एभरटनसँग आर्सनल स्तब्ध- खेलकुद - कान्तिपुर समाचार

एभरटनसँग आर्सनल स्तब्ध

एएफपी

लन्डन — प्रिमियर लिग शीर्षस्थानको आर्सनललाई रेलिगेसन खतरामा रहेको एभरटनले शनिबार गुडिसन पार्कमा १–० ले स्तब्ध पारेको छ । यस सिजनको लिगमा आर्सनलको केवल यो दोस्रो हार हो । पछिल्लो ११ खेलमा एउटै जित हात पार्न नसकेको एभरटनलाई नयाँ व्यवस्थापकको रूपमा आएपछि सन डाइसले पहिलो खेलमै विजय दिलाए ।

सन् २००४ पछि पहिलो लिग उपाधि जित्ने आसमा रहेको आर्सनल अहिले पनि ५ अंकले अगाडि छ । तर, म्यानचेस्टर सिटीले आइतबार टोटेनहमलाई पराजित गरेमा यो दुरी २ अंकमा छोटिने छ । आफ्नो गृहमैदानमा एभरटनले पछिल्ला ४ खेल हारेको थियो । सन् १९५८ यता एभरटन पहिलो पटक यति कमजोर स्थितिमा पुगेको थियो ।

जसका कारण फ्रान्क लाम्पार्डले एभरटनबाट म्यानेजर पद गुमाउन पुगेका थिए भने उनको स्थानमा आएका डाइसले पहिलो खेलमै जादुगरी प्रदर्शन देखाएका हुन् । क्लबका समर्थकको चर्को विरोधपछि एभरटनका बोर्ड सदस्यहरू आफ्नै टोलीको खेल मैदान आएर हेर्न सकेका छैनन् । अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा भए पनि जनवरी ट्रान्सफर विन्डो सदुपयोग नगर्ने एभरटन एक्लो टोली थियो ।


तर, घरेलु टोलीले डाइसलाई पर्याप्त प्रतिभा रहेको देखाएको थियो । जेम्स तार्कवस्कीले ६० औं मिनेटमा ड्वाइट म्याकनेलको कर्नरबाट आएको बलमा हेड गोल गरे । विजयपछि एभरटन दुई स्थान उक्लँदै १७ औं स्थानमा आएको छ ।

शनिबार राति चेल्सी स्टामफोर्ड ब्रिजमै फुलहमबाट रोकिएको थियो । दर्जन नयाँ खेलाडी भित्र्याए पनि लन्डन डर्बीमा चेल्सी गोलरहित बराबरीमा अड्किएको हो । १० करोड ७० लाख पाउन्डमा तीन दिनअघि बेन्फिकाबाट आएका विश्वकप विजयी अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजले चेल्सीबाट ‘डेब्यु’ गरे पनि उनले आफ्नो नयाँ टोलीको नतिजामा कुनै परिवर्तन ल्याउन सकेनन् ।

प्रकाशित : माघ २२, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘भूमिपुत्र’ सँगै छैन भूमि

पुस्तौंदेखि जमिनदारका जग्गामा रगतपसिना बगाएका मुसहर समुदायसँग एक टुक्रा पनि जमिन छैन, नागरिकताबाट समेत वञ्चित छन्
भरत जर्घामगर

सिरहा — पुस्तौंदेखि जमिनदारकहाँ रगतपसिना बगाएका मुसहर समुदायलाई ‘भूमिपुत्र’ मानिन्छ । माटो काट्नु, टालामा बोक्नु र भूमिमै उब्जनीका लागि पौंठेजोरी खेल्नु उनीहरूको पुर्ख्यौली पेसा हो । मधेसमा कृषि मजदुरीको ठूलो हिस्सा दलित मुसहर समुदायकै छ । हलो जोत्ने, बाली लगाउनेदेखि फसल भित्र्याउनेसम्मका काम मुसहर समुदायले नै धान्छन् । तर, तिनै मुसहरहरू पुस्तौंदेखि जमिनबाट वञ्चित छन् । 

सिरहाका ९५ प्रतिशत मुसहर समुदायको बसोबास ऐलानी जग्गा, सडक, खोला किनार र पोखरीका डिलमा छ । भारतीय सीमानजिक रहेको औरही गाउँपालिका–४ स्थित इँटाटार मुसहर बस्तीका ६० वर्षीय शिवु सदाय हिजोआज मजदुरीमा खट्न सक्दैनन् । उनले आफ्नो जवानी मोहम्मद अली खानको जमिनमा काम गरेर बिताए । अहिले उनको परिवार पोखरी डिलको ऐलानी जग्गामा बसेको छ । उनका बाबु–बाजे पनि त्यही डिलमै बसेका थिए । ‘जमिनदारकहाँ रगतपसिना बगाए पनि मर्ने बेलासम्म आफ्नो नाममा एक टुक्रा जमिन छैन, लालपुर्जाविहीन छु,’ शिवुले भने ।

दुई छोरा कुसुमलाल र श्यामदेवले पनि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने पिरलो उनलाई छ । उनी भन्छन्, ‘जमिनसँगै लालपुर्जा पनि चाहिने रहेछ भन्ने चेत बुढ्यौलीमा मात्रै आयो ।’ जनता आवासले बस्तीमा घर बनाइदिने भनेर जग्गाको लालपुर्जा खोजेपछि मात्रै शिवु झल्याँस्स भएका थिए ।

इँटाटारमा मुसहरका ६६ घर छन् । ती सबै पोखरी डिलवरिपरि छन् । ५८ वर्षीय जोगेन्दर सदायको चार पुस्ता त्यही पोखरी डिलको ऐलानी जग्गामा बस्दै आएको छ । बुबा डोमा लालपुर्जाविहीन भएरै बितिसके । आफूहरूले भविष्यबारे कहिल्यै नसोचेको उनले सुनाए । ‘भरे कसरी छाक टार्ने भन्ने पिरलोमै जवानी बित्यो,’ उनी भन्छन्, ‘अनि भविष्य भनेको के हो भन्ने नै थाहा पाएनौं । हिजो र आज हाम्रा लागि उस्तै हो । हिजो जस्तो जीवन छ, आज पनि उस्तै छ । उमेर मात्र फेरिएको छ ।’

७० वर्षीय सुकन सदायको हातमा पनि लालपुर्जा छैन । युवादेखि वृद्धसम्मले पोखरीको डिलमा उकुसमुकस भएर बस्नुपर्दाको पीडा पोख्दै आएका छन् । प्रत्येक चुनावमा भोट माग्न आउने उम्मेदवारसँग उनीहरूले अन्य स्थानमा जमिन उपलब्ध गराइदिन माग गरेका छन् तर चुनाव सकिएपछि नेताहरू फर्केर आउँदैनन् ।

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमा छ ‘कट्टी टोल’ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । ऐलानी जग्गामै बसोबास गरेको सिंगो मुसहर बस्तीको गुजाराको माध्यम मजदुरी हो । बस्तीका जितन सदाय मुसहरले चारपुस्तादेखि आफूहरू लालपुर्जाविहीन रहेको बताए । ‘बाजे, बाबु यही पोखरीको डिलमा बिते, मुसहरलाई कसले दिन्छ र जमिन, घर ?’ उनी भन्छन्, ‘बरु ज्यालाबापत ८ किलो धानको ठाउँमा १० किलो दिए भने एक बोतल रक्सी र माछामासु खाएर रमाउँथ्यौं ।’

बरियारपट्टी–३ स्थित तिलैयामा सडकछेउको ऐलानी जग्गामा १५ घर सदाय मुसहर बस्ती छ । अधिकांशले १ देखि २ धुर जग्गामा घर बनाएर बसेका छन् । एउटा परिवारमा १७ जनासम्म फुसको घरमा कोचिएर बस्छन् । कबुतरी सदाय मुसहर भन्छिन्, ‘नौ जनाको परिवार डेढ धुरमा बनाएको फुसको घरमा बस्नुपरेको छ ।’ त्यही पनि सडक फराकिलो पार्दा उठीबास हुने पिरलो छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमा छ ‘कट्टी टोल’ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । ऐलानी जग्गामै बसोबास गरेको सिंगो मुसहर बस्तीको गुजाराको माध्यम मजदुरी हो । बस्तीका जितन सदाय मुसहरले चारपुस्तादेखि आफूहरू लालपुर्जाविहीन रहेको बताए । ‘बाजे, बाबु यही पोखरीको डिलमा बिते, मुसहरलाई कसले दिन्छ र जमिन, घर ?’ उनी भन्छन्, ‘बरु ज्यालाबापत ८ किलो धानको ठाउँमा १० किलो दिए भने एक बोतल रक्सी र माछामासु खाएर रमाउँथ्यौं ।’

बरियारपट्टी गाउँपालिका–३ स्थित तिलैयामा सडकछेउको ऐलानी जग्गामा १५ घर सदाय मुसहर बस्ती छ । अधिकांशले १ देखि २ धुर जग्गामा घर बनाएर बसेका छन् । एउटा परिवारमा १७ जनासम्म फुसको घरमा कोचिएर बस्छन् । बस्तीका कबुतरी सदाय मुसहर भन्छिन्, ‘नौ जनाको परिवार डेढ धुर जग्गामा बनाएको फुसको घरमा बस्नुपरेको छ ।’ त्यही जग्गा पनि सडक फराकिलो पार्दा उठिबास हुने पिरलो छ । ‘सडक विस्तार भयो भने हामीजस्ता निमुखा कहाँ जाने,’ उनले भनिन्, ‘बेघर हुने चिन्तामा छौं ।’

जनगणना २०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । सिरहामा दलित मुसहर समुदायको जनसंख्या ३९ हजार ९ सय २९ छ । तीमध्ये ९५ प्रतिशत भूमिहीन सुकुम्बासी छन् । मुसहर समुदायको साक्षरता दर ०.००४ प्रतिशत उल्लेख छ । मुसहर संघ सिरहाका अनुसार ९५ प्रतिशत भूमिहीन सुकुम्बासी रहेका मुसहर समुदाय लालपुर्जाविहीन छन् ।

‘सिरहाका अधिकांश मुसहर बस्तीका तीन पुस्ताभन्दा बढी भइसक्यो तर बसोबास गरेको जग्गा उनीहरूको आफ्नो स्वामित्वमा छैन, यो हरेक बस्तीको समस्या हो,’ मुसहर समुदायका अगुवा एवं अधिकारकर्मी रामस्वरूप सदाय मुसहर भन्छन्, ‘पुस्तौंदेखि बस्दै आएको जग्गा गाउँ ब्लकमा रहेको भए पनि नापी हुन सकेको छैन, जग्गाको स्वामित्व नहुँदा ती बस्ती उठिबासमा पर्ने चिन्ता छ, यसका लागि हामीले पालिकासँग पहल गरिरहेका छौं ।’

बसोबास गरेको पुस्तौं भए पनि कानुनी अड्चन, झमेला र कतिपयको नागरिकता नभएकै कारण बसोबास गरेको गाउँ ब्लक र पर्ती जग्गा सम्बन्धित व्यक्तिका नाममा नापी नहुँदा समस्या बढेको उनको भनाइ छ ।

सिरहा शोभापुरका दलित मुसहर समुदायसँग नागरिकतासमेत छैन । ४० घरधुरी मुसहरको बसोबास रहेको बस्तीमा ५० जनाभन्दा बढी नागरिकताविहीन छन् । बस्तीका ४८ वर्षीय शंकर सदाय मुसहरको परिवारमा कसैको पनि नागरिकता छैन । उनका पत्नी, छोरी रुन्ची, छोरा मैनका, बुहारी परमेश्वरी, छोरा दैरका नागरिकताविहीन छन् । शंकरको नागरिकता नभएकै कारण रुन्ची, मैनका र दैरकाले पढ्नसमेत पाएनन् ।

६३ वर्षीया सोमनी मुसहरसँग पनि नागरिकता छैन । ‘नागरिकताका लागि धेरै धाएँ, माइतीगाउँ सिन्धुली दुधौलीबाट समेत सिफारिस ल्याएँ तर यो मिलेन, त्यो मिलेन भनेर नागरिकता दिएनन्,’ उनले भनिन् ।

५४ वर्षीय सिल्टु सदायको परिवारै नागरिकताविहीन छन् । ४८ वर्षीया पत्नी सोनावती, छोरा राजेश, अजय र छोरी रीनासँग नागरिकता छैन । ‘दुवै छोरा भारतको पन्जाबमा मजदुरी गर्छन्,’ सोनावतीले भनिन्, ‘छोरी रिना बिहे भएर पराया घर गइसकिन् ।’ ससुराको नागरिकता हराएकै कारण आफूहरूको नागरिकता नबनेको सोनावतीले सुनाइन् । ‘प्रशासन कार्यालय धाउँदा ससुराको नागरिकता रेकर्डमै छैन भन्छन्,’ उनले भनिन्, ‘त्यसपछि कसैको नागरिकता बनेन ।’

लहान नगरपालिका–१८ भदैयाका ६१ वर्षीय सीताराम सदाय पनि नागरिकताविहीन छन् । दुई छोरा लक्ष्मण र राम, छोरी आशाबाट चार नाति–नातिना हुर्किसके तर उनले अझै नागरिकता पाएका छैनन् । सीतारामले पटक–पटक गाविस र प्रशासन धाउँदा पनि नागरिकता नबनेपछि छाडिदिएको सुनाए । ‘हामी पढे–लेखेका छैनौं, कर्मचारीले यो कागज पुगेन, त्यो पुगेन भन्छन्,’ २०५९ सालमा पाएको मतदाता परिचयपत्र देखाउँदै उनले भने, ‘पछि प्रशासन धाउनै छोडिदिएँ ।’

वैदेशिक रोजगारीमा गएर कमाऊँ, घडेरी जोडौं भन्दा नागरिकता बाधक बनेको २२ वर्षीय अजयले सुनाए । ‘युवा पिढीले अलिकति कमाइ गरी घडेरी जोडौं, आफ्नै नाममा लालपुर्जा बनाऊँ भने पनि नागरिकता नहुँदा समस्या भएको छ,’ उनले भने, ‘हामीले पनि बाजे, बाबुजस्तै एक धुर जग्गासमेत जोड्न नसक्ने भयौं ।’ छोराछोरीको नागरिकता नहुँदा वैदेशिक रोजगारीलगायत सीपमूलक तालिम लिन र राज्यको सुविधा पाउन नसकेको इनर सदायले सुनाए । ‘नागरिकता हुने गाउँका ठिटाहरू विदेश हान्निए,’ उनले भने, ‘तर आफ्नै नागरिकता नभएपछि छोराको नागरिकता बनेन, उसलाई विदेश पठाउने सपना अधुरो भयो ।’

न्यून पारिश्रमिकमा काम गर्ने बाध्यता हुँदा रकम खर्च गरी सम्बन्धित निकायसम्म पुगेर कागजात, प्रमाण, सिफारिस जुटाउन नसक्ने र नागरिकता चाहिन्छ भन्ने चेतना पनि नभएकाले मुसहरहरूले एक–दुई पटक प्रशासन कार्यालय धाउँदा नागरिकता नपाएपछि चासो राख्न छाड्ने दलित अधिकारकर्मी उमेश बिसुन्के बताउँछन् । प्रशासन र टोलीमार्फत पाएका कतिपय नागरिकतामा पनि त्रुटि देखिएका कारण मुसहर समुदायले नागरिकताबाट उल्टै हैरानी खेपेको उनले सुनाए ।

प्रकाशित : माघ २२, २०७९ ०६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×