पाथीभरा याङवरक र मिक्लाजुङ विजयी

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-६ सिवामा जारी तेस्रो आमन्त्रित पालिकास्तरीय नकआउट पुरूष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलबाट पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ र मिक्लाजुङ गाउँपालिका पाँचथर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

खेलमा चुलाचुली गाउँपालिका इलामलाई २५–१४, २५–१६ र २५–२२ को सोझो सेटमा हराँउदै पाथीभरा याङवरक गाउँपालिका दोस्रो चरणमा प्रवेश गर्यो । उक्त खेलमा म्यान अफ दि म्याच घोषित भएका पाथीभरा याङवरकका अमृत थेबेले नगद दुई हजार पुरस्कार पाए ।
यस्तै बुधबार नै भएको दोस्रो खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिका भलिवल टिम अनुपस्थित भएपछि पाँचथरको मिक्लाजुङले वाकओभर पायो । प्रतियोगितामा पाँचथर, ताप्लेजुङ, इलाम, भोजपुर र तेह्रथुमका १० टिम सहभागी छन् । २८ गते हुने फाइनल खेलका विजेताले नगद ७० हजार पुरस्कारसँगै ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा बिहीबार पहिलो खेल १२ बजे मिक्लाजुङ गाउँपालिका पाँचथर र याङवरक गाउँपालिका दोस्रो खेल पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ र फाल्गुनन्द गाउँपालिका पाँचथरबीच प्रतिस्पर्धा हुने आयोजक अर्थे युवा क्लबले जनाएको छ ।
फिदिम-६ सिवामा परम्परादेखि लाग्दै आएको अर्थे मेलाका अवसरमा अर्थे युवा क्लबले अन्तरपालिकास्तरको भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रकाशित : माघ २५, २०७९ १९:१२