न पनि सकिँदैन ।’ धेरैले करिमको कीर्तिमान पनि छुन नसकिने विश्वास गरेका थिए ।

प्रकाशित : माघ २६, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

चन्द्रकला र सरस्वती छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको नयाँ दिल्लीमा हुने आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि बुधबार नेपालका चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका छन् । अघिल्लो दिन बक्समाण्डुकी अञ्जली तेली र आर्मीकी मीनु गुरुङ आ–आफ्नो तौलमा छनोट भएका थिए ।

राष्ट्रव्यापी खुला छनोटअन्तर्गत महिला ५७ केजी तौल समूहको फाइनलमा आर्मीकी चन्द्रकलाले झापाकी सुस्मिता राईलाई ५ः० अंकको आधारमा पराजित गरिन् । ६० केजी तौल समूह फाइनलमा एपीएफकी संगीताले आर्मीकी निरु गुरुङलाई ४ः१ अंकका आधारमा पराजित गर्दै छनोट पक्का गरिन् । ७५ केजी तौलको फाइनलमा एपीएफकी सरस्वती रानामगरले झापाकी त्रिशा जबेगुलाई ५ः० अंकका आधारमा हराइन् ।

त्यस्तै ५० केजी तौलमा सेमिफाइनलमा एचटूओकी अस्मिता दुवालले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा हराइन् । सोही तौलमा पुलिसकी दिवाना शेर्माले आर्मीकी आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजनको आधारमा हराएर फाइनल तय गरिन् । यस तौलको फाइनल माघ २६ गते मा हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×