बुटवलमा राष्ट्रिय खुला लन टेनिस फागुन ६ देखि- खेलकुद - कान्तिपुर समाचार

बुटवलमा राष्ट्रिय खुला लन टेनिस फागुन ६ देखि

अमृता अनमोल

बुटवल — राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता फागुन ६ देखि बुटवलमा हुने भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा देवीनगर लन टेनिस कम्प्लेक्समा प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुन लागेको हो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगितामा देशभरका राष्ट्रिय खेलाडीहरुबीच प्रतिस्पर्धा गराइने छ । बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष गोपाल ज्ञवालीले लन टेनिस खेलको विकास तथा खेलाडीलाई अवसर सिर्जना गर्न ६ देखि १० गतेसम्म प्रतियोगिताको आयोजना गरेको बताए ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सयभन्दा बढी खेलाडीहरुले भाग लिने छन् । खेल संयोजक संजयप्रकाश श्रेष्ठका अनुसार पुरुष एकल खुलामा ३५, ४५, ५५ र ६५ वर्षमाथिका खेल हुनेछन् । महिला एकल खुला, पुरुष युगल खुला, महिला युगल खुला एवं पुरुष भेट्रान्स ३५, ४५, ५५ र ६५ वर्षमाथि गरी १२ इभेन्टमा खेल संचालन हुनेछ ।

प्रतियोगिताको पुरुष/महिला सिङगलतर्फ उपाधि विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार र तृतीय दुई खेलाडीले जनही २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रबाट पाउनेछन् ।

सिङगलतर्फ पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ दिइने छ ।

४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने छन् । ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । डबल्सतर्फ पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सतर्फ विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित : माघ २५, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६९ करोडको भयो । कारोबार रकम बढे पनि परिसूचक नेप्से भने सामान्य अंक घटेको छ । ७.१३ अंक घटेर नेप्से २१७० अंकमा कायम भएको छ ।

बजार खुलेको ३५ मिनेटमै २२१३ अंकसम्म नेप्से पुगेको थियो । सामान्य उतारचढावका बाबजुत परिसूचक अन्तत: ७ अंक घट्न पुग्यो । अन्यबाहेकका सबै उपसमूह घटे । सो उपसमूह ७ अंक बढ्यो । बैंकिङ ०.७९, विकास बैंक २२, फाइनान्स ३६, होटल तथा पर्यटन ४९, जलविद्युत् २७, जीवन बीमा ५८, उत्पादन ४१, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २८ र ब्यापार उपसमूह ११ अंक घटेका छन् । कुल ६७ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने ७ को स्थिर रहृयो ।

तेह्रथुम पावर र धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । पोखरा फाइनान्सको ४.९ र ग्रीन भेन्चरको मूल्य ३.८ प्रतिशत घट्या । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, अपी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।



प्रकाशित : माघ २५, २०७९ १५:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×