लोटस आईको जित- खेलकुद - कान्तिपुर समाचार

लोटस आईको जित

कान्तिपुर संवाददाता

धनगढी — फाप्ला क्रिकेट मैदानमा भइरहेको विद्यालयस्तरीय टी–२० क्रिकेट स्पर्धा लिटिल फ्लावर प्रिमियर लिगमा बुधबार लोटल आई अत्तरिया र होली फेमिली महेन्द्रनगर विजयी भएका छन् ।

पहिलो खेलमा लोटल आईले शारदा निकेतन तारानगरलाई ७७ रनले हरायो । १ सय ८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रनमात्र बनाउन सक्यो ।

लोटसका नरेन्द्र साउदले ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित भए । योगेश भाटको सर्वाधिक ३८ र आयुब चन्दको ३४ रन मद्दतमा लोटसले ५ विकेट गुमाई १ सय ८१ रन बनायो । दोस्रो खेलमा होली फेमिलीले नव बल बाटिका कैलालीमाथि ३ विकेटले जित पायो । १ सय १६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमै लक्ष्य भेट्टाएको हो ।

यसअघि नव बलले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १५ रन बनाएको थियो । होलीका लागि राहुल भण्डारीले २६ रन बनाए ।

प्रकाशित : माघ २६, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

‘कट’ बनाएर शुक्र फाइनल चरणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली प्रो शुक्रबहादुर राई टलिगन्ज क्लबमा बुधबार १ अन्डर ६९ खेल्दै ‘कट’ बनाएर टाटा स्टिल पीजीटीआई प्लेयर्स च्याम्पियनसिप २०२३ को अन्तिम दुई चरणका लागि छनोट भएका छन् ।

पहिलो दिन २ अन्डर ६८ स्कोर गरेका शुक्र समग्रमा ३ अन्डर १ सय ३७ को कार्ड बनाएर ९ खेलाडीसँगै संयुक्त २६ औं स्थानमा रहँदै कट बनाएका हुन् । भारु १ करोड पुरस्कारको प्रतियोगितामा १ अन्डर ३९ को स्कोरसम्म रहेका ५३ गल्फर अन्तिम दुई चरणका लागि छनोट भएका छन् । भारतीय प्रो सचिन वैश्य १० अन्डर १ सय ३० सहित शीर्षस्थानमा छन् ।

प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा नयाँ सिजनको पहिलो प्रतियोगितामा शुक्रले दोस्रो दिन चार बर्डी गर्दै तीन बोगी बेहोरे । उनी पहिलो दिन ६ बर्डी बनाएर पनि चार बोगीमा परेका थिए । उनले केभिन स्टिभ रिगेल र अमृतलाल रुबानाको समूहमा रहेर तेस्रो दिन प्रतिस्पर्धा गर्नेछन् । गत सिजन २०२२ १८ प्रतियोगिता खेल्दै आठमा कट बनाएका उनी ‘अर्डर अफ मेरिट’ मा ६७ औं स्थानमा रहेपछि सिधै नयाँ सिजनको कार्ड हासिल गर्न असफल रहे । फेरि छनोट खेल्दै उनी लगातार दोस्रो सिजन पीजीटीआई पुगेका हुन् ।

प्रकाशित : माघ २६, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×